१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँदिल्लीको ‘सिक्स ए पण्डित दीनदयाल उपाध्याय मार्ग’ स्थित भाजपा मुख्यालयमा प्रधानमन्त्री देउवासहितको टोली । तस्बिर : रासस
पर्शुराम काफ्ले नयाँदिल्ली
२०७८ चैत १९ शनिबार ०६:४५:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री देउवा दिल्लीमा : मोदीसँग द्विपक्षीय वार्ता आज

Read Time : > 4 मिनेट
पर्शुराम काफ्ले, नयाँदिल्ली
२०७८ चैत १९ शनिबार ०६:४५:००

दिल्ली पुगेलगत्तै प्रधानमन्त्री देउवासँग विदेशमन्त्री एस जयशंकरले गरे भेट, मोदीसँग हुने द्विपक्षीय भेटवार्ताका एजेन्डाबारे ब्रिफिङ

चार मन्त्री र आठ सचिवसहित ३१ सदस्यीय प्रतिनिधिमण्डल, ११ उद्योगी–व्यवसायी पनि सरकारी टोलीमा

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली आइपुगेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दिल्ली आएका उनको ३३ सदस्यीय प्रतिनिधिमण्डलमा चार मन्त्री र आठ सचिव पनि छन् । यसबाहेक सातजना सुरक्षाकर्मी र ११ सदस्यीय व्यापारिक समूह पनि प्रधानमन्त्रीसँगै दिल्ली आइपुगेका छन् । 

भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेलगत्तै प्रधानमन्त्री देउवालाई आइसिटी मौर्य होटेलमा विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री देउवा र मोदीबीच शनिबार हुने दुई चरणको भेटवार्ताका एजेन्डा र नेपाल–भारत सम्बन्धबारे विदेशमन्त्री जयशंकरले ब्रिफिङ गरेका छन् । उनले प्रधानमन्त्री देउवासँग करिब आधा घन्टा भेटेका थिए । 

भेटमा सहभागी एक अधिकारीका अनुसार देउवा नेतृत्वको सरकारसँग भारतले निकट भएर काम गर्न चाहेको जयशंकरको भनाइ थियो । देउवाको नेतृत्वमा नेपालमा निर्वाचन हुने र आर्थिक विकास एवं समृद्धि हासिल हुने विश्वास पनि जयशंकरले व्यक्त गरेका थिए । भेटवार्तापछि नेपाली भाषामा ट्विट गर्दै जयशंकरले भनेका छन्, ‘यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु ।’

प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा शनिबार दुई चरणको वार्ता हुँदै छ । हैदराबाद हाउसको नीलगिरी कक्षमा सवा ११ बजेदेखि पौने १२ बजेसम्म देउवा र मोदीबीच सानो समूहमा वार्ता हुने छ । त्यसपछि पौने १२ बजेदेखि सवा १२ बजेसम्म उच्चस्तरीय प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यसूची छ । वार्तापछि दुवै प्रधानमन्त्रीले चार परियोजना उद्घाटन गर्ने र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । 

आइतबार प्रधानमन्त्री देउवा बिहान बनारस जाने कार्यक्रम छ । उनले कासी विश्वनाथ मन्दिर, साम्राजेश्वर पशुपतिनाथ महादेव मन्दिर र कालभैरव मन्दिर दर्शन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले ललिताघाटस्थित वृद्धाश्रमको शिलान्यास गर्नेछन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्रीलाई स्वागत गर्ने र उनको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । आइतबार उत्तर प्रदेशबाट दिल्ली फर्केपछि प्रधानमन्त्री देउवा साँझ स्वदेश फिर्ता हुनेछन् । 

भ्रमणमा को–को छन् ? 
प्रधानमन्त्री देउवा र पत्नी डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, कृषिमन्त्री महेन्द्र यादव भ्रमण दलमा छन् । यसबाहेक परराष्ट्रसचिव भरतराज पौड्याल, मुख्यसचिव शंकरदास बैरागी, प्रमुख स्वकीय सचिव भानुबहादुर देउवा, ऊर्जासचिव देवेन्द्र कार्की, भौतिक पूर्वाधारसचिव रवीन्द्रनाथ श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्तिसचिव गणेशप्रसाद पाण्डेय, स्वास्थ्यसचिव डा. रोशन पोखरेल र कृषिसचिव डा. गोविन्दप्रसाद शर्मा पनि भ्रमण दलमा छन् ।

