मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २७ आइतबार ०९:०१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

शरीरको तापक्रम किन  बढी वा कम हुन्छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २७ आइतबार ०९:०१:००

मेडिकल सिद्धान्तअनुसार प्रत्येक व्यक्तिमा शरीरको तापक्रम उमेर, गतिविधि, समय र स्वास्थ्य अवस्थाअनुसार फरक हुन सक्छ

सामान्यतया मानव शरीरको औसत तापक्रम ९८.६ डिग्री फरेनहाइट वा ३७ डिग्री सेल्सियस हुन्छ । तर, कतिपय व्यक्तिमा जाडो वा गर्मी मौसममा सामान्य स्वास्थ्य अवस्थामा समेत शरीरको तापक्रम अत्यधिक वा निकै कम भइरहेको हुन्छ । मेडिकलको सिद्धान्तअनुसार प्रत्येक व्यक्तिमा शरीरको तापक्रम उमेर, गतिविधि, समय र स्वास्थ्य अवस्थाअनुसार फरक हुन सक्छ । तर, केही व्यक्तिहरूमा अन्यको तुलनामा निकै चिसो वा तातो महसुस गर्न सक्छन् । 

उमेर 
तुलनात्मक रूपमा उमेर बढ्दै जाँदा अर्थात् वृद्धावस्थामा शरीरको तापक्रम एकनास रहँदैन । सामान्यतया उमेरसँगै शरीरको मेकानिजम अर्थात् पाचन शैलीमा पनि आउने परिवर्तनले शरीरको तापक्रम घटाउँदै लान्छ । जसले गर्दा अधिकांश वृद्धवृद्धामा हाइपोथर्मियाको जोखिम रहन्छ । शरीरको तापक्रम बिस्तारै घट्दै जाने हँुदा चिसो मौसममा विभिन्न स्वास्थ्य समस्याको जोखिम रहन्छ । 

लिंग
अध्ययनअनुसार महिलाको शरीरमा पुरुषको तुलनामा मांसपेशी कम हुने भएकाले यसले छालाको छिद्रबाट कम मात्रामा तातो उत्पन्न गर्छ, जसले गर्दा कोठाको समान तापक्रममा पनि पुरुषको तुलनामा महिला बढी चिसो महसुस गर्छन् । तर, यो प्रक्रिया एकनास हुँदैन । वयस्क महिलाका निरन्तर आइरहने हर्मोनल परिवर्तनले कतिपय अवस्थामा अत्यधिक तातोसमेत महसुस गरिरहेका हुन्छन् ।

शरीरको आकार 
विज्ञहरूका अनुसार शरीरको आकार पनि अरूभन्दा तातो वा चिसो महसुस गर्नुको एउटा कारण हुन सक्छ । सिड्नी विश्वविद्यालयका फिजियोलोजीका अनुसन्धानकर्ता ओली जे भन्छन्, ‘शरीर जति ठूलो हुन्छ, गर्मीको महसुस पनि सामान्यतया बढी नै हुन्छ ।’ शरीरको आकार बढी हुने अधिकांश व्यक्तिमा अन्यको तुलनामा चिसो महसुस गर्नका लागि लामो समय लाग्न सक्छ ।

मोटोपन 
विभिन्न अध्ययनहरूका अनुसार, शरीरमा बोसोकोे मात्रा बढी भएका मानिसहरू तुलनात्मक रूपमा तातो महसुस गर्न सक्छन् । अतिरिक्त बोसोले शरीरलाई तातो बनाइराख्न मद्दत गर्छ, जसले कपडाको अतिरिक्त तहजस्तै काम गर्ने गर्छ । यद्यपि, कतिपय अवस्थामा मोटो र अधिक तौल भएका मानिसहरूले सामान्य तौल भएका मानिसहरूको तुलनामा चिसो महसुस गर्न सक्छन् । यो व्यक्तिको स्वास्थ्य अवस्थामा भर पर्छ । सामान्यतया शरीरले तातो महसुस गर्दा रक्तनलीहरू फराकिलो हुन्छन् ।

जसले रगतलाई तिनीहरूको माध्यमबाट प्रवाह गर्न र छालामा पुग्न अनुमति दिन्छ र अत्यधिक गर्मी उत्सर्जित हुन्छ । तर, युएस आर्मी रिसर्च इन्स्टिच्युट अफ इन्भाइरोन्मेन्टल मेडिसिनको पछिल्लो एक सर्वेक्षणले ‘सब्कुटेनियस फ्याट’ले छालाको सतहलाई चिसो पारेर कोरलाई न्यानो राख्ने भएकाले कतिपय अवस्थामा निकै चिसो महसुस पनि गरिरहेका हुन्छन् । 

स्वास्थ्य समस्या 
केही स्वास्थ्य अवस्थाका कारण पनि शरीरको तापक्रमलाई असर गर्न सक्छ । जस्तै, हाइपोथाइराइडिज्म, जसलाई अन्डरएक्टिभ थाइराइड पनि भनिन्छ, जब थाइरोइड ग्रन्थीले पर्याप्त हर्मोन उत्पादन गर्दैन, महŒवपूर्ण शारीरिक प्रक्रिया जस्तै पाचन प्रक्रिया, ऊर्जाको स्रोत र अन्य प्रक्रिया अनियमित हुन्छन् । जसका कारण शरीरमा चिसो महसुस हुन्छ । 

यस्तै, रेन्यिुडले शरीरका केही भागहरू जस्तै खुट्टा र औँलाहरू चिसो हुने वा सुन्निने समस्या गराउँछ । विशेष गरी चिसो तापक्रममा वा तनावको कारण साना धमनीहरू साँघुरो हुन्छन्, जसले गर्दा रगतको प्रवाहलाई सीमित गर्नुले अत्यधिक चिसो महसुस हुन्छ ।