Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामप्रसाद रेग्मी
२०७९ बैशाख २१ बुधबार ०६:३९:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राजस्व चुहावटमा नक्कली कर बिजक प्रयोग

नक्कली कर बिजकबाट सरकारलाई प्राप्त हुनुपर्ने यथार्थ राजस्व प्राप्त नभई राजस्व चुहावट हुने गर्छ

Read Time : > 4 मिनेट
रामप्रसाद रेग्मी
२०७९ बैशाख २१ बुधबार ०६:३९:००

विगत केही वर्षदेखि नक्कली कर बिजकको प्रयोग गरी राजस्व चुहावट भइरहेको भन्ने विषय व्यापक चर्चामा छ । राजस्व अनुसन्धान विभागले पनि नक्कली कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विगत केही वर्षदेखि विभिन्न व्यक्तिलाई बारम्बार अदालतमा मुद्दा दर्ता गरिरहेको छ । आन्तरिक राजस्व विभागले धेरै अगाडि यसै कसुरमा गरेको कारबाही सर्वोच्च अदालतमा समेत पुगेर अन्तिम किनारा लागिसकेको छ । 

यस्तो नक्कली कर बिजक भनेको के हो ? यसको प्रयोग किन र केका लागि गरिन्छ ? र, यसबाट समग्र अर्थ क्षेत्रमा के–कस्तो प्रभाव पर्छ ? भन्ने विषयमा भने राजस्व प्रशासनमा कार्यरत केही कर्मचारी र यसै क्षेत्रका जानकार सीमित व्यक्तित्वबाहेक अन्य क्षेत्रमा अझै पनि केही द्विविधा रहेको पाइन्छ । तसर्थ, आज यही विषयमा केन्द्रित रहेर नक्कली कर बिजक के हो ? यसको प्रयोग किन गरिन्छ ? र, यसबाट आर्थिक क्षेत्रमा कस्तो प्रभाव पर्छ ? यसबारे यस आलेखमा चर्चा गरिनेछ । 

नक्कली कर बिजक के हो ?
सामान्य रूपमा नक्कली कर बिजक भनेको बिजकका रूपमा जारी गरिएको नक्कली कागजात हो । तर, यथार्थमा यस्ता बिजक सोचेजस्तै नक्कली बनाएर जारी गरिएका बिजक भने होइनन् । यहाँ कर प्रशासनका दृष्टिले हेर्दा मात्र नक्कली देखिन्छ । यस्ता बिजक नक्कली कागजात नभई कर कार्यालयबाट कारोबार गर्न भनी दर्ता भएका, तर मालवस्तु वा सेवाको कारोबार नगरी कारोबार गरिएको भनी राजस्व छली गर्न जारी गरिएका वा खरिद गरिएका कर बिजक हुन् । यस्ता बिजक जारी गर्ने वा खरिद गर्ने कम्पनी वा संस्था कानुनबमोजिम प्रकिया पूरा गरी आवश्यक कागजातसमेत पेस गरी नियमअनुसार नै सरकारी कार्यालयमा दर्ता भएका हुन्छन् । तर, त्यस्ता अधिकांश संस्थाको कारोबारस्थल, गोदाम र खरिद–बिक्री गर्ने मालवस्तु केही हुँदैनन् । केही यस्ता कारोबारीको कारोबारस्थल र केही खरिद–बिक्रीको कारोबार भए पनि नक्कली बिजकका हकमा मालवस्तु वा सेवाको खरिद–बिक्री वा कारोबार नगरी बिल–बिजकको मात्र खरिद–बिक्री र कारोबार गरिएको हुन्छ ।

हालसम्म देखिएको कारोबारका आधारमा यस्ता कारोबार प्रायः अर्कै व्यक्तिका नाममा दर्ता गराएर अर्कै व्यक्तिले त्यसको मालिकसरह सञ्चालन गरिरहेका हुन्छन् । यस्तो कारोबार प्रायः करछली वा चुहावट गर्न चतुर व्यक्तिले करदाताका रूपमा सामान्य आर्थिक हैसियत भएका, अनपढ, गरिब र निर्दोष व्यक्तिलाई विभिन्न प्रलोभन दिएर वा आफ्ना कर्मचारी बनाई उनीहरूका नाममा त्यस्ता संस्था दर्ता गराई कारोबार गरेको देखिन्छ । कतिपय यस्ता कारोबार गर्ने व्यक्तिले सामान्य प्रलोभन देखाएर दुर्गम र दूरदराजबाट यस्ता व्यक्तिलाई सहर–बजारमा ललाइफकाइ ल्याएर उनीहरूका नाममा संस्था दर्ता गरी उसको कर्मचारी वा बैंकखाता सञ्चालक आफू वा अर्को व्यक्तिलाइ बनाएका हुन्छन् । समग्रमा नक्कली कर बिजक बनाउने संस्था वा कम्पनीका मालिक कानुनी रूपमा दुर्गम र दूरदराजका निम्छरा र निरीह हुन्छन् भने यथार्थ कारोबारी भने कानुनी रूपमा पक्राउ वा कारबाही गर्न नमिल्ने र पत्ता लगाउन र खोजेका वेलामा भेट्नसमेत नसकिने सहर–बजारका टाठाबाठा र चल्तापुर्जा नै हुने गरेको देखिन्छ ।

