मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १४ बुधबार
  • Wednesday, 30 November, 2022
कृष्ण रिजाल काठमाडाैं
२०७९ बैशाख २३ शुक्रबार ०९:३५:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

बागमती र गण्डकीको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा बढी

Read Time : > 4 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
२०७९ बैशाख २३ शुक्रबार ०९:३५:००
  • यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुँदा बागमतीको ६.७ प्रतिशत र गण्डकीको ६.२ प्रतिशत हुने अनुमान
  • राष्ट्रिय अर्थतन्त्रमा एकतिहाइभन्दा बढी हिस्सा बागमती प्रदेशको, जिडिपीमा सबभन्दा कम हिस्सा कर्णालीको

चालू आर्थिक वर्ष ०७८/७९ मा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा बढी हुने देखिएको छ । चालू आवमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुँदा बागमतीको ६.७ प्रतिशत र गण्डकीको ६.२ प्रतिशत हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको हो । अन्य पाँचवटा प्रदेशको आर्थिक वृद्धिदर भने राष्ट्रिय औसतभन्दा कम हुने देखिएको छ ।

यस वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर मधेस प्रदेशको ४.८ प्रतिशत हुने विभागको अनुमान छ । मधेसपछि सबैभन्दा कम आर्थिक वृद्धिदर सुदूरपश्चिमको ४.९ प्रतिशत हुने अनुमान छ । प्रदेश एक, लुम्बिनी र कर्णाली प्रदेशले ५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्नेछन् । प्रदेश एकको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, लुम्बिनीको ५.४ प्रतिशत र कर्णालीको आर्थिक वृद्धिदर ५.५ प्रतिशत रहने विभागको अनुमान छ ।

विभागले चालू आर्थिक वर्षको ६ देखि नौ महिनासम्मका तथ्यांक तथा सूचना र बाँकी अवधि सामान्य अवस्था रहने अपेक्षा गरी आर्थिक वृद्धिको अनुमान गरेको हो । विश्वमा प्रचलित विधि ‘टप–डाउन एप्रोच’मा आधारित भएर प्रादेशिक अर्थतन्त्रको आकार र आर्थिक वृद्धिदरको अनुमान गरिएको विभागले जनाएको छ । विभागले तयार गरी सार्वजनिक गरिएका सूचक तथा तथ्यांकहरूले प्रादेशिक तहमा भएको आर्थिक गतिविधिको मापन गर्ने, प्रदेशहरूमा देखिएका सामाजिक तथा आर्थिक विभेदहरूलाई न्यून गर्न आवश्यक नीति–निर्माणमा सघाउने र तथा विकासका गतिविधिलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने विभागले जनाएको छ । ‘सबै प्रदेशका आर्थिक क्रियाकलापहरू कोभिड–१९ को महामारीको संक्रमणपश्चात् सामान्य अवस्थातिर फर्किन खोजेको आभास स्पष्ट रूपमा देखिएको छ,’ विभागले उल्लेख गरेको छ, ‘फलस्वरूप, चालू आवमा सबै प्रदेशका गार्हस्थ्य उत्पादनको वृद्धिदर गत आवको आर्थिक वृद्धिदरभन्दा बढ्ने अनुमान गरिएको छ ।’

चालू आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) उपभोक्ताको मूल्यमा ४८ खर्ब ५२ अर्ब हुने अनुमान गरिएको छ । यसमा सबैभन्दा बढी हिस्सा ३६.९ प्रतिशत बागमती प्रदेशको रहेको छ । बागमती प्रदेशको जिडिपी उपभोक्ता मूल्यमा १७ खर्ब ९१ अर्ब हुने विभागको अनुमान छ । राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा कम अर्थात् ४.१ प्रतिशत हिस्सा कर्णली प्रदेशको रहनेछ । कर्णाली प्रदेशको जिडिपी उपभोक्ता मूल्यमा एक खर्ब ९८ अर्ब रहने विभागको अनुमान छ ।

प्रदेश १ : आर्थिक वृद्धिदर ५.४ प्रतिशत, जिडिपी सात खर्ब ६३ अर्बको 
चालू आर्थिक वर्षमा प्रदेश १ को कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा सात खर्ब ६३ अर्ब हुने विभागको अनुमान छ । गएको वर्षको तुलनामा प्रदेश १ को जिडिपी ८७ अर्बले बढी हुने देखिएको छ । यस प्रदेशको जिडिपीमा सबैभन्दा बढी योगदान ३३.१ प्रतिशत कृषि क्षेत्रको रहनेछ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने अनुमान छ । प्रदेश १ ले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.७ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ । प्रदेश १ को आर्थिक वृद्धिदर गएको वर्षको तुलनामा १.१ प्रतिशत बिन्दुले बढेर ५.४ प्रतिशत हुने विभागको अनुमान छ । 

मधेस प्रदेश : जिडिपी ७२ अर्बले बढेर साढे ६ खर्ब पुग्ने
चालू आर्थिक वर्षमा मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ७२ अर्बले बढेर ६ खर्ब ४४ अर्ब पुग्ने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान ३४.३ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशत खानी तथा उत्खनन क्षेत्रको रहेको छ । चालू आवमा राष्ट्रिय अर्थतन्त्रमा मधेस प्रदेशको योगदान १३.३ प्रतिशत रहनेछ । यस वर्ष मधेस प्रदेशको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहनेछ । जुन गएको आवको तुलनामा १ प्रतिशत बिन्दुले बढी हो । 

