१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
विमल सुवेदी, नाट्यकर्मी
पवन बराइली नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:२७:oo
Read Time : > 3 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

मनोरञ्जनका लागि नाटक गर्दिनँ : विमल सुवेदी, नाट्यकर्मी

Read Time : > 3 मिनेट
पवन बराइली, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:२७:oo

अन्तर्वार्ता
नाट्यकर्मी विमल सुवेदीले नेपाली रंगमञ्चमा नयाँ सीप र शैली भित्र्याए । यति मात्र होइन, नेपाली नाटकलाई अन्तर्राष्ट्रियकरण गर्न उनको ठूलो योगदान छ । भारतको प्रतिष्ठित नेसनल स्कुल अफ ड्रामा (एनएसडी)बाट रंगमञ्चको प्रविधि, डिजाइन र निर्देशनमा स्नातकोत्तर सुवेदीले ‘चारुमती’, ‘सान्दाजुको महाभारत’, ‘मकैको अर्कै खेती’लगायतका नाटक निर्देशन गरिसकेका छन् । नाटक ‘यर्मा’, ‘मालिनी’ र ‘अ नाइट विथ माओ’ निर्देशन गरेर नेपाली दर्शकलाई विश्वका उम्दा नाटकको स्वाद चखाइसकेका छन् । ‘अ नाइट विथ माओ’लाई भारतमा, ‘मालिनी’लाई पाकिस्तानमा र ‘ह्याम्लेट’लाई बेलायतमा निर्देशन गरेर उनले आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । थिएटर भिलेजले नारायण वाग्लेको मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’को  रूपान्तरित नाटक ल्याउँदै छ । यो नाटकको प्रमुख भूमिकामा निर्देशक सुवेदी आफैँ देखिँदै छन् । उनी १४ वर्षपछि पुनः अभिनयमा फर्किन लागेका हुन् । यो नाटक ९ वैशाखदेखि मण्डला थिएटरमा मञ्चन हुँदै छ । यसै सेरोफेरोमा रहेर सुवेदीसँग नयाँ पत्रिकाका पवन बराइलीले गरेको संवाद :

१४ वर्षपछि रंगमञ्च फर्कंदै हुनुहुन्छ, त्यसमा पनि मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मञ्चन गर्ने गरी, कस्तो लाग्दै छ ? 
लामो समय नाटक अध्यापन गराएँ । थुप्रै नाटक निर्देशन गरेको छु । अभिनय पनि गरेको छु । तर, १४ वर्षपछि स्टेजमा देखिन लाग्दा उत्साहसँगै डर लागिरहेको छ । अझै पनि अभिनयका लागि संघर्ष गरिहेको छु । निर्देशक रूपमा भन्दा पनि कलाकार रूपमा निकै संघर्ष गरिरहेको छु । अभिनय गर्ने मेरो मनसाय नै थिएन । मञ्चमा देखिने ‘कन्फिडेन्स’ पनि घटेको थियो । अब निर्देशन मात्रै गर्छु भन्ने सोचमा थिएँ । बीचमा नाटक र फिल्ममा अभिनय गर्ने अफर पनि नआएको होइन । स्टेजको बानी पनि छुटिसकेको थियो । निर्देशन मात्रै गर्ने सोचमा थिएँ । 

‘पल्पसा क्याफे’लाई नाटकका रूपमा दुई वर्षअघि नै ल्याउने तयारीमा थियौँ । दुर्भाग्य कोरोना महामारीले गर्दा आउन सकेन । नाटकमा अहिले मैले अभियन गरेको पात्रमा अभिनेता विपिन कार्कीजीको भूमिका थियो । उहाँले रिहर्सल पनि गर्नुभएको थियो । तर, नाटक मञ्चन हुनुभन्दा दुई साताअघि उहाँले नभ्याउने हुनुभो । अरू कलाकार खोज्न पनि समय लाग्ने भयो । टिमको आग्रहमा मैले नै अभिनय गर्नुपरेको हो । आफैँले निर्देशन गर्नु र अभिनय गर्नु चुनौतीपूर्ण हुन्छ । यस्तो वेला आफैँले आफैँलाई हेर्न मिल्दैन । निर्देशनको संरचना बनिसकेको हुनाले अभिनय गर्न सम्भव भयो । यो संयोग नै भन्नुपर्छ । 