किन गरिन्छ नक्कली कर बिजकको प्रयोग ?
नक्कली कर बिजकको प्रयोग अधिकांश राजस्व चुहावट गर्ने प्रयोजनकै लागि गरेको देखिन्छ । तर, यस्तो राजस्व चुहावटका लागि समेत विभिन्न क्षेत्रमा विभिन्न तरिकाले यसको प्रयोग भएको देखिन्छ । भन्सार नतिरी वा भन्सार क्षेत्रभन्दा बाहिरबाट तस्करी र भन्सार चोरी–पैठारीका मालवस्तु एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्न र त्यस्ता मालवस्तुको बिक्री–वितरण गर्न सबभन्दा सजिलो उपाय नक्कली कर बिजकको प्रयोग नै हो । बाटोमा कुनै निकायले कागजात हेर्न खोज्दा देखाउन र यस्ता चोरी पैठारी वा तस्करी गरी ल्याएका मालवस्तु गोदाममा मौज्दात रहुन्जेल कसैले स्रोत खोजेमा देखाउन पनि यस्ता बिजकको प्रयोग गरिन्छ ।

अर्को, कम दर वा सस्तोमा खरिद गरिएका मालवस्तुमा मूल्य अत्यधिक बढाई बिक्री गर्नुपरेमा पनि मुअकर तथा आयकर बढी तिर्नुपर्ने हुँदा यस्ता बिक्रीकर्ताले यथार्थ खरिदको बिजक कारोबारमा नदेखाई नक्कली बिजक खरिद गरी कारोबारमा देखाउन पनि प्रयोग हुने गरेको छ । उदाहरणका लागि कुनै सरकारी कार्यालय वा संघसंस्थालाई सामान्य पाइलट पेन सय रुपैयाँ हाराहारीमा बिल जारी गरी सप्लाईकर्ताले बेच्नुपरेको छ, तर उसले यस्तो पेन खरिदको ३० देखि ४० रुपैयाँको मात्र बिजक प्राप्त गर्छ भने उसले त्यसमा यथार्थ कारोबार देखाउँदा त्यसमा तिर्नुपर्ने मुअकर र आयकर नै तिर्न सक्ने अवस्था हुँदैन । तसर्थ, त्यस्तो सप्लायर्सले यथार्थ खरिदको बिजक कारोबारमा नदेखाई त्यस्ता पेन ९०–९५ रुपैयाँको हाराहारीमा खरिद गरेको नक्कली बिजक खरिद गर्नुपर्ने बाध्यता देखिन्छ ।

भन्सार क्षेत्रबाट पैठारी हुनुपर्ने मालवस्तु भन्सारबाट नआई तस्करी या चोरी–पैठारी हुँदा त्यसको ढुवानीमा नक्कली बिजकले सहयोग गर्ने हुनाले यसको रोकथाम जरुरी छ 

यसैगरी, सस्तोमा किनेर महँगोमा बेच्न वा कालोबजारी गर्न पनि नक्कली बिजकबाट खरिद देखाउने गरिन्छ । उठाइएको मुअकर रकम धेरै भयो र कारोबारका आधारमा आयकरसमेत बढी तिर्नुपर्ने भएमा त्यस्तो सरकारलाई बुझाउनुपर्ने कर रकम कम देखाउन वा कर दायित्व घटाउन वा ट्याक्स क्रेडिट देखाउन र आयकरको दायित्व घटाई राज्यलाई कम कर तिर्न पनि नक्कली कर बिजक मात्र खरिद गरी ठुल्ठूला कम्पनी वा संस्थाले कारोबार देखाउने गरेका छन् । बजारमा बिल लिनेदिने प्रचलन प्रभावकारी बन्न नसकेकाले समेत कतिपय व्यवसायीले बिल जारी नगरी बिक्री गरिएको मालवस्तुको मौज्दात मिलाउन बिजक जारी गर्नैपर्ने र कतिपय व्यवसायीलाई मालवस्तु नलिई बिल मात्र आवश्यक पर्ने भएकाले बिजक मात्र खोज्दै आउनेलाई बिजक मात्र बिक्री गरेर पनि नक्कली कर बिजक जारी वा बिक्री गर्ने गरिन्छ ।

