१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सञ्चालनमा आयो चोभार सुक्खा बन्दरगाह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१८:oo
  •  घोषणा गरेको झन्डै एक दशक र निर्माण सुरु भएको तीन वर्षपछि चोभार सुक्खा बन्दरगाह प्रधानमन्त्रीले उद्घाटन गरे, अब भन्सार जाँचपास काठमाडौंमै 
  •  वीरगन्ज भन्सार, मेची भन्सार, विराटनगर भन्सार, भैरहवा भन्सार र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाबाट नेपाल प्रवेश गर्ने मालवस्तुको जाँचपास चोभारमा गर्न सकिने

घोषणा भएको करिब एक दशक र निर्माण सुरु भएपछिको तीन वर्षपछि काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सुक्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । यससँगै अब चोभार सुक्खा बन्दरगाहबाटै आयात–निर्यातका लागि भन्सार जाँचपासलगायतका काम गर्न सकिने भएको छ ।

भारतबाट वीरगन्ज नाका हुँदै आएका चारवटा कन्टेनरलाई स्वागत गर्दै प्रधानमन्त्रीले चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । उनले बन्दरगाहमा स्मारकको समेत अनावरण गरे । यससँगै नाकासँग नजोडिएको नेपालकै पहिलो सुक्खा बन्दरगाह सञ्चालनमा आएको हो । अब आयातकर्ताले आयात गरेर ल्याएका मालवस्तुको भन्सार जाँचपास काठमाडौंमै गर्न सक्ने भएका छन् । राजधानीमा निर्माण भएको बन्दरगाहले अब आयात–निर्यात व्यापारलाई सहजीकरण गर्ने र व्यापार लागत घटाउने प्रधानमन्त्रीले बताए । अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, व्यवस्थापन र लागत न्यूनीकरणमा चोभार बन्दरगाह कोसेढुंगा हुने उनले बताए । 

‘भूपरिवेष्ठित मुलुक नेपालको आयात–निर्यात व्यापारलाई सहजीकरण गर्न सुक्खा बन्दरगाहको महŒवपूर्ण भूमिका हुन्छ,’ उनले भने, ‘यस्ता पूर्वाधारले प्रतिस्पर्धी क्षमतासमेत बढाउँछ, अब भन्सार जाँचपासलगायत आयात–निर्यातका काम काठमाडौंमै हुने भएपछि व्यापार लागत घट्नेछ ।’ मुलुकको व्यापारलाई दिगो र सन्तुलित बनाउनुपर्नेमा उनले जोड दिए । अहिलेलाई वीरगन्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाबाट नेपाल प्रवेश गर्ने मालवस्तुको जाँचपास चोभारमा गर्न सकिनेछ । अन्य भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तुलाई यस्तो सुविधा दिन आवश्यक देखिएमा भन्सार विभागको महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यालय तोक्न सक्ने व्यवस्था गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अब समुद्रबाट सीधै कन्टेनर चोभारमा ल्याएर जाँचपास गर्न सकिने बताए । यसबाट लागत र समयका दृष्टिकोणले थप उपलब्धि हासिल हुने उनले बताए । त्यस्तै, निर्माणमा बढी जोड दिन उनले आग्रह गरे । 

 दशकौँ प्रयासपछि बल्ल बन्यो ढिला गरी सञ्चालनमा आयो
चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउने प्रक्रिया करिब एक दशकअघि नै सुरु भएको थियो । नेपाल र विश्व बैंकबीच जेठ २०७० (जुन २०१३) मा चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि वित्तीय सम्झौता भएको थियो । त्यसपछि आर्थिक वर्ष ०७०/७१ को बजेटले चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक जमिनको व्यवस्था गर्न बजेट छुट्याउने घोषणा गरेको थियो ।

त्यसको करिब पाँच वर्षपछि साउन ०७५ मा नेपाल इन्टरमोडल यातायात विकास समिति र ठेकेदार कम्पनी सांसी–आशिष जेभीबीच १८ महिनाभित्र काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । चोभारमा निर्माण भएको यस बन्दरगाहको शिलान्यास ३ माघ ०७५ मा भएको थियो । स्थानीय अवरोध, कोभिडको प्रभावलगायत कारणले बन्दरगाह निर्माणमा ढिलाइ भएको इन्टरमोडलले जनाएको छ । तेस्रोपटकको म्याद थपपछि गएको असारमा बन्दरगाहको निर्माण कार्य सम्पन्न भएको हो । तर, निर्माण सम्पन्न भएको करिब नौ महिनापछि बल्ल सञ्चालनमा आएको हो । 

 कस्तो छ चोभारको सुक्खा बन्दरगाह
विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको चोभार सुक्खा बन्दरगाहको कुल लागत एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ । करिब दुई सय ६० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा भन्सार, क्वारेन्टिन, बैंकलगायत निकायको उपस्थिति रहेको छ । बन्दरगाहमा लोड–अनलोड भवन तीनवटा, गोदाम घर तीनवटा, प्रशासनिक भवन तीनवटा, एप्राइजल सेड तीनवटा, धर्मकाँटा तीनवटा, कन्टेनर यार्ड, विद्युत् सबस्टेसन, बाउन्ड्री लाइट, अन्य सवारी पार्किङलगायतका संरचना रहेका छन् ।

बन्दरगाहको कन्टेनर यार्डमा पाँच सयवटा कन्टेनर र पाँच सयवटा ट्रक राख्न मिल्ने ६५ हजार वर्गमिटर पार्किङ क्षेत्र रहेको छ । बन्दरगाह सञ्चालनमा आएसँगै अब नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा योगदान मिल्ने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘बन्दरगाह सञ्चालनले देशमा बढ्दो व्यापार घाटालाई कम गर्न निर्यात प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छौँ,’ उनले भने ।

निर्यातगृह र चिस्यान केन्द्र राख्न निजी क्षेत्रको माग
काठमाडौंमै निर्माण भएको सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि निजी क्षेत्र उत्साहित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग–व्यवसायको क्षेत्रमा कोसेढुंगा बन्ने बताए । यस बन्दरगाहलाई द्रुतमार्ग र रेलमार्गमा जोड्नुपर्ने उनले बताए । नेपाल चम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चोभार सुक्खा बन्दरगाहमा निर्यातगृह र चिस्यान केन्द्र बनाउनुपर्नेमा जोड दिए । यसले आयात–निर्यातमा सेतुको काम गर्ने उनले बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अब चोभारमै सहज रूपमा भन्सार जाँचपास गर्न दिनुपर्ने बताए । उनले सामान आयात–निर्यातमा सहजीकरण गरिनुपर्नेसमेत बताए । 

ad
ad