१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
Invalid date format o७:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अग्निपीडित मुक्त कमैया परिवारको बिचल्ली : पीडितले शरीरमा लगाएको लुगा फेर्नसमेत पाएनन् 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४८:oo

कैलारी गाउँपालिका–७, विपतपुरका दुखीराम चौधरीले नौ दिनदेखि शरीरमा लगाएको लुगा फेर्न पाएका छैनन् । ११ वैशाखमा भएको आगलागीले घर जलेर नष्ट भएपछि उनको आठजनाको परिवार अहिले त्रिपालमुनि बसिरहेको छ । आगलागीमा परेर विपतपुर मुक्त कमैया बस्तीका ४९ मध्ये ३८ घर नष्ट भएपछि दुखीराम र उनीजस्ता विपन्न परिवारको त्रिपालमुनि वास भएको हो । 

दुई छाक खानका लागि संघर्ष गर्नुपर्ने अवस्थाका मुक्त कमैया परिवार घर, सम्पत्ति जलेर खरानी भएपछि बिचल्लीमा छन् । शरीरमा लगाएको एउटै कपडाले दिनरात काट्नु परिरहेको उनीहरूको दुखेसो छ । ‘भएको धनसम्पत्ति खरानी बन्यो । शरीरमा लगाउने लुगासमेत बचाउन सकिएन,’ चौधरीले भक्कानिँदै भने, ‘हामी गरिबमाथि ठूलो बज्रपात आइलाग्यो ।’ 

अग्निपीडित परिवार बस्तीसँगै जोडिएको खेतमा त्रिपाल टाँगेर बसिरहेका छन् । उनीहरूसँग लगाउने, ओढ्ने, ओच्छ्याउने कपडा छैन । पानीको अभाव छ । अत्यधिक गर्मीले दिउँसो–दिउँसो चल्ने लुले सबैलाई सताएको छ । अधिकांश पीडितको त्रिपालमा बत्तीसमेत छैन । विद्यार्थीका पुस्तक जलेका छन् । बालबालिकाहरूको बिचल्ली भएको छ । ‘तीन नाबालक नातिनातिना छन् । आठजनाको परिवार टेन्टभित्र कोचिएर बस्नुपरेको छ,’ दुखीरामले दुःख सुनाए, ‘अन्न त पाएका छौँ, तर खाना पकाउन दाउराको समस्या छ ।’

विपतपुरका दिलबहादुर चौधरी अघिल्लो आइतबार दिउँसो घरमै थिए । बस्तीसँगैको खेतमा काटेको गहुँको नलमा आगो दन्किएको देखेपछि उनी स्थानीयसँगै निभाउन खेततिर लागे । उनी खेत नपुग्दै आगोको झिल्कोले बस्तीलाई समात्यो । फर्केर आँगनमा पुग्दासम्म घरमा आगो दन्किसकेको थियो । दिउँसो हावा चलेको वेला नलमा आगो सल्किएपछि बस्ती पस्ने डरले स्थानीय निभाउन गएका थिए, तर उनीहरूको केही सीप चलेन, आगो बस्तीमा पर्‍यो ।

आँखैअगाडि हेर्दाहेर्दै सबै सम्पत्ति जलेर खरानी भएको दिलबहादुरले बताए । अन्नपात, लुगाकपडा, गरगहना केही बाँकी नरहेको उनले सुनाए । सिँचाइका लागि राखेको पानी तान्ने पम्पसिट पनि जलेको दिलबहादुरले बताए । ‘बाउबाजेको पालादेखि जोडेको पाँच तोलाजति सुन थियो । आपत्विपद् पर्दा चाहिन्छ भनेर १०–१२ हजारजति नगद राखेको थिएँ, आँखैअगाडि सबै स्वाहा भयो,’ दुःखित हुँदै उनले भने । पीडित बस्तीमा लुगाकपडा, भाँडाकुँडा, दाउरा, पिउने पानी आदिको चरम समस्या रहेको गाउँका भल्मन्सा हिंगुराम चौधरीले बताए । बस्तीमा तार जलेकाले विद्युत् अवरुद्ध छ ।  

भल्मन्सामार्फत गाउँगाउँबाट खाद्यान्न सहयोग जुट्दै
थारू समुदायमा प्रचलित भल्मन्सा प्रथामार्फत पीडित परिवारका लागि कैलारीका विभिन्न गाउँ तथा बस्तीमा खाद्यान्न संकलन भइरहेको छ । धान, गहुँ, दाल, चामल, पिठो, तेल आदि खाद्यान्न संकलन भएको विपतपुरका सचिव मसिराम चौधरीले बताए । छिमेकी गाउँ छोटी बसन्ता, बड्का बसन्ता, रामपुर, छटकपुर, नारायणपुर, मोहनपुर, तिघ्रीलगायत गाउँमा भल्मन्सामार्फत संकलन भएको खाद्यान्न आइपुगेको उनले बताए ।अग्निपीडित प्रतिपरिवारलाई तीन–चार क्विन्टल पुग्ने गरी खाद्यान्न संकलन भएको चौधरीले जानकारी दिए । गाउँका भल्मन्सा हिंगुरामले परिवार संख्याका आधारमा संकलित खाद्यान्न वितरण भइरहेको बताए । नजिकका गाउँबाट धान, गहुँ, चामल, पिठो, दाल, तेललगायत खाद्यान्न आइरहेको उनले बताए । कैलारीमा ९५ प्रतिशतभन्दा बढी थारू समुदायको बाहुल्य छ । 

घर बनाइदिने प्रदेश सरकारको प्रतिबद्धता
अग्निपीडित मुक्त कमैया परिवारका घर प्रदेश सरकारले निर्माण गरिदिने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत घर निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् । त्यसका लागि आगामी वर्षको बजेटमा रकम विनियोजन गरिने उनको भनाइ छ ।

आइतबार पीडित बस्तीको स्थलगत निरीक्षण गरेका मुख्यमन्त्री भट्टले चालू आर्थिक वर्षभित्रै घरको डिपिआर बनाउने र आगामी आर्थिक वर्षमा घर निर्माण कार्य गर्ने सरकारका तर्फबाट प्रतिबद्धता जनाए । घर पूर्ण रूपमा क्षति भएका परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत दिन प्रक्रिया अगाडि बढेको मुख्यमन्त्री भट्टले बताए ।