यसैगरी प्रधानमन्त्रीको भ्रमण दलमा उनका स्वकीय सचिव प्रकाश देउवा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल आयल कर्पोरेसनका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. रामपदार्थ बिछा, प्रधानमन्त्रीका निजी चिकित्सक डा. शैल रूपाखेती, प्रमुख शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, उपशिष्टाचार महापाल रेवतीरमण पौडेल, परराष्ट्रका सहसचिव तीर्थराज वाग्ले, उपसचिव सुभांग पराजुली, प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियार, प्रधानमन्त्री कार्यालयका उपसचिव जनकराज भट्ट, परराष्ट्रका उपसचिव लोकबहादुर पौडेल क्षेत्री, लगानी बोर्डका उपसचिव रमेश अधिकारी र नेपाल विद्युत् प्राधिकरणका प्रबल अधिकारी र अनिता सिंह छन् ।
 
उद्योगी–व्यवसायी पनि दिल्लीमा
प्रधानमन्त्रीको भ्रमणमा ११ जना उद्योगी–व्यवसायी दिल्ली आएका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, सदस्य भरत आचार्य, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल–भारत चेम्बर अफ कमर्सका उपाध्यक्ष सुनील केसी, साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, युनियन अफ नेपाल इन्डस्ट्री एन्ड कमर्सका महासचिव रामजीप्रसाद बराल, इपानका गणेश कार्की, उद्योगी महेश जाजु र जितेन्द्र श्रेष्ठ छन् । 

दिल्ली पुगेपछि प्रधानमन्त्रीले भने–दुई देशको सम्बन्ध थप मजबुत हुन्छ 

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने बताएका छन् । शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने द्विपक्षीय भेटवार्तामा नयाँ सम्झौतापत्रको आदानप्रदान हुनेसमेत उनको भनाइ छ ।

‘यो भ्रमणले नेपाल र भारतको सम्बन्धमा थप उचाइ हासिल गर्ने विश्वास लिएको छु,’ शुक्रबार साँझ नेपाली दूतावासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने । दुई देशको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउनु र द्विपक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्नु भ्रमणको उद्देश्य रहेको उनले बताए । प्रधानमन्त्री देउवाले ऊर्जा, कृषि, स्वास्थ्य र यातायातका क्षेत्रमा महŒवपूर्ण घोषणा पनि हुने जानकारी दिए । केही नयाँ सम्झौतापत्रको पनि आदानप्रदान हुने उनको भनाइ थियो ।

अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले निर्वाचन गर्ने दायित्व आफ्नो हातमा आएको उल्लेख गर्दै समयमै सबै निर्वाचन सम्पन्न हुने बताए । ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने र एक वर्षभित्र तीनै तहको निर्वाचन गराउने उनको भनाइ छ ।

विपक्षी दलका नेताहरू भेट्ने कार्यसूची छैन, तर सत्तारूढ भाजपाको मुख्यालय भने ‘प्रोटोकलविपरीत’ पुगे

औपचारिक भ्रमणमा भारत आएका प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यतालिकामा विपक्षी दलका नेताहरूलाई भेट्ने कार्यक्रम छैन । तर, नयाँदिल्ली पुगेकै दिन उनी सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालयमै पुगेका छन् । प्रधानमन्त्री देउवाले भाजपा मुख्यालय भ्रमण गरेको विषयलाई दिल्लीमा चासोपूर्वक हेरिएको छ । नेपालमा भने सम्बन्ध सुधारका नाममा ‘प्रोटोकलविपरीत’ प्रधानमन्त्री भाजपा मुख्यालय पुगेको भनेर आलोचना पनि भइरहेको छ । 

यसअघि औपचारिक भ्रमणमा भारत आउने नेपाली प्रधानमन्त्रीले कुनै दलको मुख्यालयको भ्रमण गर्ने चलन थिएन, बरु सत्तारूढ दलकै शीर्ष नेताले नेपाली प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने चलन हुन्थ्यो । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा जानु परराष्ट्रको प्रोटोकलअनुसार नभएको बताए ।

