मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
 नेपालगन्जस्थित होटेल सोल्टीमा एमाले अध्यक्ष केपी ओली र राप्रपा महामन्त्री धवलशमशेर राणा छलफल गर्दै ।
२०७८ चैत १९ शनिबार ०६:०८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेले थाल्यो विपक्षी गठबन्धनको तयारी

Read Time : > 2 मिनेट
२०७८ चैत १९ शनिबार ०६:०८:००

ओलीले राखे राप्रपा महामन्त्री राणासँग तीनै तहमा तालमेलको प्रस्ताव 

सत्तासाझेदार पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि दबाबमा आएको एमालेले विपक्षी गठबन्धनको तयारी थालेको छ । पाँचदलीय गठबन्धनले तालमेल गरेर जाने निर्णय लिएकै दिन प्रमुख प्रतिपक्षी दल एमालेले राप्रपासँग तालमेलका लागि प्रस्ताव गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीले बिहीबार नेपालगन्जस्थित होटेल सोल्टीमा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणासँग चुनावी तालमेलको प्रस्ताव राखेका हुन् । कर्णालीका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्कने क्रममा नेपालगन्जमा रहँदा ओलीले राणासँग डेढ घन्टा छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीले दुई पार्टीबीच तीनै तह (स्थानीय, प्रदेश र संघीय)को चुनावमा सहकार्य गरेर जान प्रस्ताव गरेको राणाले बताए ।

‘एमाले बाँकेका नेताहरूमार्फत अध्यक्ष ओलीले मलाई भेट्न बोलाउनुभयो । होटेल सोल्टीमा हामी दुईबीच डेढ घन्टाजति छलफल भयो,’ नेपालगन्ज नगरप्रमुखसमेत रहेका राणाले नयाँ पत्रिकासँग भने, ‘उहाँले स्थानीय तहमा मात्र नभई प्रदेश र संघीय निर्वाचनमा समेत तालमेल गरेर जान प्रस्ताव राख्नुभयो । दुवै पार्टीबाट निर्णय गरेर छलफललाई निष्कर्षमा पुर्‍याउने समझदारी बनेको छ । त्यसअनुसार अब हामी हाम्रो पार्टीभित्र छलफल गर्नेछौँ ।’ 

सत्तासाझेदार दलले चुनावी तालमेलको तयारी गरेकाले विपक्षी दलहरूले पनि गठबन्धन बनाउनुपर्छ भन्नेमा समझदारी बनेको उनको भनाइ छ । राणाले ओलीसँगको छलफललाई चुनावी तालमेलको पहिलो चरणको छलफलको संज्ञा दिएका छन् । यस विषयमा राप्रपाले छिट्टै आधिकारिक निर्णय सार्वजनिक गर्ने उनले बताए ।

नेपालगन्जको होटेल सोल्टीमा बोलाएर राप्रपा महामन्त्रीसँग चुनावी तालमेलको प्रस्ताव राखेका ओलीले सार्वजनिक रूपमा भने एमाले एक्लै लड्ने बताउँदै आएका छन् । केहीअघि सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पनि स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो । तर, सत्तासाझेदार दलहरूले तालमेलको निर्णय गरेसँगै ओली सम्भावित परिणामले विपक्षी गठबन्धन बनाउनैपर्ने दबाबमा पुगेका छन् । 

ओलीले महन्थ ठाकुर नेतृत्वको अर्को विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तालमेलका लागि छलफल गर्ने सम्भावना छ । स्थानीय आवश्यकता आधारमा तालमेलमा जान सकिने एमालेको नीति छ । 

राप्रपा महामन्त्री डा. धवलशमशेर राणा भन्छन्–

एमाले बाँकेका नेताहरूमार्फत अध्यक्ष ओलीले मलाई भेट्न बोलाउनुभयो । होटेल सोल्टीमा हामी दुईबीच डेढ घन्टाजति छलफल भयो । उहाँले स्थानीय तहमा मात्र नभई प्रदेश र संघीय निर्वाचनमा समेत तालमेल गरेर जान प्रस्ताव राख्नुभयो । दुवै पार्टीबाट निर्णय गरेर छलफललाई निष्कर्षमा पुर्‍याउने समझदारी बनेको छ । त्यसअनुसार अब हामी हाम्रो पार्टीभित्र छलफल गर्नेछौँ र छिट्टै आधिकारिक निर्णय सार्वजनिक गर्छौँ ।

