१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:o९:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रमा समस्याका बाबजुद आर्थिक वृद्धि ५.८४ प्रतिशत हुने

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o९:oo

कोभिड– १९ को महामारीले दुई वर्षअघि माइनस दुई दशमलव ४ प्रतिशतले खुम्चिएको अर्थतन्त्रको विस्तार दुई वर्षपछि ६ प्रतिशत हाराहारी, अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुग्यो, एक वर्षमै प्रतिव्यक्ति आय एक सय ३५ डलरले बढेर एक हजार तीन सय ८१ डलर पुग्यो

तरलता अभाव तथा उच्च शोधनान्तर घाटा हुँदाहुँदै पनि  चालू आर्थिक वर्ष ०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर करिब ६ प्रतिशत हुने देखिएको छ । केन्द्रीय तथ्यांक विभागले उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर ५.८४ हुने प्रारम्भिक अनुमान गरेको हो । बेमौसमी वर्षा तथा बाढीपहिरोका कारण कृषि क्षेत्रमा परेको प्रभावले कृषि क्षेत्रको वृद्धिदर कम भए पनि अन्य क्षेत्रको विस्तार सन्तोषजनक हुँदा आर्थिक वृद्धिमा टेवा पुगेको हो । 

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले उत्पादन थालेको, निर्माण गतिविधि बढेको, औद्योगिक उत्पादन बढेको, आवास तथा भोजन सेवा र यातायात क्षेत्रका आर्थिक क्रियाकलापमा भएको वृद्धिले आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पारेको विभागले जनाएको छ । आधारभूत मूल्यमा भने आर्थिक वृद्धिदर ५.४९ प्रतिशत हुने विभागको प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्षको ६ देखि नौ महिनाको तथ्यांक तथा आगामी दिन महिनाको सम्भावित तथ्यांकका आधारमा विभागले आर्थिक वृद्धिको प्रारम्भिक अनुमान गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए ।

सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको छ । तर,  सरकारी लक्ष्यभन्दा १.१६ प्रतिशत बिन्दुले कम वृद्धिदर हुने विभागले प्रारम्भिक अनुमान गरेको हो । विभिन्न ‘सक’ र चुनौतीका बीच नेपालले राम्रो आर्थिक वृद्धि हासिल गर्ने देखिएको राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले बताए । ‘देश श्रीलंकाजस्तो भयो, संकटको बाटोमा गयो भन्ने हल्लाहरू फिजाइए, तर श्रीलंकाजस्तो छैन भन्ने कुरा आर्थिक वृद्धिको प्रारम्भिक अनुमानले देखाइदिएको छ,’ उनले भने, ‘सरकार आफ्नो लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्न प्रतिबद्ध रहेको छ ।’

सरकारी तथ्यांकअनुसार चालू आवको वृद्धिदर गएको आर्थिक वर्षको तुलनामा १ दशमलव ५९ प्रतिशत बिन्दुले बढी हुने देखिएको हो । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा आर्थिक वृद्धिदर चार दशमलव २५ प्रतिशत रहेको विभागको संशोधित अनुमान रहेको छ । त्यसअघिको आव ०७६/७७ मा आर्थिक वृद्धि २.४२ प्रतिशत ऋणात्मक रहेको विभागले अन्तिम तथ्यांक निकालेको हो ।  खासगरी रुस–युक्रेन समस्याका कारण विश्वव्यापी रूपमा आर्थिक वृद्धिको दरमा संकुचन आएको अवस्थामा पनि नेपालको अर्थतन्त्र विस्तार भएको राष्ट्रिय योजना आयोगका सचिव केवलकुमार भण्डारीले बताए । ‘तर, विश्वव्यापी प्रवृत्तिभन्दा फरक ढंगले हाम्रो अर्थतन्त्र संकुचन भएको छैन, अझ विस्तार भएको छ ।’

यसअघि अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले चालू आर्थिक वर्षमा नेपालमा ४ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । त्यस्तै, विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ७ प्रतिशत रहने अनुमान गरेको छ । आइएमएफ र विश्व बैंकको प्रक्षेपणको तुलनामा क्रमशः १.७४ प्रतिशत बिन्दु र २.१४ प्रतिशत बिन्दुले बढी वृद्धिदर हुने  विभागको अनुमान छ । अन्तर्राष्ट्रिय निकायले अन्तर्राष्ट्रिय परिदृश्य र अनुमानका आधारमा आर्थिक वृद्धिदरको प्रक्षेपण गर्ने गरेको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । तर, विभागले भने तथ्यांक विश्लेषण गरेर वृद्धिदर अनुमान गर्ने भएकाले विभागको वृद्धिदर विश्वसनीय हुने उनको दाबी छ ।

