१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ बैशाख २७ मंगलबार २०:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेस प्रदेशको राजधानी जनकपुरधाममा हेभिवेट प्रतिस्पर्धा

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ बैशाख २७ मंगलबार २०:०३:००

मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । प्रदेशको राजधानी भएकाले पनि राष्ट्रिय राजनीतिक पार्टीदेखि मधेसकेन्द्रित दलहरूको नजर जनकपुरधाममा छ । 

जनकपुरधाम उपमहानगरका कुल १ सय २७ जनप्रतिनिधिका लागि १ हजार ८२ उम्मेदवार चुनावी मैदानमा छन् । प्रमुखमा ३९, उपप्रमुखका ३२, वडाध्यक्षमा ३२३, महिला सदस्यमा १७४, दलित महिला सदस्यमा १८० र खुला सदस्यमा ३३५ उम्मेदवार जोडतोडले अन्तिम प्रचारमा जुटेका छन् । उनीहरूका लागि ३० वैशाखमा ८६ हजार मतदाताले मत जाहेर गर्नेछन् । 

गठबन्धन, एमाले र लोसपाबीच तीव्र प्रतिस्पर्धा
जनकपुरधामको प्रमुखमा ३९ उम्मेदवार  मैदानमा भए पनि सत्तारुढ गठबन्धन, एमाले र लोसपाका उम्मेदवार मुख्य प्रतिस्पर्धामा देखिन्छन् । सत्तारुढ गठबन्धनको तर्फबाट जसपाका लालकिशोर साह प्रमुख उम्मेदवार छन् । एमालेले  शिवकंर साह हिरा र लोसपाले मनोज चौधरीलाई उठाएको छ । गठबन्धनमा जसपा, कांग्रेस, माओवादी र एकीकृत समाजवादी छन् । यी सबै दलको बलियो सांगठनिक अवस्थाका कारण लालकिशोर बलियो अवस्थामै देखिन्छन् । ०५६ मा उपमेयर र ०७४ मा मेयरमा निर्वाचित भइसकेका लालकिशोरलाई एमालेका उम्मेदवार शिवंकरनिकट प्रतिस्पर्धामा देखिएका छन् । 

जसपा उम्मेदवार साहले पछिल्लोपटक मेयर हुँदा उपमहानगरलाई धार्मिक पर्यटकीय सहर बनाएको, सडक फराकिलो पारेको, ढल व्यवस्थापन र सरसफाइमा उल्लेख्य राम्रो काम गरेको, लामो समयदेखि अलपत्र एकीकृत सहरी विकास परियोजना सफल रूपमा कार्यान्वयन गराएको, २२ वटा विद्यालयमा दुईकोठे भवन बनाएको, विद्यालयहरूमा ल्याब कक्ष, शौचालय बनाएको लगायतका काम गरेको भन्दै बाँकी काम पूरा गर्न पुनः मौका दिन आग्रह गर्दै आएका छन् । 

विपक्षी दलहरू एमाले र लोसपाका उम्मेदवारले भने निवर्तमान मेयर विकासभन्दा भ्रष्टाचारमा लिप्त भएको, मधेस आन्दोलनका सहिदको सपना भुलेको, जनताको गुनासो सुन्नुभन्दा हिटलर प्रवृत्ति देखाएको जस्ता आरोप लगाउँदै आफूहरूलाई मत मागेका छन् । मधेसकेन्द्रित उम्मेदवारलाई पटक-पटक मौका दिएको भन्दै एमाले उम्मेदवारले नगरवासीसँग आफूहरूलाई मौका दिन आग्रह गर्दै आएका छन् । 

स्वतन्त्र उम्मेदवारहरू पनि होमिए प्रचारमा
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा करिब दुई दर्जन स्वतन्त्र उम्मेदवार छन् । तीमध्ये टिकट नपाएपछि कांग्रेसको नगरसभापति परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका मनोजकुमार साह, लोसपाले टिकट नदिएपछि टिकट प्रलोभनमा एमाले प्रवेश गरेका तर त्यहाँबाट पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका जानकीराम साह र निर्माण व्यवसायी बलराम महतोको चुनावी प्रचार प्रभावशाली देखिन्छ ।

०७४ को निर्वाचनमा लालकिशोरसँग पराजित भएका मनोजकुमार केन्द्रले गठबन्धन गर्ने क्रममा जनकपुरधाम जसपालाई दिने निर्णय गरेपछि कांग्रेस परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । स्वतन्त्र उम्मेदवार जानकीराम साह जनकपुरधामका वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष हुन् । नगरवासीको भावना आफूहरूले बुझेकाले निर्वाचन नै जित्ने दाबी उनीहरूले गर्दै आएका छन् ।