१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
पर्शुराम काफ्ले नयाँ दिल्ली
२o८१ जेठ १ मंगलबार १२:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा किन जाँदै छन् भाजपा मुख्यालय ?

Read Time : > 3 मिनेट
पर्शुराम काफ्ले, नयाँ दिल्ली
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:५९:oo

औपचारिक भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली आएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) मुख्यालय भ्रमण गर्ने विषयलाई दिल्लीमा चासोपूर्वक हेरिएको छ। सामान्यतः औपचारिक भ्रमणमा आएका नेपाली प्रधानमन्त्रीले कुनै दलको मुख्यालयको भ्रमण गर्ने चलन विगतमा थिएन, बरु सत्तारुढ दलकै शीर्ष नेताले नेपाली प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने चलन हुन्थ्यो।  प्रधानमन्त्री देउवाको यसपटक भारत भ्रमणमा अन्य पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ताको कार्यसूची छैन, तर उनी भाजपा कार्यालय जाँदै छन्। 

भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतको टिमले प्रधानमन्त्री देउवाको स्वागतका लागि केही दिनदेखि गृहकार्य गरिरहेको छ। प्रधानमन्त्री देउवाको भाजपा कार्यालय भ्रमण नेपाली कांग्रेस र भाजपाको आपसी चासो एवं स्वार्थसँग जोडिएको छ। 

प्रधानमन्त्री देउवाले द्विपक्षीय नियमित एजेन्डाभन्दा पनि यसपटकको भारत भ्रमणमा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राखेका छन्। किनभने स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा र तयारीका लागि पर्याप्त समय अभावको सीमितता जानेरै प्रधानमन्त्री देउवा भारत भ्रमण तय गरेका हुन्। 

देउवाले भाजपा कार्यालय भ्रमण गर्ने कार्यसूची रहे पनि  अन्य विपक्षी नेतासँग भेट्ने कार्यक्रम छैन। औपचारिक भ्रमणमा यस्ता भेटवार्ता नहुने भनिए पनि विगतमा प्रतिपक्षी दलका नेतासँग नेपाली प्रधानमन्त्री दिल्ली आउँदा भेटवार्ता हुने गरेको थियो। यसको अर्थ देउवाको उच्च प्राथमिकतामा भाजपा र भाजपा नेतृत्व रहेको देखिन्छ।

भारतमा आगामी पाँच वर्ष भारतीय जनता पार्टी (भाजपा) सरकारमा रहने त छँदै छ, त्यसपछि पनि उसको पल्ला भारी हुने सम्भावनाको आकलन भइरहेको छ। नेपालमा पनि वाम समूहहरू माओवादी केन्द्र र एकीकृत समाजवादीलाई गठबन्धनमा सामेल गरेर नेपाली कांग्रेस एक वर्षभित्र संसदीय निर्वाचनमार्फत पुनः सत्ताको नेतृत्व गर्न चाहन्छ। त्यो अवस्थामा कांग्रेस सभापति देउवा नै प्रधानमन्त्रीका बलियो दाबेदार हुनेछन्। यो परिस्थितिको आकलनसहित देउवाले भाजपासँग सम्बन्धको बलियो डोरी कस्ने चाहना राखेको बुझाइ दिल्लीमा छ। प्रधानमन्त्री देउवाको भाजपा केन्द्रीय कार्यालय भ्रमण गर्ने कार्यसूची  यही पृष्ठभूमिमा तय भएको बुझिन्छ। 

भाजपा विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेका अनुसार भाजपा अध्यक्ष जेपी नड्डाले नेपाली कांग्रेसका सभापति देउवालाई भाजपा कार्यालय भ्रमणका लागि निमन्त्रणा दिएका थिए र देउवाले स्वीकार गरेका थिए। देउवाको भाजपा कार्यालय ‘सिक्स ए पण्डित दीन दयाल उपाध्याय मार्ग’ भ्रमण प्रधानमन्त्रीका रूपमा भन्दा पनि कांग्रेस सभापतिका रूपमा हुँदै छ। देउवा अध्यक्ष नड्डासहित भाजपा वरिष्ठ नेताहरूसँग संक्षिप्त भेटवार्ता गरेर बाह्रखम्बारोडस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत कार्यक्रममा सहभागी हुनेछन्। 

