निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
२०७९ बैशाख २६ सोमबार १०:२५:००
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

६५ वर्षीय लेखबहादुर जसले कैयौँ आशा र समृद्धिका नारा लेखे, तर परिवर्तन देखेनन्

Read Time : > 2 मिनेट
२०७९ बैशाख २६ सोमबार १०:२५:००

लेखबहादुर राना ६५ वर्षका भए । उनी तम्घासमा आर्टको व्यावसायिक सुरुवात गर्ने पहिलो व्यक्ति हुन् । जसले ४३ वर्षदेखि तम्घासमा आर्टको काम गर्छन् । राना अहिले पार्टीका झन्डा बनाउन व्यस्त छन् । उनले अहिलेजस्तै व्यवस्था परिवर्तन र समृद्धिका थुप्रै नारा, झन्डा तथा पार्टीहरूका ब्यानरमा कोरे । बुढ्यौलीले कपाल फुल्यो । तर, आफ्नो र देशको अवस्था फेरिएन । उनकोमा सबै पार्टीका झन्डा बनाउन आउँछन् । झन्डा सधैँ बनाउन पर्दैन । यो मौसमी व्यापार हो ।

पार्टीका सभा, समारोह र चुनावहरमा मात्रै झन्डा बनाउनुपर्छ । उनले यो चुनावमा अहिलेसम्म सबै पार्टीका गरेर करिब सात सय झन्डा बनाएका छन् । तीन किसिमका झन्डा बन्ने गरेका छन् । साना झन्डाको मूल्य सय, मझौलाको तीन सय र ठूला झन्डाको मूल्य पाँच सय रहेको लेखबहादुरले बताए । पार्टीको चिह्नअनुसार मूल्य पनि फरक पर्छ । झन्डा र ब्यानर पनि मेसिनमार्फत छाप्न थालेकाले हातले लेख्नेहरूको व्यवसाय संकटमा परेको रानाले गुनासो गरे । डिजिटलसँगै निर्वाचन आयोगले टिसर्ट, टोली, ब्यानरमा प्रतिबन्ध लगाएपछि व्यवसाय संकटमा परेको उनको भनाइ छ । ‘थुप्रै वर्षदेखि पार्टीका झन्डा र ब्यानर बनाएको छु । कैयौँ समृद्धिका नारा पनि पार्टीका ब्यानर र भित्ताहरले लेखँ,’ उनले भने, ‘बुढेसकालसम्म न मेरो प्रगति भयो न देशको समृद्धि ।’ 

जब स्थायी जागिर छोडेर काम खोज्न बजार छिरे 
लेखबहादुर रानाको घर छत्रदेव गाउँपालिका– ५ अर्घाखाँची हो । उनले ०३६ सालबाट तम्घासमा आर्टको काम गर्दै आएका छन् । राना गाउँकै एक विद्यालयमा स्थायी शिक्षक थिए । उनी विद्यालय पुग्न डेढ घन्टा लाग्थ्यो । मासिक एक सय ८२ रुपैयाँ मात्रै पारिश्रमिक थियो । त्यसवेला पेन्सन हुन्थेन । रानाको मन डुल्यो । त्यसपछि १५ पुस ०३६ सालमा हिउँदे बिदाको मौकामा काम खोज्न तम्घास आए । त्यसवेला गाउँका कुलप्रसाद श्रेष्ठ गुल्मी अदालतमा लेखापढी गर्थे । रानाले पनि श्रेष्ठको सहयोगी भएर सँगै सिक्न थाले । तर, उनको अक्षर र चित्रकला राम्रो भएकाले अधिवक्ता प्रेम आचार्यको आग्रहमा बजारकै राजकुमार कक्षपतिकोमा बसेर घडी, रेडियो मर्मत र आर्टको काम थाले । लगत्तै हुलाकमार्फत विद्यालयमा राजीनामा पठाए । उनले कक्षपतिकोमा लगभग ६ वर्ष काम गरे । रानाले ०४३ सालदेखि आफैँले लगानी गरेर व्यावसायिक आर्टको काम थालेका हुन् । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

