मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख २७ मंगलबार १६:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा मतदान केन्द्र पुग्न कर्मचारी र सुरक्षाकर्मीलाई चटारो

Read Time : > 1 मिनेट
२०७९ बैशाख २७ मंगलबार १६:२६:००

आसन्न स्थानीय तह निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी गाउँगाउँका लागि प्रस्थान गरेका छन्। अधिकांश कर्मचारी र सुरक्षाकर्मी आज मंगलबार नै सम्बन्धित मतदान केन्द्रमा पुग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन प्रबन्धका सबै सामग्री र सुरक्षाकर्मीसहित मतदान अधिकृतहरू गाउँगाउँका लागि हिँडेका हुन्। सामग्री र नियुक्तिपत्र बुझ्नेहरूको मुख्य निर्वाचन अधिकृतको कार्यालयअगाडि भिड रहेको छ। मतदान कार्य सम्पन्न गर्न सात सय ९१ निजामती कर्मचारी र पाँच सय ९६ शिक्षक पनि खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिए।

निर्वाचनका लागि करिब दुई हजार सात सय सुरक्षाकर्मी परिचालन भएका छन्। सात सय ५४ नेपाल प्रहरी, एक हजार दुई सय २० म्यादी प्रहरी, तीन सय ५४ सशस्त्र प्रहरी र दुई सय ९६ नेपाली सेना परिचालन गरिएको प्रजिअ पुण्यविक्रम पौडेलले जानकारी दिए। मतदानस्थलमा तीन सुरक्षा घेरापछि दुई–तीन तहमा सुरक्षाकर्मीको प्रबन्ध गरिएकाले ढुक्क भएर मतदान गर्नसमेत उनले मतदातालाई आग्रह गरेका छन्।

गुल्मीमा दुई सय ७९ मतदान केन्द्रमा दुई सय ७९ मतदान अधिकृत र दुई सय ७९ नै सहायक मतदान अधिकृत खटिएका जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन्। मतदानस्थलका लागि पाँच सय ५० सहायक कर्मचारी र दुई सय ७९ कार्यालय सहयोगी खटिएका छन्। स्थानीय तहको निर्वाचनमा गुल्मीमा दुई लाख २४ हजार दुई सय ७६ मतदाता सहभागी हुने अनुमान छ। पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा पाँचजना र पाँच सयभन्दा कम मतदाता भएको मतदान केन्द्रमा चारजना कर्मचारी खटाइएको छ। मतदाताको संख्याको आधारमा मतदान अधिकृतले बढीमा तीनजना स्वयंसेवक नियुक्त गर्न पाउने निर्वाचन कार्यालयले जनाएको छ।

सबैखाले समन्वय भएको छ : प्रजिअ पौडेल
निर्वाचनको दिन पानी पर्ने मौसमविदहरूले बताइरहेका छन्। मंगलबारदेखि मौसम प्रतिकूल बन्दै गएको छ। मतदातालाई सुरक्षित रूपमा मतदान गर्न पाउने व्यवस्था गर्न प्रशासन, निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तहलाई त्रिपालको प्रबन्ध गर्न आग्रह गरेका छन्। केही मतदान अधिकृतले आफैँ त्रिपालको व्यवस्था गरिसकेका छन्।

प्रजिअ पौडेलले मौन अवधिको पालना गर्नसमेत सबैलाई आग्रह गरेका छन्। उनले समूहमा एक पालिकाबाट अर्को पालिकामा आवतजावत गर्न, समूहमा भेला हुन, प्रचार गर्न नपाइने भएकाले सबैखाले सूचना प्रहरी, प्रशासन, निर्वाचन र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिन अनुरोध गरे।