मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
निकोलस रिड ल्यांगेन
२०७९ बैशाख २३ शुक्रबार ०९:१२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी सर्वोच्च अदालतको वैधानिकता !

Read Time : > 2 मिनेट
निकोलस रिड ल्यांगेन
२०७९ बैशाख २३ शुक्रबार ०९:१२:००

डब्स मुद्दामा आएको राय कानुन बन्यो भने अमेरिकाभरि कैयौँ जीवन तहसनहस हुनेछन् । यसले निम्त्याउने आक्रोशले मात्र अदालतमा सुधार ल्याउने आशा गर्न सकिन्छ ।

हालै डब्सविरुद्ध ज्याक्सन वुमन्स हेल्थ अर्गनाइजेसन (डब्स) मुद्दामा अमेरिकी सर्वोच्च अदालतमा पुरातनपन्थी न्यायाधीश समूहले पेस गरेको मस्यौदा राय चुहिएको छ । यसले सन् १९७३ को ‘रो’विरुद्ध ‘वेड’ (रो) मुद्दाको ऐतिहासिक फैसलालाई उल्ट्याउने देखिन्छ । मस्यौदामा आमूल परिवर्तनकारी संशोधनबाहेक बहुमतले गर्भपतनका लागि तय गरिएको आधा शताब्दी पुरानो संवैधानिक संरक्षण खारेज गर्नेछ, जसले महिला प्रान्तीय व्यवस्थापिकाबाट असुरक्षित हुनेछन् । 

रिपब्लिकन नियन्त्रित विधायिका पहिलेदेखि नै यस मामिलामा नयाँ प्रतिबन्ध लगाउन उद्यत् थियो । करिब आधा अमेरिकी प्रान्तमा पूर्ण वा करिब–करिब पूर्ण गर्भपतनमा प्रतिबन्ध लाग्ने देखिन्छ । यद्यपि अमेरिकी दक्षिणपन्थी समूहको पाठेघरप्रतिको लगावका बाबजुद कुनै पनि कानुनले गर्भपतनको अन्त्य गर्न सक्नेछैन । बरु यी कानुनले अमेरिकालाई थप आदिम समयतर्फ धकेल्नेछन्, जहाँ धेरै महिलाले गर्भपतन सुविधा भएका प्रान्तमा गएर सेवा लिनेछन् वा ‘अवैध’ प्रक्रिया रोज्नेछन् । र, सबैले यो सेवा पाउनेछैनन् र पाइहाले पनि धेरै महिला मृत्यु वा घाइते हुने जोखिममा पर्नेछन् ।

‘रो’ मुद्दामा सर्वोच्च अदालतले महिलाको संवैधानिक गोपनीयताको अधिकार उल्लंघन हुने भन्दै प्रान्तस्तरको गर्भपतन प्रतिबन्धलाई खारेज गरेको थियो । यो फैसलाको व्यापक रूपमा स्वागत गरिए पनि पुरातनपन्थीले आक्रमण गर्ने गरी त्रुटि थिए । आफ्नो चुहिएको रायमा न्यायाधीश स्यामुअल अलिटोले उदारवादी छवि भएकी एवं महिला अधिकारका अग्रणी रुथ बडर गिन्सबर्गले पनि रो फैसलाको आधारभूत तर्कको आलोचना गरेकी थिइन् भन्ने तथ्यलाई उत्साहसाथ पेस गरेका छन् ।

न्यायाधीश ह्यारी ब्ल्याकमुनले रो मुद्दाको फैसला गर्ने क्रममा गर्भपतन संवैधानिक संरक्षण हो भन्ने दलिलका लागि समानताको सट्टा गोपनीयताको आधार रोजेका थिए र दुर्भाग्य अमेरिकी संविधानमा यसका लागि स्पष्ट आधार छैन । समानताको आधार धेरै स्थिर हुने थियो किनभने महिलाले आफ्नो शरीरका मामिलामा गरिने छनोटबाट वञ्चित हुनु भनेको १४औँ संशोधनमा प्रत्याभूत गरिएको ‘समान संरक्षण’को अधिकारलाई अस्वीकार गर्न‘ हो भनेर दाबी गर्न सक्थे ।

रो मुद्दाको फैसलालाई यदि डब्सले उल्ट्यायो भने गोपनीयताको अधिकारमा आधारित गर्भनिरोधक, समयौनिक विवाह र समयौनिक सम्बन्धसम्बन्धी यसअघिका फैसला पनि उल्टिन सक्छन् । 

