१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ चैत २९ मंगलबार १५:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा दुई दिनदेखि बिजुली अवरुद्ध

Read Time : < 1 मिनेट
२०७८ चैत २९ मंगलबार १५:०९:००

दुई दिनदेखि जुम्ला बिजुलीविहीन भएको छ। जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि दैलेख–कालिकोट खण्डमा विद्युत प्रसारण लाइनमा खराबी आएपछि बिजुली अवरुद्ध भएको हो।

कालिकोटदेखि–जुम्ला ११ केभिए राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जडान भए पनि पटकपटक बिग्रँदै आएकाले जुम्लीले बिजुली आपूर्तिको समस्या भोग्दै आएका छन्। ३३ केभिए लाइन जुम्ला नपुगेसम्म बिजुली आपूर्तिमा समस्या आइरहने नागरिक समाजका अगुवा राजबहादुर महत बताउँछन्। दुई दिनदेखि बिजुली आपूर्ति नहुँदा स्थानीयवासीले मोबाइलसमेत चार्ज गर्न पाएका छैनन्।

नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार विद्युत् प्रसारण लाइन मर्मत कार्य जारी छ। दुल्लु–कालिकोट ३३ केभिए लाइनमा समस्या देखिएको विद्युत् प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले बताए। ‘त्यस क्षेत्र कालिकोट वितरण केन्द्रले हेर्ने हो। अहिले सर्ट टर्मका लागि कोहलपुरबाटै बिजुली आएको छैन। त्यो त एकैछिनमा आउँछ,’ उनले भने। यस्तै कालिकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार दुल्लु खण्डमा समस्या आएको छ। उनले मर्मतका लागि टोली पुगेको र बेलुकासम्म लाइन आउने बताएका छन्।