देउवाले भाजपा कार्यालय भ्रमण गर्ने कार्यसूची रहे पनि  अन्य विपक्षी नेतासँग भेट्ने कार्यक्रम छैन। औपचारिक भ्रमणमा यस्ता भेटवार्ता नहुने भनिए पनि विगतमा प्रतिपक्षी दलका नेतासँग नेपाली प्रधानमन्त्री दिल्ली आउँदा भेटवार्ता हुने गरेको थियो। यसको अर्थ देउवाको उच्च प्राथमिकतामा भाजपा र भाजपा नेतृत्व रहेको देखिन्छ। ‘सत्तारुढ भारतीय जनता पार्टीसँग सम्बन्ध सुदृढ गर्ने देउवाको प्रयास हो, यसमा हामीलाई केही भन्नु छैन। हामी नेपालका शुभेच्छुक थियौँ, छौँ र रहिरहनेछौँ,’ देउवालाई नजिकबाट चिनेका एक कंग्रेस नेताले अनौपचारिक कुराकानीमा मसँग भने। 

भाजपानिकट एक बुद्धिजीवीले चाहिँ कांग्रेस र भाजपाबीच पुरानो सम्बन्ध रहे पनि एक–अर्कालाई नजिकबाट चिन्न निकै समय लागेको सुनाए। उनको भनाइ थियो, ‘नेपाली राजनीतिमा नेपाली कांग्रेसको महत्व बुझ्न भारतलाई समय लाग्यो। कम्युनिस्ट पार्टीको एकीकरण र दुईतिहाइ मतनजिकको सरकार गठन भएपछि नेपाली कांग्रेसको हालत भारतीय राष्ट्रिय कांग्रेसको जस्तो हुने हो कि भन्ने आकलन पनि भाजपा वृत्तमा नभएको होइन। तर, कांग्रेस नेपालको स्थायी संस्थापन हो भन्ने महसुस राम्रोसँग भएको छ।’

गत असारमा देउवाले सरकारको नेतृत्व सम्हालेपछि भारतबाट भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमण कांग्रेससँग भाजपाको सम्बन्ध विस्तारको उद्देश्यबाट भएको थियो। असोजमा नेपाली कांग्रेसका तर्फबाट नेता डा. प्रकाशशरण महत नेतृत्वको टोलीले भाजपा नेतृत्वमा भ्रमण गरेको थियो र भाजपा नेतृत्वसँग मात्रै भेटवार्ता गरेको थियो। 

यद्यपि चौथाइवालेले नेपालमा अन्य पार्टीका नेतासँग पनि भेटवार्ता गरेका थिए। दुई पार्टीको भ्रमण आदान–प्रदानपछि कांग्रेस र भाजपा पार्टीबीच विश्वासको स्तर बढेको महतले सार्वजनिक रूपमा भनेका थिए। यो सम्बन्ध थप बलियो बनाउने देउवाको चाहना छ। देउवाले भाजपा अध्यक्ष नड्डालाई नेपाल भ्रमणका लागि पनि आमन्त्रण गर्नेछन्।  

पार्टी सभापतिका रूपमा देउवाको प्राथमिकता भाजपा नेतृत्वसँग छँदै छ, प्रधानमन्त्रीका रूपमा भारतसँगको सम्बन्ध पनि देउवाको उच्च प्राथमिकतामा छ। देउवाले पछिल्लो समयमा भारत, अमेरिका र चीनसँग नेपालको हितअनुकूलको सम्बन्ध सञ्चालन गरेको र देशहरूसँग सम्बन्धमा सन्तुलन नबिग्रेको टिप्पणी दिल्लीमा सुनिन थालेको छ। 