जब डोनाल्ड ट्रम्प सन् २०१६ मा राष्ट्रपतिका लागि प्रतिस्पर्धा गरिरहेका थिए, तब उनले रो मुद्दा उल्ट्याउने र अमेरिकी धार्मिक अधिकारका मूल्यलाई जोड दिने न्यायाधीश मनोनयन गर्ने वाचा गरेका थिए । उनले यो वाचा भने पूरा गरेका थिए । निल गोर्सच, ब्रेट काभानो र एमी कोनी ब्यारेटको मनोनयनले अदालतको रूपान्तरण गर्‍यो अर्थात् पहिले नै पुरातनपन्थी झुकाव भएको अदालती बेन्चलाई थप उग्र बनाएको थियो । लामो समयदेखि चलिरहेको नजिरलाई बेवास्ता गर्दै हालको अदालत अमेरिकालाई इसाई धर्मराज्यमा परिणत गर्नेतर्फ अग्रसर देखिन्छ । 

कुनै पनि जीवन्त लोकतन्त्रमा न्यायपालिकाको अधिकार धेरै हदसम्म दलीय राजनीतिक प्राथमिकता वा व्यक्तिगत धार्मिक विश्वासको सट्टा न्यायका अपरिवर्तनीय सिद्धान्तद्वारा निर्देशित कानुनको तटस्थ मध्यस्थका रूपमा देखिन्छ । यद्यपि यो आदर्श असम्भव छ । तर, आफ्नो व्यक्तिगत प्राथमिकता र विश्वासलाई पन्छाएर आदर्शका लागि प्रयास गर्न‘ न्यायाधीशको काम हो । अमेरिकामा यो आदर्शलाई पूर्ण रूपमा बेवास्ता गरिएको छ । संघीय न्यायिक मनोनयन गम्भीर रूपमा दलीय राजनीतीकरणको चपेटामा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश र संघीय न्यायाधीश दलीय सहमतिका आधारमा हुने सिनेटको बहुमतद्वारा छनोट हुन बन्द भएका छन् । अन्य धेरै उदारवादी लोकतन्त्रमा न्यायाधीशसँग आफ्नो देशको संविधानको व्याख्या गर्ने प्रमुख अधिकार हुन्छ र न्यायाधीशले पक्षपाती नभई यसको प्रयोग गर्छन् ।

सर्वोच्च अदालतमा बाइडेन प्रशासनको राष्ट्रपतीय आयोगले अदालतका त्रुटिप्रति ध्यानाकर्षण गर्ने र यसलाई अराजनीतीकरण गर्न सुधारको प्रस्ताव गर्ने अवसर पाएको थियो । तर, आयोगले यो काममा चासो दिएन र निरर्थक प्रतिवेदन बुझायो । नतिजा सर्वोच्चका न्यायाधीश निकट भविष्यसम्म ‘न्यायाधीशको पोसाकमा राजनीतिज्ञ’ रहनेछन्।

न्यायाधीशले देशको संविधानको अन्तिम मध्यस्थका रूपमा काम गर्न‘ अलोकतान्त्रिक होइन । जब विचारधाराले नभई न्यायको खोजीबाट प्रेरित हुन्छन् भने तब न्यायाधीश बहुमतको अत्याचारबाट व्यक्तिगत अधिकारको रक्षा गर्न काम गर्न सक्छन् । तर, न्यायाधीश दलीय राजनीतिले निर्देशित हुन्छन् भने त्यसले ठूलो स्वार्थको द्वन्द्व निम्त्याउँछ, नतिजा न्यायालयमा आमजनताको विश्वास पाउन एकदमै गाह्रो हुन्छ । 

रो मुद्दामा आएको फैसलाका कानुनी आधारमा त्रुटि हुन सक्छन्, तर फैसलामा कुनै त्रुटि छैन । अमेरिकी संविधानले तोकेरै कानुनअन्तर्गत समान संरक्षणको अधिकार स्थापित गरेको छ । डब्स मुद्दाको रायमा हस्ताक्षर गर्ने न्यायाधीशले गर्भपतनको अधिकार, विरोधीले सबै अमेरिकीमा लाद्न खोजिरहेका धार्मिक मूल्यभन्दा कम महत्वपूर्ण छ भन्ने देखाएको छ । यी विरोधीलाई असुरक्षित गर्भपतनबाट ज्यान गुमाउने महिला वा जन्मिँदा हेरचाह गर्न नसक्ने वा नगर्ने परिवारका बालबालिकाका लागि कुनै चिन्ता छैन ।

यदि डब्स मुद्दामा आएको राय कानुन बन्यो भने अमेरिकाभरि कैयौँ जीवन तहसनहस हुनेछन् । यसले निम्त्याउने आक्रोशले अदालतमा सुधार ल्याउने आशा मात्र गर्न सकिन्छ । 

प्रोजेक्ट सिन्डिकेटबाट