हातैले लेख्दा गौरव महसुस गर्छु
त्यो जमनामा इनामेल ल्याउन हिँडेर भैरहवा पुग्नुपर्थ्याे । पाल्पाबाट बोर्ड बनाएर डोकोमा बोकेर ल्याउनुपर्ने अवस्थाको अन्त्य लेखबहादुर रानाले गरे । त्यसवेला हातले लेख्नेबाहेकका विकल्प हुने कुरै भएन । जसका कारण ४३ वर्ष पहिलेदेखि अहिलेसम्म रानाले हातले नै लेख्दै आएका छन् । आर्ट र घडी–रेडियो मर्मत रानाको रुचिको विषय हो । उनले कुनै तालिम वा प्रशिक्षण लिएका छैनन् । तत्कालीन समयमा पाल्पाको अशोक आर्टले बनाएका बोर्ड र ब्यानरबाट राना प्रभावित थिए । केही सरकारी कार्यालय र होटेलले बाहेक बोर्ड बनाउने चलन थिएन ।

सुरुमा एउटा बोर्ड बनाएको डेढ सय हुन्थ्यो । रानाले घडी–रेडियो मर्मतसँगै आर्टको काम सँगै अगाडि बढाए । अहिले डिजिटल ब्यानर र बोर्डहरू बजारमा आएका छन् । सस्तो, मिहिनेत र समय कम लाग्ने भएकाले डिजिटलप्रति आकर्षण बढिरहेको छ । तर, बलियो र गुणस्तर खोज्नेहरू पनि घटेका छैनन् । त्यसैले लेखबहादुरले लेख्न छोडेका छैनन् । आफूलाई लेख्दा नै गर्वको अनुभूति हुने भएकाले व्यवसायलाई डिजिटल नबनाएको रानाले बताए । अहिले योजनाको होर्डिङ बोर्ड, साइनबोर्ड, र नेपप्लेट बनाउनेहरू रानाकोमा आउँछन् । हातले लेख्नेहरुरूमा मिहिनेत र समय बढी लाग्ने भएकाले महँगाे पनि छ । साइजअनुसार एक हजारदेखि पाँच हजारसम्मका होर्डिङ बोर्ड र साइनबोर्ड बन्ने गरेका छन् ।

प्रविधिले पेसा पुस्तान्तरण भएन
लेखबहादुरले आर्ट थाल्दा धेरैले स्याबासी दिए । किनकि बोर्ड र ब्यानर बनाउन पाल्पा पुग्नुको विकल्प जिल्लामा थिएन । रानाले आर्टको व्यावसायिक काम सुरु गरेपछि जवार, विष्णु, रजी, श्रीनगर, गणेश, पुष्प र मोहनलगायतका आर्टहरू पनि सञ्चालन भए । तर, समय प्रविधिमैत्री भएकाले डिजिटल आएपछि सन्तानमा पेसा पुस्तान्तरण भएन । लेखबहादुरका दुई छोरा छन्,  उनीहरू आर्ट गर्दैनन् । पाँच बहिनी छोरीमध्ये दुई छोरीहरूले मिरा टेलर्स सञ्चालन गरिरहेका छन् । तम्घासकै अर आर्टमा पनि आफ्ना सन्तानमा व्यवसाय पुस्तान्तरण छैन । लेखबहादुरले हातले झन्डा, ब्यानर, साइनबोर्डसँगै, होर्डिङबोर्ड र नेमप्लेट बनाउँदै आएका छन् । सददरमा मासिक २०–३० हजार आम्दानी हुने गरेको छ । मान्छेसँगै पेसा पनि बुढो भएकाले आँखाले देख्ने र हातले छोप्ने वेलासम्म समय कटाउन र घरखर्च चलाउने रानाले बताए ।