१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
मञ्जु टेलर काठमाडौं
Invalid date format o८:४५:oo
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोना महामारी नियन्त्रण अझै कठिन 

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:४५:oo

विश्वभर ४०.५ प्रतिशत जनसंख्या खोपको पहुँचबाहिर, २० देशका १० प्रतिशतले समेत पाएनन् खोप 

कोभिड महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी मानिएको खोप अझैसम्म विश्वका ४०.५ प्रतिशत जनसंख्याको पहुँचबाहिर छ । केही देशमा खोपको बुस्टर डोजसमेत प्रयोगमा आइसके पनि अझैसम्म विश्वका करिब २० देशमा खोपको प्रयोग १० प्रतिशतभन्दा न्यून छ । 

‘आवर वर्ल्ड इन डाटा’को विश्वव्यापी तथ्यांकअनुसार हालसम्म ५९.५ प्रतिशतले मात्र कोभिडविरुद्धको खोपको पूर्ण डोज लगाएका छन् । हाल केही सीमित देशबाहेक अन्य देशमा कोभिड संक्रमण सामान्य अवस्थामा फर्किएको छ । त्यसैले कोभिड महामारी अन्त्यतिर आएको वैज्ञानिकहरूको भनाइ छ । तर, अझैसम्म कतिपय देशमा खोपको प्रयोग दुई प्रतिशतसमेत नहुँदा जुनसुकै समयमा पुनः महामारीले उग्र रूप लिन सक्ने जोखिम भने कायमै रहेको उनीहरू बताउँछन् । 

कोभिडविरुद्धको औषधि हालसम्म निश्चित नभएका कारण खोपलाई नै महामारी नियन्त्रणका लागि मुख्य हतियार मानिएको छ । तर, खोपको पहुँच सर्वसुलभ नहुँदा उपलब्ध तथ्यांकअनुसार २० भन्दा बढी देशमा खोपको प्रयोग अति न्यून छ । हालसम्म सीमित देशमा मात्र खोपको प्रयोग ९० प्रतिशतभन्दा बढी भएको पाइएको छ । 

विश्वभरको तथ्यांकअनुसार हालसम्म जनसंख्याको आधारमा सबैभन्दा बढी खोप प्रयोग युएईमा भएको छ । युएईमा ९७.६ प्रतिशत जनसंख्याले कोभिडविरुद्धको खोप लगाएका छन् । कतारमा ९४.७ प्रतिशत, कम्बोडियामा ९२.४ प्रतिशत, पोर्चुगलमा ९१.६ प्रतिशत र चिलीमा ९१.३ प्रतिशत जनसंख्यामा खोप प्रयोगमा आएको छ । यसबाहेक लगभग ५४ देशमा खोपको प्रयोग ७० प्रतिशतभन्दा माथि रहेको जनाइएको छ । 

२० देशमा खोपको प्रयोग १० प्रतिशतभन्दा न्यून 
कोभिड महामारी अन्त्यतिर रहेको विश्व स्वास्थ्य संगठनले बताउँदै आए पनि अझै झन्डै २० भन्दा बढी देशमा खोपको प्रयोग लक्षित जनसंख्याको १० प्रतिशतमा समेत आउन सकेको छैन । आवर वल्र्ड इन डाटाको तथ्यांकअनुसार बुरुन्डी, हाइटी, यमनजस्ता देशमा जनसंख्याको दुई प्रतिशतले खोप प्रयोग गरेका छैनन् । बुरुन्डीमा सबैभन्दा न्यून अर्थात् ०.१ प्रतिशत जनसंख्या मात्र खोपको पहुँचमा छन् । यसबाहेक हाइटीमा १ प्रतिशत, कंगोमा ०.५८ प्रतिशत, यमनमा १.४ प्रतिशतमा मात्र खोप प्रयोगमा आएको छ । 

पपुवा न्युगिनीमा २.९ प्रतिशत, मदागास्करमा ४ प्रतिशत, मलावीमा ४.५ प्रतिशत, क्यामरुनमा ४.५ प्रतिशत, दक्षिण सुडानमा ४.३ प्रतिशत जनसंख्याले खोप लगाएका छन् । मालीमा ५.१ प्रतिशत, तान्जानियामा ५.५ प्रतिशत, बुर्किना फासोमा ६ प्रतिशत, सेनेगलमा ६.४ प्रतिशत, नाइजरमा ६.९ प्रतिशत, नाइजेरियामा ६.५ प्रतिशतले खोप लगाएका छन् । सुडानमा ८.४ प्रतिशत, सिरियामा ८.४, सोमालियामा ८.७ प्रतिशत र जेब्युटीमा १०.६ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएको तथ्यांक छ । 

लक्ष्यभन्दा बाहिर नेपाल 
नेपालले ०७८ को अन्तिमसम्म लक्षित जनसंख्याको शतप्रतिशतमा खोप लगाइसक्ने घोषणा गरेको थियो । तर, नेपालको लक्ष्य पूरा हुन सकेन । अन्य देशको तुलनामा नेपालमा खोपको प्रयोग उच्च भए पनि लक्ष्यअनुसार खोपको प्रयोग भने हुन सकेन । यद्यपि, नेपालमा कोभिडविरुद्धको खोप पर्याप्त रहेकाले खोप लगाउन स्वास्थ्य मन्त्रालयले खोप कार्यक्रम देशभर नै सञ्चालनमा ल्याएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म लक्षित जनसंख्याको ८३.४ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । १२ वर्षभन्दा माथिका दुई करोड ३३ लाख २७ हजार ६ सय १९ जनासंख्यामध्ये एक करोड ९४ लाख ५२ हजार आठ सय ७७ ले खोपको पूर्ण मात्रा लगाएका हुन् । खोपको एक मात्रा भने ९५.१ प्रतिशतले लगाइसकेका छन् । यसबाहेक २७ लाख ५१ हजार दुई सय ७ डोज खोप बुस्टरको रूपमा समेत प्रयोगमा आइसकेको छ । 

सबैभन्दा धेरै खोप प्रयोगमा आएका देश

  • युएई ९७.६ प्रतिशत
  • कतार ९४.७ प्रतिशत
  • कम्बोडिया ९२.४ प्रतिशत
  • पोर्चुगल ९१.६ प्रतिशत
  • चिली ९१.३ प्रतिशत 

सबैभन्दा कम खोप प्रयोगमा आएका देश

  • बुरुन्डी ०.१ प्रतिशत
  • हाइटीमा १ प्रतिशत
  • कंगोमा ०.५८ प्रतिशत
  • यमन १.४ प्रतिशत 
  • पपुवा न्युगिनी २.९ प्रतिशत