१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २७ आइतबार
  • Monday, 07 July, 2025
२o७८ चैत २७ आइतबार o५:५८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिराहाको विष्णुपुरमा पालिका अध्यक्षसँग मिलेर प्रशासनका कर्मचारीले हिनामिना गरे राजस्वको ३४ लाख २३ हजार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २७ आइतबार o५:५८:oo

जरिवानासहित ४२ लाख ७९ हजार दाखिला गर्नुपर्ने, ताकेता गर्दा अटेरी

सिराहाको विष्णुपुर गाउँपालिकामा राजस्वको ३४ लाख २३ हजार सात सय ९० रुपैयाँ हिनामिना गरिएको छ । गाउँपालिका अध्यक्ष जागेश्वर यादवसँग मिलेर प्रशासन शाखाका नायब सुब्बा महेन्द्र यादवले उक्त रकम राजस्व खातामा दाखिला नगरी अन्यत्र खर्च गरेका हुन् । 

०७७/७८ मा सेवाग्राहीबाट विभिन्न शीर्षकमा राजस्वबापत लेखा शाखामा संकलितमध्ये आधाभन्दा बढी रकम पालिकाको बैंक खातामा दाखिला नभएको प्रमुख प्रशासकीय अधिकृत दीपकुमार यादवले बताए । ‘०७७/७८ मा सेवाग्राहीबाट राजस्वबापत विभिन्न शीर्षकमा गाउँपालिकाको लेखा शाखामा ५५ लाख २७ हजार ७७ रुपैयाँ संकलन भएको थियो । त्यसमध्ये ३४ लाख २३ हजार सात सय ९० रुपैयाँ हिनामिना भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत यादवले भने, ‘नासु यादवले स्थानीय तह आय लेखांकन प्रणाली सफ्टवेयरमार्फत संकलन भएको रकम हिनामिना गरेका हुन् ।’ 

नासु यादव स्वयंले पालिकाको खातामा जम्मा गर्नुपर्ने पैसा अन्यत्र खर्च गरेको स्विकारेका छन् । तर, आफूले गाउँपालिका अध्यक्ष जागेश्वर यादवले भनेअनुसार काम गरेको उनको दाबी छ । ‘गाउँपालिका अध्यक्षले मुद्दा–मामिलामा खर्च चाहिएको छ, पछि मिलाउँला भनेपछि विश्वासमा परेर दिएँ,’ नासु यादवले भने, ‘अहिले आएर म अप्ठेरोमा परेँ । कानुनी रूपमा मेरो नै गल्ती देखियो ।’ उनले चैत मसान्तसम्म उक्त पैसा गाउँपालिकाको राजस्व खातामा जम्मा गर्ने पनि बताएका छन् । 

अध्यक्ष यादवले भने कर्मचारीले आफूलाई फसाउन खोजेको आरोप लगाउँदै पैसा नलिएको दाबी गरेका छन् । ‘गाउँपालिकाका कोही कर्मचारीसँग मैले कुनै रकम लिएको छैन,’ उनले भने ‘कर्मचारी आफूले गरेको गल्तीको कारणले कानुनी कारबाहीबाट बच्न मलाई फसाउन खोजेका हुन् । यसबारे म पत्रकार सम्मेलन गरेर यथार्थ सार्वजनिक गर्छु ।’ 

तर, रकम हिनामिनाबारे एक वडाध्यक्षले कोष तथा लेखा नियन्त्रण कार्यालय सिराहालाई जानकारी गराएपछि गाउँपालिकाको खाता रोक्का गरिएकोमा गाउँपालिका अध्यक्ष स्वयं उपस्थित भएर तत्काल रकम जम्मा गर्ने प्रतिबद्धता गरेपछि पुनः सुचारु गरिएको स्रोतले बतायो । गाउँपालिकाले आफ्नो सम्पूर्ण आर्थिक कारोबार विष्णुपुरस्थित मेगा बैंकको शाखाबाट गर्दै आएको छ । 

जरिवानासहित ४२ लाख ७९ हजार दाखिला गर्नुपर्ने, ताकेता गर्दा अटेरी
हिनामिना गरिएको ३४ लाख २३ हजार सात सय ९० रुपैयाँ जरिवानासहित बुझाउन प्रशासनले ताकेता गरेको १० दिन बितिसक्दा पनि नासु महेन्द्र यादवले अटेर गर्दै आएका छन् । राजस्व रकम खातामा जम्मा नभएपछि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन ०७६ बमोजिम २५ प्रतिशतले हुन आउने आठ लाख ५५ हजार नौ सय ४७ रुपैयाँसमेत गरी ४२ लाख ७९ हजार तीन सय ३७ रुपैयाँ दाखिला गर्न १५ चैतमै पत्र काटिएको प्रमुख प्रशासकीय अधिकृत दीपकुमार यादवले बताए । 

जागेश्वर यादव, गाउँपालिका अध्यक्ष
गाउँपालिकाका कोही कर्मचारीसँग मैले कुनै रकम लिएको छैन । कर्मचारी आफूले गरेको गल्तीको कारणले कानुनी कारबाहीबाट बच्न मलाई फसाउन खोजेका हुन् । यसबारे पत्रकार सम्मेलन गरेर यथार्थ सार्वजनिक गर्छु । 

दीपकुमार यादव, प्रमुख प्रशासकीय अधिकृत
०७७/७८ मा सेवाग्राहीबाट राजस्वबापत विभिन्न शीर्षकमा गाउँपालिकाको लेखा शाखामा ५५ लाख २७ हजार ७७ रुपैयाँ संकलन भएको थियो । त्यसमध्ये ३४ लाख २३ हजार सात सय ९० रुपैयाँ हिनामिना भएको छ । नासु यादवले स्थानीय तह आय लेखांकन प्रणाली सफ्टवेयरमार्फत संकलन भएको उक्त रकम हिनामिना गरेका हुन् । १५ चैतमै जरिवानासहितको रकम दाखिला गर्न पत्र काटे पनि अहिलेसम्म खातामा आएको छैन । 

महेन्द्र यादव, नायब सुब्बा
गाउँपालिका अध्यक्ष जागेश्वर यादवले मुद्दा–मामिलामा खर्च चाहिएको छ, पछि मिलाउँला भनेपछि विश्वासमा परेर पैसा दिएँ । अहिले आएर अप्ठेरोमा परेँ । कानुनी रूपमा मेरो नै गल्ती देखियो । चैत मसान्तसम्म उक्त पैसा गाउँपालिकाको खातामा दाखिला गर्छु ।