मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विजयराज खनाल काठमाडाैं
२०७८ चैत २० आइतबार ०७:४१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतको रुपे कार्ड नेपालमा पनि चल्ने  

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडाैं
२०७८ चैत २० आइतबार ०७:४१:००

नेपालमा पनि भारतको रुपे कार्ड सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार भएको विभिन्न सम्झौतामा नेपालमा पनि रुपे कार्ड सञ्चालन गर्ने सहमति भएको हो । अब भारतीयहरूले नेपालमा एटिएम मेसिनबाट रकम झिक्न तथा पस मेसिनबाट भुक्तानीसमेत गर्न सक्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी विभागका प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिए । ‘करिब एक साताअघि हामीले भारतीयहरूलाई ननकार्ड प्रयोगका लागि अनुमति दिएका थियौँ,’ उनले भने, ‘अर्थात्, यसले वालेट र क्युआर कोडका माध्यमबाट भुक्तानी गर्न सकिन्थ्यो, अब रुपे कार्डको प्रयोग गरेर भारतीयहरूले यहाँका एटिएम मेसिनबाट रकम झिक्न र पस मेसिनबाट समेत भुक्तानी दिन सक्नेछन् ।’ 

हाललाई पहिलो चरणमा नेपाल एसबिआई बैंकका एटिएम र यस बैंकले सञ्चालनमा ल्याएका पस मेसिनहरूमा यस्तो कार्ड प्रयोग गर्न सकिनेछ । भारतको नेसनल पेमेन्ट कर्पाेरेसन अफ इन्डिया (एनपिसिआई)ले जारी गरेको रुपे कार्ड करिब ६० प्रतिशत भारतीयले प्रयोग गरिरहेका छन् । यस्ता कार्ड प्रयोग गर्ने भारतीय पर्यटकहरूलाई नेपाल भ्रमणमा आउँदा कागजी नगद बोकेर आउनुपर्ने अवस्था हुनेछैन । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा भारतीय रुपैयाँ प्रचलनमा छ । कागजी नोटबाट हुनेभन्दा यसरी डिजिटल प्रणालीबाट हुने कारोबार पारदर्शीसमेत हुने उनको भनाइ छ । हाल भारतबाट पर्यटकका रूपमा हवाई माध्यमबाट वार्षिक दुई लाख ५४ हजारसम्म मानिसहरू नेपाल भ्रमणमा आउने गरेको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । 

सरकारी तहबाटै सुरुवात गरिएको यस रुपे कार्ड कालान्तरमा इन्टरअपरेबलसमेत हुने देखिन्छ । अर्थात्, यहाँका अन्य बैंक तथा वित्तीय संस्थाका एटिएम र पस मेसिनमा समेत यसको प्रयोग गर्ने अवस्था बन्नेछ भने नेपाली बैंकहरूले भिसा जस्तै गरेर रुपे नेटवर्कमा आधारित रहेर पनि कार्ड जारी गर्न सक्ने सम्भावना हुनेछ । 

‘सरकारले प्राथमिकतामा राखेको कार्यक्रम भएकाले यो इन्टरअपरेबल हुनेछ भन्ने नै हो,’ सानिमा बैंकका आइटी विभाग प्रमुख विक्रम श्रेष्ठले भने, ‘त्यसबाहेक यहाँका भुक्तानी प्रदायक संस्था र फिनटेक कम्पनीहरूमार्फत नेपाली बैंकहरूले पनि रुपे नेटवर्कमा आधारित कार्ड जारी गर्न सक्नेछन्, यसले भारत जाने नेपालीले समेत भारुको सट्टामा कार्ड लिएर गए पुग्ने अवस्था बन्नेछ ।’

हाल नेपाली बैंकहरूले भिसा, मास्टर, युनियन पेलगायतका नेटवर्कमा आधारित कार्डहरू जारी गरिरहेका छन् । यसले तुलनात्मक रूपमा कार्ड प्रयोग गर्दा हुने खर्चमा समेत कमी आउने अनुमान गरिएको छ । एउटै नेटवर्कमा आधारित कार्ड जारी गरेका अलग–अलग बैंकको कार्ड एक–अर्काको एटिएम मेसिनमा प्रयोग गर्दा पनि हाल प्रतिकारोबार १० रुपैयाँसम्म बाहिरिने गरेको छ । 

केही समयअघि पनि भुक्तानी सेवाप्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी)ले भारतको एनपिसिआईसँग रुपे कार्डसमेत आफ्नो नेटवर्कमा चलाउने छलफल चलाएको थियो । 

‘एनपिसिआईसँग पहिले एक चरण वार्ता भएको थियो,’ एसटिसीका सपोर्ट सदस्य रोशन कायस्थले भने, ‘तर, अहिले यसमा के भइरहेको छ, जानकारी भएन ।’ एससिटीले युनियन पेअन्तर्गतका कार्डहरू आफ्नो नेटवर्कमार्फत चलाइरहेको छ ।