१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ बैशाख ४ आइतबार ०७:३७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

न्युयोर्कमा ओमिक्रोनका थप दुईवटा सब–भेरियन्ट फैलिए

Read Time : > 1 मिनेट
२०७९ बैशाख ४ आइतबार ०७:३७:००

अमेरिकाको न्युयोर्कमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट पत्ता लागेको छ, जसलाई बिए २.१२ र बिए.२.१२.१ नाम दिइएको छ । बिए २.१२ मा बिए.२ को २३ प्रतिशत र बिए.२.१२.१ मा २७ प्रतिशतभन्दा बढी उत्परिवर्तन भएको प्रारम्भिक अध्ययनले देखाएको छ । न्युयोर्कमा बढ्दै गएको कोरोना संक्रमणको कारण नयाँ देखिएका सब–भेरियन्टलाई मानिएको छ । हाल अमेरिकामा ८० प्रतिशत संक्रमणको कारक रहेको बिए २ ओमिक्रोनलाई लिइएको छ । यी दुई सब–भेरियन्ट अमेरिकामा पहिलोपटक पहिचान गरिएका हुन् । 

न्युयोर्कका राज्य स्वास्थ्य आयुक्त डा. मेरी बासेटले नयाँ सब–भेरियन्टसँगै संक्रमणको जोखिम बढेकाले परीक्षणमा जोड दिन आग्रह गरेका छन् । ‘अनिवार्य मास्कको प्रयोग, परीक्षण र पूर्ण खोपमा बढावा दिनुहोस्, नयाँ भेरियन्ट पनि आफैँ कमजोर भएर जानेछन्,’ उनले भने । संक्रमण पुनः बढ्न थालेपछि बुस्टर डोज, तीव्र परीक्षण र मास्कको अनिवार्य प्रयोगमा जोड दिइएको छ । 

सामान्य अवस्थामा फर्किएको कोरोना संक्रमण नयाँ सब–भेरियन्टपछि पुनः उकालो लागेको छ । यसअघि बेलायतमा बिए १ र बिए २ को मिश्रण भएर आएको एक्स ई सब–भेरियन्ट पत्ता लागेको थियो । पछिल्लो समय बेलायतमा फैलिएका अन्य तीनवटा सब–भेरियन्टलाई हाइब्रिड भेरियन्ट भनिएको थियो, जसमलाई एक्स डी, एक्स ई र एक्स एफ नाम दिइएको छ । हालसम्म भएका अध्ययनले एक्स डी र एक्स एफलाई डेल्टा र बिए १ भेरियन्टको उत्परिवर्तन भएको जनाएका छन् । एक्स ईलाई भने ओमिक्रोनको सब–भेरियन्ट मानिएको छ । 

कोभिड महामारीले विश्व अझै आक्रान्त हुन सक्ने : डब्लुएचओ 

विश्व स्वास्थ्य संगठनले पुनः संक्रमण बढ्न थाल्नुले विश्व फेरि महामारीले आक्रान्त हुन सक्ने जनाएको छ । ओमिक्रोनमा लगातार उत्परिवर्तनका कारण नयाँ सब–भेरियन्ट फैलिन थालेपछि डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका स्वास्थ्य आकस्मिक कार्यक्रमका निर्देशक डा. माइकल रायनले कोभिड महामारी अन्त्यतिर गएको भन्ने भ्रममा परेर बेवास्ता गर्दा ठूलो समस्या निम्त्याउने भन्दै सतर्क रहन आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘हामी महामारीको अन्त्यतिर आइसक्यौँ भनेर मलाई पटक्कै विश्वास छैन । नयाँ भेरियन्ट फैलिइरहेकाले अहिले नै अन्त्यतिर पुगेको भन्न मिल्दैन ।’ 

कोभिड भाइरस जुनसुकै समयमा पनि फैलिन सक्ने जोखिम अझैसम्म कायम रहेकाले डब्लुएचओले सतर्क रहन आग्रह गरेको हो । हाल भारत, चीन, बेलायत, अमेरिका, दक्षिण कोरिया, भियतनाम, इटाली, जर्मनी, फ्रान्सलगायतका देशमा संक्रमण बढिरहेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर कोभिड संक्रमणका कारण ६२ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।