बागमती प्रदेश : ठूलो अर्थतन्त्र, सबैभन्दा बढी आर्थिक वृद्धिदर
चालू आर्थिक वर्षमा बागमतीको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा दुई खर्ब २४ अर्बले बढेर १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ । बागमतीले राष्ट्रिय अर्थतन्त्रमा ३६.९ प्रतिशत योगदान पु¥याउने देखिएको छ । यस प्रदेशको जिडिपीमा सबैभन्दा बढी योगदान २५.१ प्रतिशत थोक तथा खुद्रा व्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१ प्रतिशत कला तथा मनोरञ्जन क्षेत्रको रहेको छ । बागमतीको आर्थिक वृद्धिदर पनि उच्च देखिएको छ । चालू आवमा यस प्रदेशले ६.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । जुन गएको आवको तुलनामा २.१ प्रतिशतले बढी हो । 

गण्डकी प्रदेश : गत वर्षको तुलनामा सबैभन्दा बढी आर्थिक वृद्धि हुने
चालू आर्थिक वर्षमा सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्नेमध्येमा गण्डकी प्रदेश दोस्रो हुने विभागको अनुमान छ । गण्डकीको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने अनुमान गरिएको छ । जुन गएको वर्षको तुलनामा २.५ प्रतिशत बिन्दुले बढी हो । यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा चार खर्ब ३२ अर्ब हुने अनुमान गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा यस प्रदेशको हिस्सा ८.९ प्रतिशत हुने देखिएको छ । गण्डकीको जिडिपीमा सबैभन्दा बढी योगदान २६.० प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

लुम्बिनी प्रदेश : चौथो ठूलो अर्थतन्त्र, औसत आर्थिक वृद्धि
चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकारका हिसाबले लुम्बिनी प्रदेश चौथो स्थानमा छ । लुम्बिनीको जिडिपीको आकार ४४ अर्बले बढेर उपभोक्ता मूल्यमा ६ खर्ब ८५ अर्ब हुने अनुमान गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा यस प्रदेशको योगदान १४.१ प्रतिशत रहने देखिएको छ । यस वर्ष लुम्बिनीको आर्थिक वृद्धिदर ५.४ प्रतिशत हुने अनुमान गरिएको छ । जुन गएको वर्षको तुलनामा १.३ प्रतिशत बिन्दुले बढी हो । लुम्बिनीको जिडिपीमा सबैभन्दा बढी योगदान २९.४ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

कर्णाली प्रदेश : राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा कम हिस्सा
चालू आर्थिक वर्षमा राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको देखिएको छ । कर्णालीको जिडिपी २२ अर्बले बढेर एक खर्ब ९८ अर्ब पुग्ने विभागको अनुमान छ । यो राष्ट्रिय अर्थतन्त्रको ४.१ प्रतिशतबराबर हुन आउँछ । कर्णालीको आर्थिक वृद्धिदर राष्ट्रिय औसत हाराहारी अर्थात् ५.५ प्रतिशत हुने अनुमान गरिएको छ । जुन गत वर्षको तुलनामा १.२ प्रतिशत बिन्दुले बढी हो । यस प्रदेशको जिडिपीमा सबैभन्दा बढी योगदान ३१.५ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

सुदूरपश्चिम प्रदेश : गत वर्षको तुलनामा सबैभन्दा कम वृद्धि
सुदूरपश्चिम प्रदेशले चालू आवमा ४.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान छ । जुन गएको वर्षको तुलनामा ०.७ प्रतिशत बिन्दुले बढी हो । गएको वर्षको तुलनामा सबैभन्दा कम वृद्धि हासिल गर्ने प्रदेश सुदूरपश्चिम हुने देखिएको छ । चालू आवमा यस प्रदेशको जिडिपी २७ अर्बले बढेर उपभोक्ता मूल्यमा तीन खर्ब ३९ अर्ब पुग्ने अनुमान गरिएको छ । सुदूरपश्चिमको जिडिपीमा सबैभन्दा बढी योगदान ३३.५ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ । राष्ट्रिय जिडिपीमा सुदूरपश्चिमको योगदान ७ प्रतिशत रहने अनुमान गरिएको छ । 

कुन प्रदेशमा कुन क्षेत्रको वृद्धिदर बढी ?
औद्योगिक वर्गीकरणअनुसारका आर्थिक क्रियाकलापलाई हेर्दा बागमती प्रदेशबाहेक सबै प्रदेशहरूमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी भएको विभागले जनाएको छ । बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ । बागमती प्रदेशमा बढ्दो सहरीकरण, बढी जनसंख्या र राष्ट्रिय तहका ठूला व्यापारिक कारोबार भएका कारण यसको अर्थतन्त्रमा थोक तथा खुद्रा व्यापारको योगदान बढी रहेको विभागले उल्लेख गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सामै कायम रहेको छ । बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आवास सेवाको हिस्सा दोस्रो छ । यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र सुरक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा देखिन्छ । बागमती र मधेस प्रदेशबाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून रहेको विभागले जनाएको छ ।