१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २२ मंगलबार ०६:२६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भन्सार एजेन्टको परीक्षा १७ वैशाखमा

अदालतले परीक्षा रोक्ने अल्पकालीन आदेश खारेज गरेपछि भन्सार विभागले परीक्षाको मिति सार्वजनिक गर्‍यो, ६ सय ६० भन्सार एजेन्टका लागि साढे नौ हजार उम्मेदवार भिड्दै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २२ मंगलबार ०६:२६:००

भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा १७ वैशाखमा गर्ने भएको छ । विभागले आइतबार सूचना जारी गर्दै भन्सार एजेन्ट नियुक्तिका लागि गरिने परीक्षाको नयाँ मिति तोकेको हो । पाटन उच्च अदालतले यसअघि परीक्षा स्थगन गर्न दिएको अल्पकालीन आदेश खारेज गरेपछि विभागले पुनः परीक्षाका लागि सूचना प्रकाशन गरेको हो ।

यसअघि विभागले २८ फागुनका लागि तय गरेको परीक्षा पाटन उच्च अदालतले अल्पकालीन आदेश दिँदै स्थगन गरेको थियो । विभागले जारी गरेको ‘परीक्षासम्बन्धी सूचना’ समावेशी नभएको भन्दै पाटन उच्च अदालतमा मुद्दा परेको थियो । पाटन उच्च अदालतले दुवै पक्षबीच छलफल गर्नुपर्ने भन्दै २६ फागुनमा परीक्षा रोक्न अल्पकालीन आदेश दिएको थियो । अदालतले १३ चैतको सुनुवाइमा अल्पकालीन आदेशलाई निरन्तरता नदिने तथा परीक्षा रोक्न अन्तरिम आदेश जारी गर्नुनपर्ने भनेपछि  विभागलाई एजेन्टको परीक्षा गर्ने बाटो खुलेको हो ।

‘उच्च अदालत पाटनको २६ फागुनको अल्पकालीन अन्तरिम आदेशका कारण २७ फागुनको सूचनाबाट भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरिएको थियो,’ विभागको सूचनामा उल्लेख छ, ‘अदालतको १३ चैतको सुनुवाइबाट उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिई अन्तरिम आदेश जारी नगर्ने भएकाले पूर्वप्रकाशित सूचनाबमोजिमको लिखित परीक्षा १७ वैशाख ०७९ मा गरिने भएको छ ।’

अघिल्लो वर्ष नै दरखास्त माग गरिएको भए पनि कोभिडको प्रभावलगायत कारण भन्सार एजेन्टको परीक्षा सञ्चालन हुन सकेको थिएन । भन्सार एजेन्टकको नियुक्तिका लागि दरखास्त हालेका उम्मेदवारले परीक्षा अविलम्ब गर्न दबाब दिँदै आएका थिए । अदालतले बाटो खुलाइदिएका कारण अब भने परीक्षा तोकिएकै मितिमा हुने विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए ।  ‘यअसघि कोभिड महामारीका कारण परीक्षा हुन सकेको थिएन, जब हामीले २८ फागुनमा परीक्षा गर्ने मिति तोक्यौँ, त्यसविरुद्ध अदालतमा मुद्दा पर्‍यो,’ उनले भने, ‘अदालतले परीक्षा स्थगन गर्न दिएका अल्पकालीन आदेश खारेज भएपछि परीक्षा गर्न बाटो खुलेको हो, अब परीक्षा रोकिँदैन, तोकिएकै मितिमा हुन्छ ।’

 परीक्षामा साढे नौ हजार सहभागी हुने 
विभागले गएको वर्ष फागुनमा सूचना प्रकाशित गर्दै ६ सय ६० जना भन्सार एजेन्टका लागि दरखास्त माग गरेको थियो । तोकिएको योग्यता पुगेका नागरिकले भन्सार एजेन्टमा नियुक्तिका लागि दरखास्त दिन आह्वान गरिएको थियो । भन्सार एजेन्टमा नियुक्तिका लागि करिब नौ हजार पाँच सयजनाले दरखास्त दिएका छन् । ‘प्रतिस्पर्धी साढे नौ हजार उम्मेदवारमध्येबाट लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट ६ सय ६० जनालाई भन्सार एजेन्टका रूपमा नियुक्ति दिइनेछ,’ उनले भने । विभागले काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन गर्नेछ । ४० देखि ५० वटा सेन्टरमा परीक्षा लिइनेछ ।

 दुई दशकपछि एजेन्ट नियुक्ति गरिँदै
विभागले करिब दुई दशकपछि सरकारले भन्सार एजेन्ट नियुक्ति गर्ने तयारी गरेको छ । ०५७ सालमा ५६ वटा एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति गरिएको थिएन । दुई दशकदेखि भन्सार एजेन्ट नियुक्ति नहुँदा अन्तर्राष्ट्रिय व्यापारमा समस्या देखिएका थिए । व्यवसायीले चाहेका वेला भन्सार एजेन्ट नपाउने, समयमै मालवस्तु पास नहुने, एजेन्टले गुणस्तरीय काम नगर्ने, महँगो सेवाशुल्क लिने, तौलअनुसार शुल्क निर्धारण गर्ने तथा सिन्डिकेट गर्नेलगायतका समस्या देखिएको व्यवसायी तथा कर्मचारीहरूले गुनासो गर्दै आएका थिए । बढ्दो अन्तर्राष्ट्रिय व्यापार, थपिएका भन्सार नाका तथा निष्क्रिय भन्सार एजेन्टलाई समेत मूल्यांकन गरेर भन्सार एजेन्ट थप गर्ने प्रक्रिया अघि बढाएको विभागले जनाएको छ । सरकारले हालसम्म चार सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ । तर, करिब दुईतिहाइ एजेन्ट निष्क्रिय छन् । चालू आर्थिक वर्षमा एक सय ७२ भन्सार एजेन्टले अनुमतिपत्र नवीकरण गरेका छन् । 

 को हुन् भन्सार एजेन्ट ?
निकासी–पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी–पैठारीकर्ताले भन्सार एजेन्ट राख्न सक्छन् । भन्सार एजेन्टलाई आयात–निर्यात हुने मालवस्तुको धनीसरह समेत मानिने गरिन्छ । तर, भन्सार एजेन्ट बन्न भने विभाग वा कार्यालयबाट अनुमतिपत्र लिनुपर्छ । विभागले समय–समयमा सार्वजनिक सूचना प्रकाशनमार्फत दरखास्त मागेर लिखित र अन्तर्वार्ताका माध्यमबाट भन्सार एजेन्टको इजाजतपत्र दिन सक्ने भन्सार ऐन, २०६४ (२०७६ दसौँ संशोधन)को व्यवस्था छ । सोही व्यवस्थाअनुसार विभागले एजेन्ट नियुक्ति प्रक्रिया अघि बढाएको हो । नाका र व्यापार बढेअनुसार भन्सार एजेन्ट नियुक्ति नहुँदा त्यसको स्वाभाविक असर भन्सार जाँचपासमा देखिने गरेको छ । अहिले एक सय ७० जना एजेन्ट र तिनका तीन सय ५० हाराहारी प्रतिनिधिले भन्सारमा सहजीकरण गरिरहेको भन्सार एजेन्ट महासंघ नेपालले जनाएको छ ।