एमालेले चाहे पाँचदलीय गठबन्धन भत्किने ओलीको दाबी

काठमाडाैं/ एमाले अध्यक्ष केपी ओलीले आफूहरूले चाहँदासम्म मात्र सत्तारूढ गठबन्धन रहने दाबी गरेका छन् । पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गरेर जाने निर्णय भएको अर्को दिन एमाले अध्यक्ष ओलीले गठबन्धन भत्काउन धेरै मिहिनेत गर्नु नपर्नेसमेत जिकिर गरे ।

‘अहिले हेर्नुस् त, बिहान–बेलुकै बालुवाटार टुप्लुक–टुप्लुक पुगेका छन् । ‘यो गठबन्धन नटुटाऊँ, गठबन्धन बचाऊँ है’ भनिरहेका छन् । यो गठबन्धन तबसम्म रहन्छ, जबसम्म हामी यसलाई रहन दिन्छौँ,’ शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम बैठक तथा विस्तारित भेलालाई सम्बोधन गर्दै ओलीको दाबी थियो, ‘हामीले धेरै केही गर्नुपर्दैन, छ्यास्स हावा खोलिदिएपछि जान्छ । चारवटा चक्का फुकाल्नुपर्दैन, इन्जिन बन्द गर्नुपर्दैन ।’

एकीकृत समाजवादीसँग सहकार्य गरेको भन्दै ओलीले कांग्रेसको आलोचना गरे । ‘कांग्रेसले बिग्रिएका, सडेका, लोकतन्त्र र राष्ट्रियताविरोधी एवं बिकाउ मालहरूसँग घाँटी जोड्छ । भाँडो कुच्चिएर काम नलाग्ने भएपछि पत्रु भनिन्छ, त्यस्तासँग कांग्रेसले घाँटी जोड्छ । थोत्रा, पत्रु र प्रतिगामी तत्वसँग कांग्रेस जोडिन्छ,’ ओलीले भने, ‘उहिल्यै होस् कि अहिले, कांग्रेस उस्तै छ । कांग्रेसलाई राम्रो कामका लागि राम्रो शक्तिसँग मिल्न बडो मुस्किल छ ।’ 

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको विगत र वर्तमानमाथि प्रश्न उठाउँदै उनी कम्युनिस्ट नरहेको आरोप लगाए । ‘कहिले–कहिले भनिन्छ, माधव नेपालले एमाले छाडे । कम्युनिस्टले छाडेको छ र एमाले ? कम्युनिस्टले एमाले छाड्दैन । माधव नेपालजस्ता पत्रु, बिग्रेका र प्रतिक्रियावादीका निम्ति काम गर्ने मान्छेले एमाले छाड्छन्,’ ओलीको भनाइ थियो, ‘कम्युनिस्टको बर्को ओड्नेबित्तिकै जो पनि कम्युनिस्ट हुने हो र ? बर्को ओडेर कम्युनिस्ट हुँदैनन् ।’

११ चैतमा काठमाडौंमा भएको एक कार्यक्रममा नेपालले ओली पूर्वराजासँग मिल्न गएको आरोप लगाएका थिए । ओलीले त्यसको खण्डन गर्दै नेपाल नै राजावादी भएको टिप्पणी गरे । ‘एउटा गठबन्धनवालाले अस्ति भनेको सुनेँ– अब केपी ओली राजासँग मिल्छ । राजाकहाँ छ र केपी ओली मिल्छ ? यिनीहरूको कस्तो बुद्धि हो ! कस्तो मानसिकता ! राजासँग मिल्छ रे ! ’ ओलीले भने, ‘म सम्झाउन चाहन्छु– वरिपरि परिक्रममा गरेर पाउमा दाम राखेर ढोग्ने मान्छे केपी ओली होइन ।’ 

निर्वाचनको मुखमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएकोमा ओलीले असन्तुष्टि जनाए । ‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ, ठ्याक्कै चुनावअगाडि किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला– यति समय किन जानुभएन, यतिबेरै किन जानुभयो भनेर । यही समयमा किन जानुभयो भनेर ?’ उनले भने ।