मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख ३ शनिबार
  • Friday, 28 August, 2026
२o७९ बैशाख ३ शनिबार १५:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मेली समाज जापानद्वारा उत्कृष्ट पत्रकारका लागि पुरस्कार घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३ शनिबार १५:o१:oo

गुल्मेली समाज जापानले गुल्मेली पत्रकारहरुका लागि सहयोग गर्ने भएको छ। समाजले जिल्लाका उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न २५ हजार र महासंघको संस्थागत विकासका लागि एक लाख सहयोग गर्ने निर्णय गरेको हो।

पत्रकार महासंघ गुल्मीले आयोजना गरेको स्वागत तथा पत्रकार भेटघाट कार्यक्रममा समाजका अध्यक्ष महेन्द्रकुमार अधिकारीले महासंघको संस्थागत विकास र पुरस्कारका लागि सहयोग गर्ने घोषणा गरेका हुन्। संस्थागत रूपमा समाजको तर्फबाट अध्यक्ष महेन्द्र कुमार अधिकारी, सल्लाहकार गोविन्द रिजाल र पत्रकार महासंघको तर्फबाट अध्यक्ष टोपलाल अर्याल तथा उपाध्यक्ष रेशम कुँवरले हस्ताक्षर गरेका छन्।

पत्रकारहरूसँग कुरा गर्दै अधिकारीले कोभिड महामारीमा पत्रकार महासंघ गुल्मीले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै जिल्ला र परदेश जोड्ने पत्रकारहरुको कलम र ऊर्जाका लागि संस्थागत पुरस्कार र सहयोग गरिएको बताए। जिल्लाको विपद्, सामाजिक विकास र गम्भीर प्रकारका रोग लागेका बिरामीलाई समाजले लामो समयदेखि सहयोग गर्दै आएको उनले स्मरण गराए। 

सो क्रममा पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले समाजले पत्रकार महासंघको संस्थागत विकास र पुरस्कारमार्फत पत्रकारहरुमा ऊर्जा थपेको भन्दै आभार प्रकट गरे। उनले प्रवासीको सहयोग र महासंघको समन्वयमा अझै थुप्रै रचनात्मक काम गर्ने बताए।

कोभिडमा गाउँगाउँमा स्वास्थ्य सामग्री सहयोग
समाजले कोभिडको वेला पत्रकार महासंघ गुल्मीसँगको समन्वयमा जिल्लाका अधिकांश पालिकामा अक्सिजन कन्सन्ट्रेटर, मास्क, पिपिई, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको थियो। त्यस्तै, केही समयअघि रेसुंगा–८ मा पहिरोले छोरीहरू गुमाएका तिलक परियारको परिवारलाई दुई लाख २८ हजार पाँच सय आर्थिक सहयोग गरिएको समाजका सल्लाहकार गोविन्द रिजालले जानकारी दिए।

जिल्लामा महामारी र विपद्बाहेक गम्भीर प्रकारका रोग लागेर आर्थिक अभावमा उपचार नपाएकाहरुका लागि पनि समाजले सहयोग गर्दै आइरहेको छ।