अर्थतन्त्रका सबै क्षेत्रमा बढोत्तरी भएको छ । कृषि र खानेपानी आपूर्तिबाहेक सबै क्षेत्रको वृद्धिदर गएको वर्षको तुलनामा बढी छ । कृषि क्षेत्रको वृद्धिदर भने गएको आर्थिक वर्षको तुलनामा ०.६ प्रतिशत बिन्दुले घटेको छ । त्यस्तै, खानेपानी आपूर्तिको क्षेत्रको वृद्धिदर पनि ०.८ प्रतिशत बिन्दुले घटेको हो । कृषि तथा खानेपानी क्षेत्रको वृद्धिदर नखुम्चिएको भए समग्र आर्थिक वृद्धिदर अझ बढी हुने देखिएको महानिर्देशक श्रेष्ठले बताए ।

चालू आर्थिक वर्षमा प्राथमिक क्षेत्रको वृद्धिदर २.४४ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर १०.२९ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५.९३ प्रतिशत रहने अनुमान गरिएको छ । बेमौसमी वर्षाका कारण धानबाली तथा कृषिको अन्य क्षेत्रमा पुगेका क्षतिका कारण प्राथमिक क्षेत्रको वृद्धिदर गएको वर्षको तुलनामा ०.५१ प्रतिशत बिन्दुले खुम्चिएको छ । द्वितीय क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर भने गएको वर्षको तुलनामा क्रमशः ५.९३ प्रतिशत बिन्दु र १.७४ प्रतिशत बिन्दुले बढेको हो । 

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले उत्पादन सुरु गर्नु, निर्माण कार्यमा वृद्धि हुनु तथा औद्योगिक उत्पादन बढ्नुले द्वितीय क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव परेको विभागले उल्लेख गरेको छ । त्यस्तै, कोभिड–१९ को महामारीले ऋणात्मक भएका आवास तथा भोजन सेवा र यातायात क्षेत्रका आर्थिक क्रियाकलापमा भएको वृद्धि तथा व्यापार र निर्माण क्रियाकलापमा भएको वृद्धिले सेवा क्षेत्रमा बढोत्तरी भएको विभागले जनाएको छ ।

‘विश्वव्यापी रूपमा कोभिड–१९ को असरलाई न्यून गर्नका लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरूको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने नै देखिन्छ,’ विभागले भनेको छ, ‘तथापि, हालका दिनहरूमा नेपालमा कोभिड–१९ को प्रभावको अवस्था साह्रै न्यून रहेको र यस आर्थिक वर्षको आन्तिमसम्म नै यसको नकारात्मक असर नरहने साथै आर्थिक क्रियाकलाप सामान्य किसिमले सञ्चालन हुने विश्वास गरिएको छ ।’ कोभिडको प्रभाव सामान्य नै रहने तथा अन्य कुनै असामान्य परिस्थिति नआउने विश्वासका साथ विभागले आर्थिक वृद्धिको प्रारम्भिक अनुमान गरेको निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताए ।  

अर्थतन्त्रमा पौने ६ खर्बको बढोत्तरी, आकार साढे ४८ खर्ब पुग्यो

चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र पौने ६ खर्बको बढोत्तरी हुने देखिएको छ । विभागले उपभोक्ता मूल्यमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँबराबर पुग्ने प्रारम्भिक अनुमान गरेको हो । जुन गएको आर्थिक वर्षको तुलनामा पाँच खर्ब ७४ अर्ब ३२ करोडले बढी हो । गएको आर्थिक वर्ष ०७७/७८ मा नेपालको अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा ४२ खर्ब ७७ अर्ब ३० करोड रहेको विभागको संशोधित अनुमान छ । त्यसअघि आव ०७६/७७ मा अर्थतन्त्रको आकार ३८ खर्ब ८८ अर्ब ८७ करोड रुपैयाँबराबर रहेको विभागको अन्तिम अनुमान छ । 

प्रतिव्यक्ति आय १२.४४ प्रतिशतले बढ्यो
चालू आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय (जिएनआई) एक लाख ६५ हजार ६ सय ४९ रुपैयाँ पुग्ने विभागको प्रारम्भिक अनुमान रहेको छ । यो गएको वर्षको तुलनामा १२.४४ प्रतिशतले बढी हो । गत आव ०७७/७८ मा नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय एक लाख ४७ हजार तीन सय १८ रुपैयाँ रहेको विभागको संशोधित अनुमान छ । विभागका अनुसार प्रतिव्यक्ति आय अमेरिकी डलरमा एक हजार तीन सय ८१ पुगेको छ । यो गएको वर्षको तुलनामा एक सय ३५ डलरले बढी हो । गत आव ०७७/७८ मा नेपालको प्रतिव्यक्ति आय एक हजार दुई सय ४८ अमेरिकी डलर रहेको विभागको संशोधित अनुमान छ ।

ad
ad