नक्कली कर बिजकको प्रयोगबाट पर्ने प्रभाव
नक्कली कर बिजकबाट सरकारलाई प्राप्त हुनुपर्ने यथार्थ राजस्व प्राप्त नभई राजस्व चुहावट हुने गर्छ । यसबाट राज्यलाई प्राप्त हुनुपर्ने यथार्थ राजस्व प्राप्त हुन सक्दैन र राज्यको स्रोत–साधनमा समेत कमी हुन पुग्छ । भन्सार क्षेत्रबाट पैठारी हुनुपर्ने मालवस्तु भन्सारबाट नआई तस्करी या चोरी–पैठारी हुँदा त्यसको ढुवानीमा नक्कली बिजकले सहयोग गर्छ । सरकारी तथा निजी संघ–संस्थामा कमिसन वितरण गर्न र भ्रष्टाचार गर्न बढी मूल्यको बिजक जारी गर्नुपर्ने हुन्छ । त्यसैगरी निर्माण आयोजनामा प्रयोग नै नभएका मालवस्तुको प्रयोग भएको देखाउन र गुणस्तरहीन कार्यलाई गुणस्तरीय देखाउन नक्कली बिजक खरिद हुने गर्छ । यसरी नक्कली कर बिजकको प्रयोगबाट नै भ्रष्टाचार, कालोबजारी र अवैध आर्थिक गतिविधिसमेत बढ्छ । बजारमा यथार्थ बिल लिनेदिने प्रक्रिया र प्रचलन कार्यान्वयनमा आउन नसक्दा मुअकरको सैद्धान्तिक प्रयोगमै समस्या देखिन्छ । यसबाट कालोबजारी, भ्रष्टाचार र गलत आर्थिक क्रियाकलापले प्रोत्साहन पाउँदा यथार्थ राजस्व प्राप्त नभई सरकारलाई प्राप्त हुनुपर्ने कर रकम कम उठ्छ । समग्रमा नक्कली कर बिजकको प्रचलन बढ्दै जाँदा हुन्डीका गतिविधि बढ्ने र छाया अर्थतन्त्रले प्रोत्साहन पाउँदै जाने प्रबल सम्भावना देखिन्छ । 

नक्कली कर बिजकको कारोबार रोक्न के गर्नुपर्छ ?
नक्कली कर बिजकको प्रचलन बढ्नु भनेको राजस्व चुहावट हुनु मात्र नभई देशमा अवैध आर्थिक गतिविधि बढी समग्र अर्थतन्त्रमै नकारात्मक प्रभाव पर्न जान्छ । तसर्थ, यसको कारोबार रोक्न सरकारी क्षेत्रबाटै आवश्यक नीति नियम तर्जुमा गरी विभिन्न प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ । करदाता दर्ता हुन आउँदा नै पूर्ण पहिचान गरेर मात्र ‘केवाइसी’समेत अपडेट गरी दर्ता गर्ने प्रणाली विकास गर्नुपर्ने देखिन्छ । भन्सार जाँचपास भई आउने मालवस्तुको चोरी–पैठारी र तस्करी हुन नदिन प्रभावकारी कदम चाल्नुपर्छ ।

सार्वजनिक सप्लाई र विकास निर्माणका काममा कमिसनखोर प्रवृत्तिलाई निरुत्साहित गर्दै भ्रष्टाचारलाई पूर्णतः रोक्न सक्नुपर्छ । सार्वजनिक निर्माणमा गुणस्तरीय निर्माणका लागि सही इस्टिमेट तयार गर्ने र त्यहीअनुसार गुणस्तरीय मालवस्तुको प्रयोग तथा निर्माणको ग्यारेन्टी गर्ने प्रणालीको विकास गर्नु जरुरी छ । बजारमा मालवस्तुको कारोबार गर्दा बिजक जारी गर्ने व्यवस्था अनिवार्य र प्रभावकारी बनाउनुपर्छ । समग्रमा राज्यका सबै कर प्रशासन राजस्व चुहावट नियन्त्रणका लागि चनाखो, प्रभावकारी, दक्ष र सक्षम बनाउनुपर्छ । अन्त्यमा राजस्व चुहावटलाई विशेष दण्डनीय बनाई यस्तो कार्यमा सजायको प्रर्याप्त व्यवस्था गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नुपर्छ ।

अन्त्यमा,
नक्कली कर बिजकको प्रयोग बढ्न गएमा समग्र राज्यको राजस्व चुहावट हुन गई राज्यको आर्थिक स्रोत–साधन संकलनमा समेत समस्या आउन सक्छ । यसबाट देशभर विभिन्न आर्थिक अपराध तथा गैरकानुनी आर्थिक क्रियाकलाप बढ्न पुग्छन् । तसर्थ, नक्कली कर बिजक नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गरी त्यस्ता कानुन कडाइका साथ कार्यान्वयन गर्न तथा यस्ता क्रियाकलापमा निगरानी र नियन्त्रण बढाउन राज्यको ध्यान वेलैमा पुग्नुपर्छ । यस्ता गलत गतिविधिको प्रभावकारी रूपमा नियन्त्रण गर्न सकेमा राज्यलाई आर्थिक रूपले समपन्न बनाई समग्र आर्थिक विकास गर्न आवश्यक स्रोत–साधन व्यवस्थापन गर्न सकिन्छ । जसका लागि अवैध आर्थिक गतिविधिको नियन्त्रण गरी वैध व्यापारलाई प्रोत्साहन गर्दै स्वच्छ व्यावसायिक वातावरण बनाउनु जरुरी छ ।