१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ ४ शुक्रबार १४:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दाइजो नल्याएको भन्दै निर्घात कुटपिट

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:५३:oo

सप्तरीमा पति र सासू–ससुराले बुहारीलाई दाइजो नल्याएको भन्दै निर्घात कुटपिट गरेका छन्। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रुपनी गाउँपालिका– ६ की २७ वर्षीया लक्ष्मीनियाँकुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो।

उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरको विभिन्न भागमा चोट लागेको छ। ‘आइतबार राति साढे ७ बजेतिरको घटना हो, तँलाई मारिदिन्छु भन्दै ससुरा शिवदयाल भगत, पति सञ्जीवकुमार भगत, सासू सीता देवी, जेठानी अञ्जु, नन्द रञ्जु, गाउँकै नातापर्ने वीणाले अन्धाधुन्ध कुटपिट गरेपछि म अचेत भएँ,’ उनले भनिन्, ‘पछि म बेहोस भएको पत्तै पाइनँ र सोमबार बिहान मात्रै होस खुलेपछि जसोतसो गरी अस्पतालसम्म आइपुगेँ।’

यसअघि कतिपटक कुटपिटमा परेको यादसम्म नरहेको उनको दुखेसो छ। ‘दाइजोको निहुँमा पटक–पटक शारीरिक र मानसिक यातना खेप्दै आएकी छु,’ उनले भनिन्, ‘सहन नसकेपछि उसवेला प्रहरीमा पुगेकै हो, तर सुनुवाइ नै भएन।’

बाध्य भएर सप्तरी जिल्ला अदालतमा घरेलु हिसासम्बन्धी मुद्दा गर्न पुगेको उनले बताइन्। ‘सो मुद्दामा ०७८ पुस १९ गते अदालतले अन्तरिम संरक्षणात्मक आदेश भयो,’ उनले भनिन्, ‘त्यसपछि त झन विपक्षीहरू उग्र बने र तेरो अदालतले कसरी बचाउन आउँछ भन्दै कोठामा थुनेर कुटपिट गर्न थाले।’

सोमबार राति पनि त्यही घटना दोहोरिएर आफू यस्तो अवस्थामा पुगेको लक्ष्मीनियाँको कथन छ। ‘अब के गरी न्याय पाउने ? र कसरी सुरक्षित वातावरण पाउने ? विवाह गरेको चार भइसक्यो, तैपनि उहाँहरूको रवैयाले पिरोलेको छ,’ उनले भने।

यता, प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय राजविराजकी कानुनी अधिकृत अधिवक्ता किरण साहले विभिन्न बहानामा लक्ष्मीनियाँमाथि भएको हिंसाविरुद्ध प्रहरीमा उजुरी दिँदासमेत पीडकहरूलाई कारबाही गर्नेतर्फ प्रहरीको उदासीन देखिएको बताए।

उता, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले कुटपिटमा संलग्न लक्ष्मीनियाँका ससुरा शिव दयाललाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको बताए। 

‘पुरानै घरायसी झै–झगडा हो, धेरैपटक प्रहरीमा छलफल पनि भएकै हो,’ उनले भने, ‘पछिल्लो घटनाको जानकारीसँगै पीडितका ससुरालाई नियन्त्रणमा राखी हामीले अनुसन्धान गरिरहेका छौँ।’
 

ad
ad