१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७८ चैत २३ बुधबार ०८:१८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ठूला सरकारी अस्पतालमा कोभिडका उपकरण ‘ननकोभिड’मा प्रयोग

Read Time : > 1 मिनेट
२०७८ चैत २३ बुधबार ०८:१८:००

देशमा कोरोना महामारी कम भएसँगै अस्पतालहरूले ‘ननकोभिड’ सेवा विस्तार गरेका छन् । काठमाडौंका अस्पतालहरूमा छुट्याइएका आइसियू बेड, भेन्टिलेटर, जनरल बेडलगायत उपकरण ‘ननकोभिड’ बिरामीमा प्रयोग गर्न थालिएको छ । 

कान्ति बाल अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले कोभिडमा प्रयोग गरिएका उपकरण क्रमशः ‘ननकोभिड’मा प्रयोग गर्न थालिएको जानकारी दिए । ‘बिरामीहरू बढ्दै गएका छन्,’ उनले भने, ‘कोभिडको केस शून्य छ, त्यसैले विगतमा कोरोना संक्रमितका लागि भनेर छुट्याइएका स्वास्थ्य उपकरण अब ननकोभिडका लागि प्रयोग गरिएको छ ।’ कान्ति बाल अस्पतालमा हुने अव्यवस्थित भिड कम हुँदै गएको र चिकित्सक सेवा सहज बन्दै गएको छ । कोभिडको बहानामा कुनै पनि बिरामीले पाउने स्वास्थ्य सेवामा असहज नहोस् भनेर व्यवस्थापकीय सुधारमा जुटेको बसौलाले बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिडका बिरामी नभएपछि त्यसवेलाका सामग्री ‘ननकोभिड’ बिरामीमा प्रयोग गरेको छ । पाटन अस्पतालमा जेनेरल बेड २२३, एचडियू ७३, आइसियू २८ र भेन्टिलेटर १३ वटा छन् । 

शिक्षण अस्पतालका कोभिड चिकित्सक प्रा.डा.सन्तकुमार दास कोभिड संक्रमित घटेसँगै विगतमा कोभिडको उपचारमा प्रयोग गरिएका उपकरण डिस इन्फेक्सन गरी ‘ननकोभिड’ बिरामीलाई प्रयोग गर्न थालेको जानकारी दिए । दैनिक २५ सयसम्म बिरामी ओपिडीमा आउने शिक्षण अस्पतालमा कोभिड र ‘ननकोभिड’ बिरामी राख्ने रुम, प्रयोग गर्ने उपकरण छुट्टाछुट्टै छन् । तर, अब केही बेडबाहेक सबै उपकरण जनरल बिरामीलाई प्रयोग गर्न थालिएको डा.दासले बताए । 

त्रिवि शिक्षण अस्पतालमा कोभिडका लागि भनेर जेनेरल बेड १००, एचडियू ११५, आइसियू ४५ र भेन्टिलेटर ३० वटा प्रयोग गरिएको थियो । ‘अहिले कोरोनाका बिरामी नभएकाले अन्य बिरामीका लागि आइसियू, भेन्टिलेटर, जनरल बेड प्रयोग गरेका छौँ । यदि केस बढेमा पुनः प्रयोग गर्नेछौँ,’ उनले भने ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड बिरामीका लागि त्यहाँका सबै शड्ढया प्रयोग गरिएको थियो । अस्पतालमा जेनेरल बेड २६, एचडियू ५०, आइसियू २४ र भेन्टिलेटर २२ वटा थिए । अहिले यी सबै बेड ‘ननकोभिड’ बिरामीका लागि प्रयोगमा आएका छन् । अस्पतालका स्टोर प्रमुख प्रकाश शर्माका अनुसार विगतमा कोभिड बिरामी भर्ना गरिएका आइसियू बेडमा अहिले रेविजका बिरामी राखिएको छ । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा दुईजना कोरोना संक्रमित भर्ना भएका छन् । वीर अस्पतालले पनि कोरोनाका बिरामी कम भएपछि त्यसवेला काम गरेका जनशक्तिलाई ‘ननकोभिड’ वार्डमा लगाएको छ । तर, कोभिड वार्ड बन्द भने गरेको छैन । नयाँ सर्जिकल भवनमा कोरोनाको सेवा दिँदै आएको वीर अस्पतालले हाल रेडियोलोजी, ल्याब, शल्यचिकित्सा, क्रिटिकल केयरको सेवा दिन थालेको अस्पतालका निमित्त कार्यकारी अधिकारी प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले बताए । वीर अस्पतालमा जेनेरल बेड ७७, एचडियू ९५, आइसियू ५९ र भेन्टिलेटर ५० वटा कोभिडमा प्रयोग भएका थिए । अहिले धेरैजसो ‘ननकोभिड’मा प्रयोग हुन थालेको छ । 

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पनि ‘ननकोभिड’का बिरामी बढेका छन् । हाल कोभिडका बिरामी छैनन् । सशस्त्र प्रहरी अस्पतालमा जेनेरल बेड २५, एचडियू १५५, आइसियू २० र भेन्टिलेटर १२ वटा थिए । अस्पतालका चिकित्सक डा.प्रवीण नेपालका अनुसार कोभिडमा बिरामी नभए पनि भैपरी आउने जोखिमलाई मध्यनजर गर्दैै १० प्रतिशत शड्ढया भने सुरक्षित राखिएको छ । अन्य आइसियू, भेन्टिलेटर, एचडियू भने ‘ननकोभिड’मा प्रयोग भएको छ ।