१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ चैत २९ मंगलबार ०९:३७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाँकेमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त : तीन महिनामा ६५ दुर्घटना २६ को मृत्यु, २७ घाइते

Read Time : > 1 मिनेट
२०७८ चैत २९ मंगलबार ०९:३७:००

मादक पदार्थ सेवन गरेका इन्द्रबहादुर थापाले चलाएको प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा आइतबार मध्यरात एकै परिवारका तीनजनाको मृत्यु भयो । नेपालगन्जको बिपीचोकनजिक हिँडिरहेका पैदलयात्रीलाई कारले ठक्कर दिएको थियो । 

१५ चैतमा टिपरको ठक्करबाट हुम्लाका वीरबल भण्डारीको घटनास्थलमै मृत्यु भयो । नेपालगन्ज–कोहलपुर सडक खण्डअन्तर्गत कोहलपुरतर्फ जाँदै गरेको टिपरले भण्डारीलाई राँझाचोकमा किचेको थियो । अघिल्लो आइतबार पनि नेपालगन्ज–कोहलपुर सडकखण्डअन्तर्गत चौधरीपुरनजिक स्कुटर दुर्घटना हुँदा दुईजना सख्त घाइते भए । 

यी केही त्यस्ता उदाहरण हुन्, जसले पछिल्लो समय बाँकेमा बढेको दुर्घटनालाई देखाउँछ । जिल्ला ट्राफिक प्रहरीका अनुसार पुसदेखि २८ चैतसम्ममा ६५ वटा सवारी दुर्घटना भएका छन् । ती घटनामा १८ पुरुष, पाँच महिला र तीन बालबालिका गरी २६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा २१ पुरुषसहित २७ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए । ‘पछिल्लो समय बाँकेमा सडक दुर्घटना बढेको तथ्यांकले नै देखाउँछ । मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण दुर्घटना बढेको हाम्रो ठम्याइ छ,’ शाहले नयाँ पत्रिकासँग भने । 

प्रहरी निरीक्षक शाहले भनेजस्तै दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन देखिएको छ । आइतबार मध्यरातको दुर्घटनाका चालकले पनि मादक पदार्थ सेवन गरेको पाइएको शाहले जानकारी दिए । ‘चालकले मादक पदार्थ सेवन गरेर तीव्र गतिमा कार चलाएको खुल्नमा आएको छ,’ प्रहरी निरीक्षक शाहले भने । ट्राफिक व्यवस्थापन फितलो हुँदा बाँकेमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने क्रम बढे पनि ट्राफिक प्रहरीले कसैलाई कारबाहीको दायरामा ल्याउन नसकेको स्थानीयको गुनासो छ ।

कारको ठक्करबाट तीन पैदलयात्रीको ज्यान गयो
नेपालगन्जको बिपीचोकनजिक आइतबार मध्यरात कारले पैदलयात्रीलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम र पाँच वर्षकै अली छन् । नेपालगन्जको बिपीचोकको सडककिनारमा हिँडिरहेका उनीहरूलाई तीव्र गतिमा आएको कारले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए । 

ठक्करपछि चालक थापाले नै घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याएका थिए । तर, चिकित्सकले मृत घोषणा गरे । चालक थापाले मादक पदार्थ सेवन गरी कार चलाएको पाइएको प्रहरी निरीक्षक शाहले जानकारी दिए । प्रहरीले कारचालक इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको छ ।