मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख २४ शनिबार ११:५६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि

Read Time : > 1 मिनेट
२०७९ बैशाख २४ शनिबार ११:५६:००

पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो संख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो ।

खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुत परीक्षणमा संक्रमण देखिएपछि थप परीक्षणका लागि नमुना काठमाडौं पठाइएको थियो । परीक्षणमा बर्डफ्लु प्रमाणित भएपछि कुखुरा नष्ट गर्न थालिएको छ । फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा संक्रमण देखिएको हो । बर्डफ्लु देखिएसँगै कुखुरा, अन्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गर्न थालिएको छ । अर्यालका अनुसार बर्डफ्लुका कारण प्रत्यक्ष, अप्रत्यक्ष रूपमा रु २५ करोड हाराहारी नोक्सान हुने देखिएको छ ।

२० वर्षअघिदेखि अर्यालले उच्चतम प्रविधि अपनाएर कुखुरा पाल्दै आएका छन् । पोल्ट्री व्यवसायमा रु ७० करोडभन्दा बढी लगानी भइसकेको उनी बताउँछन् । भेटनेरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका प्रमुख सुशील केसीका अनुसार देशभरमा बर्डफ्लुका कारण सबैभन्दा बढी नोक्सान चितवनमा भएको छ । हाल बर्डफ्लु देखिएको फार्म अहिलेसम्मको ठूलो र बढी नोक्सान हुने अवस्थामा रहेको उनले जानकारी दिए। जिल्लामा यसबाहेक ३१ वटा पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै देखिएको हो ।

जिल्लामा यसबाहेक बर्डफ्लु देखिएका फार्ममा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको कार्यालयले जनाएको छ । केन्द्रका सूचना अधिकारी डा. प्रभाष न्यौपानेका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, हाँस ३५ वटा नष्ट गरिसकिएको छ । बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ वटा अन्डा, ६२ हजार ९२० किलो दाना, ५८ हजार २२० क्रेट, ६ हजार टर्की ब्रिडिङ अन्डा, प्यारेन्ट ब्रोइलर तीन हजार चार सय ७६ वटा, एक हजार ३८० वटा गिरीराजको अन्डा, कार्टुन एक हजार ५००, डाला ६६० र तयारी मासु ४० किलो नष्ट गरिसकिएको न्यौपानेले जानकारी दिए । अन्नपूर्णको नष्ट गर्ने काम भइरहेको छ । सबै नष्ट गर्न केही दिन लाग्ने कार्यालयले जनाएको छ ।

बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्री गर्दा रोग तीव्र फैलिएको अनुमान रहेको छ । सरकारी तवरबाट दिइने राहतको प्रक्रियामा पर्खँदा कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनको राहतप्रति कृषक विश्वस्त हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको छ । अनुगमनमा कडाइ हुन नसकेका कारण रोग फैलिएको हो । रासस