‘अहिलेसम्मको परम्परामा यस्तो थिएन । यसलाई परराष्ट्रको प्रोटोकलअनुसार छ भनेर पनि भन्न सकिँदैन । पहिले–पहिले उहाँहरूको सुविधाअनुसार बसेकै ठाउँमा व्यक्तिगत वा सामूहिक भेटघाट गराउँथ्यौँ । आफैँ जाने भन्नेचाहिँ हुँदैन थियो,’ उपाध्यायले भने । भारतका लागि अर्का पूर्वराजदूत लोकराज बरालले पनि औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री एउटा खास पार्टीको कार्यालयमा जानु प्रक्रियागत रूपमा नमिलेको बताए । 

प्रधानमन्त्री देउवा अपराह्न नेपाली राजदूतावासको स्वागत समारोहमा सहभागी हुनुअघि भाजपा कार्यालय पुगेका थिए, जहाँ भाजपा अध्यक्ष जेपी नड्डा, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतले प्रधानमन्त्री देउवासहित प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा र भाजपा अध्यक्ष नड्डाबीच मुख्यालयमा बेग्लै छलफल पनि भएको छ, जहाँ दुई पार्टीबीच सम्बन्ध थप सुदृढ बनाउने सहमति भएको छ । नड्डाले कांग्रेससँग भाजपाको पुरानो सम्बन्ध रहेको र देउवा भाजपाका पुराना मित्र रहेको भन्दै प्रशंसा गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए । 

प्रधानमन्त्री देउवाले द्विपक्षीय नियमित एजेन्डाभन्दा पनि यसपटकको भारत भ्रमणमा कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राखेका कारण उनी भाजपा मुख्यालय भ्रमणमा गएको टिप्पणी दिल्लीमा छ । भाजपा विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेका अनुसार नड्डाले देउवालाई भाजपा कार्यालय भ्रमणका लागि निमन्त्रणा दिएका थिए । 

भारतीय सैन्य विश्लेषक एवं सेनाका पूर्वउपरथी अशोक मेहताले नयाँदिल्लीले यसपटक कांग्रेसलाई उच्च प्राथमिकतामा राखेको टिप्पणी गरे । ‘नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीका रूपमा र त्यसको नेताका रूपमा प्रधानमन्त्री देउवालाई भारतले स्वागत गर्दै छ । तर, भारतले एमालेको महत्वलाई पनि कम आकलन गर्नुहुँदैन भन्ने मलाई लाग्छ,’ मेहताले भने । 

कांग्रेसका एक नेताले भने देउवाको भाजपा कार्यालय ‘सिक्स ए पण्डित दीनदयाल उपाध्याय मार्ग’ भ्रमण प्रधानमन्त्रीका रूपमा भन्दा पनि कांग्रेस सभापतिका रूपमा भएको टिप्पणी गरे ।

चुनावको मुखमा भारत भ्रमणमा गएकोमा ओलीको असन्तुष्टि
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वानको पूर्वसन्ध्यामा भारत भ्रमण गरेकोमा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा पूर्वप्रधामन्त्री केपी ओलीले असन्तुष्टि जनाएका छन् । नियुक्त भएको साढे आठ महिनासम्म नगरेको भ्रमण अहिले गरेकोमा उनको प्रश्न छ । ‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ, ठ्याक्कै चुनावअगाडि किन जानुभयो कुन्नि ?,’ अनेरास्ववियुको भेलालाई शुक्रबार सम्बोधन गर्दै ओलीले भने, ‘यति समय किन जानुभएन, यतिखेरै किन जानुभयो, यही समयमा किन जानुभयो भनेर आएपछि सोध्नुपर्ला ।’ 

देउवा–मोदीले संयुक्त रूपमा आज उद्घाटन गर्दै छन् चार परियोजना
१. भारतीय सहयोगमा निर्मित नेपालको  कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन तथा रेल सञ्चालन शुभारम्भ
२.  भूकम्पपछि पुनर्निर्माण भएका १३२ स्वास्थ्यचौकीको प्रगति अवलोकन र उद्घाटन
३. भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन तथा नेपाल सरकारलाई हस्तान्तरण 
४.  नेपाल र भारतबीच रूपी कार्ड सञ्चालन शुभारम्भ