मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत १९ शनिबार
  • Saturday, 12 July, 2025
२o७८ चैत १९ शनिबार २o:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चेपाङ बस्तीका अधिकांश किशोरी आमा

प्रजनन् स्वास्थ्यबारे बेखबर चेपाङ बस्तीका महिला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १९ शनिबार २o:o३:oo

प्रजनन् स्वास्थ्यसँगै शिक्षा र चेतनाको कमीले लमजुङको बेँसीसहर नगरपालिका- ११ चिती बरबाेटफाँटमा रहेको चेपाङ बस्तीमा कलिलै उमेरमा विवाह गर्ने क्रम अझै हट्न सकेको छैन । यहाँका अधिकांश किशोर–किशोरीले चाँडै विवाह गर्ने गरेका छन् । बेँसीसहर नगरपालिका- ११ चिती बरबोटफाँटमा रहेका चेपाङ बस्तीका अधिकांश युवती कलिलै उमेरमा आमा बन्न बाध्य छन् ।

चेपाङ गाउँकी अमृता चेपाङले गाउँका बालिकाहरू १३–१४ वर्षदेखि नै आमा बन्ने गरेको बताइन् । यहाँका किशोर–किशोरी कसैले अभिभावकको सहमति र कसैले भागेर सानैमा विवाह गर्ने गरेका छन् । ‘अभिभावक र बालबालिकामा पढ्नुपर्छ भन्ने चेतना छैन । शिक्षाको पहुँच बढाउन धेरै कोसिस गर्दासमेत सकेका छैनौँ,’ अमृताले भनिन्, ‘बाउबाजेको पालादेखि पढ्न जाने चलन थिएन, घरबाट पढ्न पठायो, बालबालिका अन्तै जान्छन् ।’ 

बालबालिकाले स्कुल जान जाँगर नगर्दा अभिभावकले पनि धेरै जोड नगर्ने उनले बताइन् । उनले पछिल्लो समय भने बालबालिका विद्यालय जाने गरेकाे बताइन् । बरबोटमा चेपाङहरूका १२ घर छन्। विशेष गरी गाउँका १५ देखि १६ वर्षको उमेरमा सबै किशोरीले बच्चा जन्माउने गरेको स्थानीय कल्पना चेपाङ बताउँछिन् । ‘गाउँमा १६ वर्ष कटेका किशोरी भेट्नै मुस्किल पर्छ । ‘पहिला जमाना त्यस्तै थियो । सानै उमेरमा विवाह हुन्थ्यो,’ उनले भनिन्, ‘आर्थिक अवस्था कमजोरकै कारण चेपाङका किशोरीहरू सानैमा बिहे गरेर घरजम सुरु गर्छन् ।’ उनले चेपाङ बस्तीमा प्रजनन् स्वास्थ्यसम्बन्धी कुनै कार्यक्रम नभएको बताइन् । 

चेपाङ समुदायमा एकै जोडीका ७ जना सन्तान छन् ।  बरबोटका ४६ वर्षीय तिलकबहादुर चेपाङका ८ सन्तान छन् । उनकी छोरीले १५ वर्षमा बिहे गरिन् । हाल नाति र नातिनीसमेत छन् । ‘आफूले पनि सानै उमेरमा विवाह गरियो, छोराछोरी पनि धेरै छन् । परिवार चलाउन समस्या छ,’ तिलकले भने । उनी त एक उदाहरणीय पात्र मात्र हुन् चेपाङ गाउँकी स्थानीय ६७ वर्षीय दिलमाया चेपाङका पनि ६ सन्तान छन् । सानै उमेरमा सन्तान जन्माएकी उनले बच्चाको रेखदेख गर्न गाह्रो भएको गुनासो गरिन् । ‘छोराछोरीलाई पढ्नका लागि मास्टरले धेरै अनुरोध गर्नुहुन्थ्यो तर हाम्रो ध्यान पढाइतिर कहिल्यै गएन,’ उनले भनिन्, ‘तर अहिले छोराछोरीलाई नपढाउँदा पछुतो लागेको छ ।’ 

चेपाङ गाउँमा शिक्षासँगै स्वास्थ्य चेतनाको पनि अभाव छ। स्वास्थ्यसम्बन्धी जनचेतनाको अभावले उनीहरूले स्थायी बन्ध्याकरण नगर्ने, अस्थायी साधनको प्रयोग नगर्ने कारणले पनि कलिलै उमेरमा आमा र धेरै सन्तान जन्माउने गरेका छन् । बेँसीसहर नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारीले चेपाङ गाउँमा सानैमा विवाह गर्ने चलन विकृतिको रूपमा रहेको बताइन् । उनले भनिन्, ‘नगरपालिकाले चेपाङ बस्तीमा प्रजनन् स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भने तापनि कुनै कार्यक्रम सञ्चालन प्राविधिक कारणले हुन नसकेको बताइन् । स्थानीय सरकारले चेपाङ बस्तीमा लक्षित वर्गका लागि रकम छुट्याए पनि चेपाङ बस्तीमा प्रजनन् स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम सञ्चालन नभएको स्थानीय चेपाङ अगुवा अमृता चेपाङ बताउँछिन् ।