‘पल्पसा क्याफे’मा ‘युद्ध’कालीन कालखण्डको कथा छ, अहिले आएर किन भन्न खोज्नुभएको ? 
अहिले आएर किन यो विषयमा नाटक देखाउनुपर्‍यो भन्ने प्रश्न सबैले गरिरहेका छन् । लामो समयको अध्ययन–अनुसन्धानपछि मात्रै हामी ‘पल्पसा क्याफे’लाई नाटकमा रूपान्तरण गर्न तयार भएका हौँ । ‘युद्ध’मा प्रयोग भएका हतियार बिसाउन सजिलो थियो, तर ‘युद्ध’ बिसाउन गाह्रो छ । ‘युद्ध’मा प्रयोग भएका हतियार बिसाइएको छ, तर राजनीतिक ‘युद्ध’ चलिरहेको छ । राजनीतिक अस्थिरता कायमै छ । हिजो ‘युद्ध’को समयलाई आजको राजनीतिक घटनाक्रमसँग तुलना गरेर हेर्न सकिन्छ । यो नाटक हिजोको घटनाक्रम हेर्न अवसर पनि हो । यसकारण त्यो वेलाको कथा भन्नुपर्छ जस्तो लागेको हो । 

नाटकलाई धेरैले मनोरञ्जनका रूपमा लिन्छन्, तर म  मनोरञ्जनका लागि नाटक गर्दिनँ । मलाई जुन कुराले पीडा दिन्छ, त्यो कुरालाई नाटकमार्फत प्रश्न गर्छु । जुन कुराले प्रश्न गर्छ, त्यसको  प्रतिप्रश्नका लागि नाटक गर्छु।

हामीले उपन्यासलाई पुनः व्याख्या गरेका छौँ । त्यस वेलाको समयलाई देखाउन खोजेका छौँ । नयाँ स्वरूप दिएर भन्न कोसिस गरेका छौँ । पुरानो राज्यसत्ता परिवर्तन गरेर नयाँ राज्यव्यवस्था निर्माण गर्न जो ‘युद्ध’मा होमिए । उनीहरूको सपना अझै पूरा भएको छैन । ‘युद्ध’को स्वामित्व जसले लिनुपर्ने हो, उसले लिन पाएको छैन । युद्धमा प्रत्यक्ष रूपमा होमिएकाहरू पनि कोही सडकमा छन् भने कोही सरकारको नेतृत्व गरिरहेका छन् । जो पीडित आज पनि छन्, राजनीतिक घटनाक्रमले गर्दा नै यस्तो भएको हो । ‘युद्ध’मा लागेका जो पीडित छन्, उनीहरूको आवाजलाई राजनीतिक रूपमा भन्न खोजिएको हो । त्यस वेलाको घटनालाई जोडेर हामीले पात्रहरूको निर्माण गरेका छौँ । वर्तमान राजनीतिक घटनाक्रमले हामीलाई त्यो समयतिर फर्काउँछ । अहिले बाँचिरहेको समयमा बसेर ‘युद्ध’ हेर्न पाइन्छ । यो नाटक अहिले पनि समयसापेक्ष छ । 

‘पल्पसा क्याफे’ नाटकलाई दर्शकले कसरी ग्रहण गर्लान् ? 
उपन्यासका पात्रलाई मञ्चमा देखाउन हामी आतुर छौँ । दर्शकलाई निराश बनाउँदैनौँ । दर्शकले सोचेजस्तो नहुन पनि सक्छ । उपन्यासका पात्रहरूलाई कसरी ‘जस्टिफाई’ भएको होला भन्ने कुतूहलता दर्शकमा पक्कै छ । ती पात्रहरू कस्ता होलान् भन्ने कुतूहलता पनि छ । यो नाटकबाट दर्शकले धेरै विषय अनुभूत गर्न पाउनुहुन्छ । उपन्यासको कथालाई नाटकमा ढालेर भन्दा पक्कै फरक हुन्छ । जसले ‘पल्पसा क्याफे’ पढ्नुभएको छ, उहाँहरूले नाटकमा पक्कै नयाँ विषय भेट्नुहुन्छ । जसले उपन्यास पढ्नु भएको छैन, उहाँहरूको लागि नाटकमा झन् नयाँ विषय अनुभूत गर्न पाउनुहुन्छ । 

