१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o७:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारतले विस्फोटक पदार्थको निर्यात रोक्यो

नेपालका जलविद्युत्, सडकलगायत पूर्वाधार निर्माण प्रभावित हुन सक्ने

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:१२:oo

भारतले विश्फोटक पदार्थको निर्यात रोकेपछि पूर्वाधार निर्माणमा प्रयोग हुने त्यस्तो पदार्थको आयात रोकिएको छ । भारतले आफ्नै मुलुकका लागि आवश्यकता रहेको भन्दै निकासीमा रोक लगाएपछि नेपालमा विस्फोटक पदार्थको अभाव हुने जोखिम बढेको छ । अहिले नेपालका पूर्वाधार आयोजनामा भारतबाट आयातीत विस्फोटक पदार्थको प्रयोग ८० प्रतिशत हाराहारी हुन्छ । बाँकी २० प्रतिशत भने नेपाली सेनाले नै उत्पादन तथा आपूर्ति गर्दै आएको सरोकारवाला बताउँछन् । भारतीय निकासीकर्ताले नेपालतर्फका पैठारीकर्तालाई भारतीय सरकारको निर्णय पठाएर निकासी रोकिएको जानकारी गराएका छन् । 

यसबाट जलविद्युत्, सडकलगायत पूर्वाधार निर्माण तथा खानी उत्खनन प्रभावित हुने देखिएको छ । पूर्वाधार निर्माणका क्रममा चट्टान, पहाड फोर्न तथा सुरुङ बनाउनसमेत विस्फोटक पदार्थको प्रयोग हुन्छ । त्यस्तै, सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने चुनढुंगा खानीको उत्खननमा समेत विस्फोटक पदार्थको प्रयोग हुन्छ । विस्फोटक पदार्थको आयात रोकिएपछि यस्ता पूर्वाधार निर्माण तथा खानी उत्खनन प्रभावित हुने सरोकारवालाले बताएका छन् । 

भारतले गएको शुक्रबारदेखि लागू हुने गरी विस्फोटक पदार्थको निर्यात रोकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का कोषाध्यक्ष आनन्द चौधरीले जानकारी दिए । ‘रुस–युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति प्रभावित हुँदा भारतमै विस्फोटक पदार्थको उत्पादन कम भइरहेको छ, उसले आफ्नै लागि चाहिने भन्दै सबै मुलुकमा निकासी रोकेको छ,’ उनले भने, ‘हाम्रा पूर्वाधार निर्माणका लागि चाहिने विस्फोटक पदार्थको मुख्य स्रोत भारत भएकाले उसले निकासी रोक्दा हाम्रा पूर्वाधार आयोजना प्रभावित हुनेछन् ।’ 

विस्फोटक पदार्थको आपूर्तिमा समस्या आए काठमाडौं–तराई मधेस दु्रतमार्ग, नौबिसे–नागढुंगा सुरुङमार्ग, अरुण तेस्रो जलविद्युत् आयोजनालगायत ठूला आयोजनाको काम प्रभावित हुन सक्ने चौधरीले बताए । यस विषयमा ऊर्जामन्त्री र प्रधानमन्त्रीलाई नै जानकारी गराउने तयारी छ ।  नेपालमा विस्फोटक पदार्थको आयात तथा आपूर्ति गराउँदै आएको ट्याक्टिकल सोलुसनका सञ्चालक सन्तोष थापाले शुक्रबारदेखि विस्फोटक पदार्थको आयात नहुने जानकारी आएको बताए । ‘शुक्रबारअघि सिपमेन्ट भएर आएका विस्फोटक पदार्थको आयात शनिबार, आइतबारसम्म भइरहेको छ,’ उनले भने, ‘अब नयाँ सिपमेन्ट नहुने सूचना प्राप्त भएको छ ।’ भारतका विभिन्न स्थानमा रहेका उद्योगबाट निकासीका लागि विस्फोटक पदार्थ लैजान दिइनेछैन । ‘उद्योगबाट सिपमेन्ट हुने ठाउँसम्म जानलाई रोड परमिट चाहिन्छ,’ उनले भने, ‘शुक्रबारदेखि त्यो नै रोकिएको छ ।’ 

नेपालमा भारतबाट मासिक तीन सयदेखि पाँच सय टन विस्फोटक पदार्थ आयात भइरहेको आयातकर्ताले जानकारी दिएका छन् । नेपालमा उपलब्ध विस्फोटक पदार्थको मौज्दातले आगामी डेढ–दुई साता धान्न सक्ने बुझिएको इप्पानका कोषाध्यक्ष चौधरी बताउँछन् । ‘उपलब्ध मौज्दात र सेनाले गर्ने आपूर्तिले बढीमा दुई साता धान्ने देखिन्छ,’ उनले भने, ‘त्यसपछि भने पूर्वाधारका काम प्रभावित हुने देखिन्छ ।’

आयात रोकिएको जानकारी छैन : नेपाली सेना
नेपाल सेनाका प्रवक्ता नारायण सिलवालले विस्फोटक पदार्थको आयात रोकिएको औपचारिक जानकारी नआएको बताए । सेनाले आफूले उत्पादन गर्ने विस्फोटक पदार्थको आपूर्ति पनि नियमित गरिरहेको उनले जानकारी दिए । ‘विस्फोटक पदार्थको भण्डारण, ढुवानी र सुरक्षाको जिम्मा नेपाली सेनाको हो,’ उनले भने, ‘हामीले मकवानपुरस्थित सुनाचरी इमल्सन प्लान्टबाट विस्फोटक पदार्थ उत्पादन गरेर आपूर्तिसमेत गरिरहेका छौँ, आयात रोकिएको जानकारी छैन, आपूर्ति नियमित छ ।’ सेनाले दैनिक १० टन विस्फोटक पदार्थ उत्पादन गरेर आपूर्ति गरिरहेको उनले जानकारी दिए । 

ad
ad