मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ५ सोमबार ०८:४५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सवारी आयात खुलाउन नाडाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ५ सोमबार ०८:४५:००

नाडा अटोमोबाइल्स एसोसिएसनले अर्थमन्त्री जनार्दन शर्मालाई भेटी सवारी आयातका लागि एलसी खोल्न बैंकले गरिरहेको अवरोध हटाउन आग्रह गरेको छ । नाडाका अध्यक्ष धुव्र थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाई भेटी सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको हो ।  

मन्त्री शर्माले निजी सवारीसाधन आयातमा केही समयका लागि मात्रै कडाइ गरिएकाले नअतालिन सुझाव दिएका छन् । उनले भने, ‘अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यसवेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने वेला हो । निजी सवारीसाधन आयातमा गरिएको कडाइप्रति आपत्ति नजनाउनुहोला । यो केही समयका लागि मात्र हो ।’ अर्थतन्त्रबारे अनावश्यक टिप्पणी भइरहेको भन्दै मन्त्री शर्माले सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको बताएका थिए । अहिले अर्थतन्त्रका नाममा राजनीतीकरण भइरहेको र यो गलत रहेको उनको भनाइ थियो । उपस्थित नाडा प्रतिनिधिहरूलाई संस्थागत ढंगले नै अर्थतन्त्रको वास्तविक अवस्थाबारे प्रकाश पार्न पनि उनले आग्रह गरेका थिए । 

नाडाका अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्यांक प्रस्तुत गर्दै सवारीसाधन व्यवसायमा तीन खर्ब ५० अर्बभन्दा बढीको लगानी रहेको, हरेक वर्ष एक खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पुर्‍याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजारभन्दा बढीलाई अवसर दिएको बताएका थिए । अध्यक्ष थापाले प्रतीतपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय निकायहरूले गरिरहेको अवरोध खुलाउन आग्रह गरेका थिए । उनले काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनहरूको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाव रहेको हुँदा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न प्रदर्शनीस्थलको निर्माणका लागि बजेट विनियोजन गरिदिन पनि अनुरोध गरेका थिए । 

छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारीसाधनको आयात बन्द हुँदा देशमा पर्न सक्ने असरहरूबारे माननीय मन्त्रीलाई जानकारी गराएका थिए । अर्का उपाध्यक्ष सुनील रिजालले नेपालका सीमानाकाहरूबाट हुने स्पेयर पार्टस्को चोरी–पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाका लागिसमेत आग्रह गरेका थिए ।