मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सौरभ यादव राजविराज
२०७९ बैशाख १५ बिहीबार ०८:५३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘स्वतन्त्र उम्मेदवारलाई  सघाएको’ निहुँमा दलित युवकको हत्या

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ बैशाख १५ बिहीबार ०८:५३:००

सप्तरीमा स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा एक दलित युवकको हत्या भएको छ । खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानलाई स्वतन्त्र उम्मेदवारलाई ‘सघाएको भन्दै’ गाउँकै युवा समूहले निर्घात कुटपिट गर्दा उनको ज्यान गएको हो । कुटपिटबाट गम्भीर घाइते भएका पासवानको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । 

सोमबार राति सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाह थियो । डिजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरूलाई डिजे बाजामा नाच्न दिनुपर्‍यो भन्दै गाउँका केही युवाले जन्तीलाई रोकेका थिए । वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबुआमासहित बेहुली पक्षले जन्ती नरोक्न आग्रह गरेका थिए । ‘हामीलाई अझै नाच्नु छ, केही बेर अझै पर्खनु’ भन्दै युवाहरूले जन्तीलाई रोक्न रोजेपछि विवाद बढेको थियो । सो क्रममा युवाहरूले बेहुली पक्षलाई गालीगलौज सुरु गरेपछि सन्तलाललगायतले विवाद नगर्न भनी सम्झाइबुझाइ गर्न खोजेका थिए ।

जन्ती बेहुली घरतर्फ गएको केही समयपछि हुल बाँधेर पुगेका युवाहरूको समूहले सन्तलाललाई नियन्त्रणमा लिएर टाउकोमा इँटाले निर्घात कुटपिट गरेको उनका बाबु रामआशीष पासवानले बताए । विवेक चौधरी, दिलीप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी, गोविन्द चौधरी, दिनेश चौधरीलगायतले सन्तलाललाई कुटेको उनको भनाइ छ ।

बिहेकै दिन सोमबार आफ्ना छिमेकी महादेव दास (तत्मा)ले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको विषयलाई लिएर गैरदलित युवाहरूले आफ्नो छोरामाथि रिसइबी साँधेको उनको आरोप छ । ‘तिमी दलितहरू बढी राजनीति गर्न थाल्यौ’ भनेर धम्क्याउँदै छोरामाथि जाइलागेको रामआशीषले बताए । स्वतन्त्र उम्मेदवारी दिएका दलित युवक महादेव दासले सन्तलाललाई कुटपिट गरेकै राति आफूलाई पनि आक्रमण गर्न दुई युवक घरमा आएको र बुबा कराउँदै हारगुहार गर्न थालेपछि ज्यान जोगाएको बताए । ‘मलाई अहिले पनि उम्मेदवारी फिर्ता लिन ठूला पार्टीका नेताहरूले दबाब दिइरहेका छन्,’ उनले भने ।

दलित अगुवा राजेश विद्रोहीले स्वतन्त्र उम्मेदवारलाई सघाएको निहुँमा सन्तलालको हत्या गरिएको बताए । ‘म घटनास्थल पुगेर आएँ । सबैसँग बुझेँ । स्वतन्त्र उम्मेदवारलाई सघाएको निहुँमा सन्तलालको हत्या गरिएको हो । प्रशासनले यो घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्छ,’ उनले भने ।

घाइते सन्तलाललाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगे पनि त्यहाँ उपचार हुन नसकेपछि विराटनगरस्थित नोबेल अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा बुधबार बिहान सन्तलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । कुटपिटको घटनापछि पीडित पक्षबाट आएको ठाडो उजुरीका आधारमा एकजनालाई नियन्त्रणमा लिइएको बताउँदै काफ्लेले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए । सन्तलालको मृत्यु भएपछि आक्रोशित गाउँलेले बुधबार बिहानदेखि पूर्व–पश्चिम राजमार्ग अमहा चौकमा तीन घन्टा चक्काजाम गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरेर पीडितलाई न्याय दिने भनी प्रतिबद्धता जनाएपछि राजमार्ग सुचारु भएको थियो ।