तपाईँले निर्देशन गरेका अधिकांश नाटक राजनीतिक विषयसँग आधारित छन् । राजनीतिक विषयमा जोड किन दिनुहुन्छ ?
हो, मेरो नाटकमा प्रायः राजनीतिक विषयवस्तु बढी हुन्छन् । चारुमती, सान्दाजुको महाभारत, मकैको अर्कै खेती’ होस् वा ‘अ नाइट विथ माओ, ‘ह्याम्लेट’लगायतका नाटकमा ‘सोसियो पोलिटिकल’ विषय छन् । हामी कलाकार हो, हामीलाई जुन विषयले छुन्छ, त्यसलाई उदांगो बनाउँछौँ । नाटकलाई मनोरञ्जनका रूपमा लिइन्छ । तर, मनोरञ्जनका लागि म नाटक गर्दिनँ । मलाई जुन विषयले पीडा दिन्छ, त्यसलाई नाटकमार्फत प्रश्न गर्छु । जुन विषयले प्रश्न गर्छ, त्यसको  प्रतिप्रश्नका लागि नाटक गर्छु । मेरो हुर्काइ पनि राजनीतिसँगै भयो । कलेज पढ्दा राजनीति र समाजबारे गहिरो अध्ययन गरेँ । त्यसको प्रभाव पनि हो, यो विषयसँग ‘एसोसियट’ भएँ । नेपालमा १० वर्ष सशस्त्र ‘युद्ध’ भयो । ‘युद्ध’ व्यवस्थापनपछि अब अत्याचार देख्न, सुन्न र भोग्नुपर्दैन भन्ने धेरैको अपेक्षा थियो । हामीले कल्पना गरेको समाज अर्कै थियो । सामाजिक र  आर्थिक विकास हुन्छ भन्ने अपेक्षा थियो । नागरिकका हकअधिकार स्थापित हुन्छ भन्ने अपेक्षा थियो । तर, झन् राजनीतिक अस्थिरताका कारण समाज थिलथिलो बन्दै गएको छ । दिनदिनै अन्याय अत्याचारका घटना बढ्दै गइरहेको छ । पछिल्ला राजनीतिक घटनाक्रमले जनतामा निराशा छाएको छ । राजनीतिक गतिविधिले हामी व्याकुल भएका छौँ । अहिले त झन् राजनीति नै हाम्रो दिमाग चलिरहेको छ । त्यसकारण पनि राजनीति विषयवस्तु नाटकमा  आएको हो । नटकमार्फत राजनीतिक विचलनका विषय भन्न मन लाग्छ ।

देशभर नाटकघर बढेका छन्, नाट्यकर्मी पनि बढे, तर नाटक हेर्ने दर्शक सीमित छन्, किन ? 
रंगमञ्चको इतिहास सिनेमाको भन्दा धेरै पुरानो छ । हामीले ‘लिमिटेड’ रूपमा मात्रै गरिहेका छौँ कि जस्तो लाग्छ । युरोपमा थिएटर कल्चर धेरै राम्रो छ । त्यहाँ सिनेमाभन्दा नाटक हेर्ने धेरै छन् । त्यहाँ बेलुका सबै काम सकेपछि थिएटर जाने चलन छ । थिएटर हेर्ने समयतालिका नै बनाएका हुन्छन् । हामीले लन्च गर्ने भनेजस्तै थिएटर नै जाने भन्ने हुन्छ । थिएटर उनीहरूका लागि पार्ट अफ दी लाइफ बनेको छ । थिएटर नजाने मान्छेले केही बुझेको हुँदैन भन्ने बुझाइ छ । विद्यालय गएजस्तै हो थिएटर हो । नेपालमा पनि रंगमञ्चको लिटेरेसी बढ्दै गएको छ । लिटेरेसी अझै पनि बढाउनुपर्छ । यो नाटक हो वा नाटक होइन भन्ने कुरा मानिसले बुझेका छैनन् । एकदमै राम्रो भन्ने स्थिति पनि छैन । खत्तमै छ भन्ने स्थिति पनि छैन ।

ad
ad