‘नेपालले बल्ल यतिखेर आफ्नो खुट्टामा उभिएर विदेश नीति सञ्चालन गरिरहेको देखिन्छ। अमेरिकाको एमसिसी अनुदान सम्झौता संसदबाट पास गरेको छ, चीनसँग एउटा स्तरको राजनीतिक सम्बन्ध अघि बढाएको छ र भारतसँग सुदृढ सम्बन्धको अपरिहार्यतालाई नेपालको नेतृत्वले महसुस गरेको व्यवहारबाटै पुष्टि गरेको छ,’ मनोहर पारिकर इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (एमपिआइडिएसए)का रिसर्च फेलो डा. निहार नायकले टिप्पणी गरे। 

युक्रेनलाई नेपालले समर्थन गरेको विषयमा पनि भारत बेखुसी नरहेको नायकको बुझाइ छ। पछिल्लोपटक युक्रेन–रुस युद्धका सन्दर्भमा नेपाल र भारत सँगै उभिएका छैनन्, तर नेपालको अडानले भारतको अहित  गरेको छैन। भारत संयुक्त राष्ट्रसंघका विभिन्न मञ्चमा युक्रेन र रुसबीच तटस्थ बस्यो भने नेपालले रुसी कदमको विरोधमा उभियो। ‘नेपालले आफ्नो हितमा लिएको निर्णयलाई भारतले अन्यथा सोच्ने कुरा आउँदैन। युक्रेनका विषयमा नेपालको निर्णयले भारतको कहीँकतै अहित गरेको छैन,’ रक्षा मन्त्रालयमातहतको थिंकट्यांकमा कार्यरत नायकको भनाइ छ, ‘भारतसँगको कुरा मात्र होइन, अमेरिकी एमसिसी अनुदान पनि चीनविरोधी होइन भन्ने कुरा पनि प्रधानमन्त्री देउवाले चिनियाँ नेतृत्वलाई स्पष्ट पारेका छन्। यो उनको सफलता हो। ’

भारतका लागि नेपाल जुनसुकै पार्टी सत्तामा आए पनि उच्च प्राथमिकतामा रहेको टिप्पणी नायकको विश्लेषण थियो। ‘भौगोलिक रूपमा नजिक, खुला सिमाना, जनस्तरको विशिष्ट सम्बन्ध मात्र नभएर नेपाल रणनीतिक रूपमा पनि भारतका लागि महत्वपूर्ण छ। आर्थिक, सैनिक र सांस्कृतिक रूपमा बलियो नेपाल नै भारतको रक्षा हितमा छ। भारतको सुरक्षा चासोलाई नेपालले सम्बोधन गर्दै आएकोमा भारत खुसी छ,’ नायकले औपचारिकता मिश्रित टिप्पणी गरे। सम्बन्धको यो अवस्था सुदृढ गर्न नेपालमा कांग्रेस नेतृत्वको गठबन्धनमा भारतीय जनता पाटीको अभिरुचि प्रकट भएको देखिन्छ। 

‘नेपाली कांग्रेस भारतको प्राथमिकतामा पहिलेदेखि नै थियो। भारतमा जस्तै लोकतन्त्रका आधारभूत मान्यता बोकेर हिँड्ने नेपाली कांग्रेसलाई बुझ्न भारतीय जनता पार्टीलाई धेरै समय लाग्यो। अहिले नेपाली कांग्रेसको महत्व भाजपाले गहिरोसँग बुझेको देखिन्छ,’ भाजपाका एक समर्थक पत्रकारले सुनाए।  

भारतीय सैन्य विश्लेषक एवं सेनाका पूर्वउपरथी अशोक मेहताको विश्लेषणमा नयाँदिल्लीले यसपटक नेपाली कांग्रेसलाई उच्च प्राथमिकतामा राखेको छ। ‘नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीका रूपमा र त्यसको नेताका रूपमा प्रधानमन्त्री देउवालाई भारतले स्वागत गर्दैछ। तर, भारतले एमालेको महत्वलाई पनि कम आकलन गर्नुहुँदैन भन्ने मलाई लाग्छ,’ मेहताको टिप्पणी छ। 

राजनीतिक सम्बन्ध त छँदै छ, नेपाल र भारतबीच बनारसले जोडेको सांस्कृतिक सम्बन्ध जोड्न देउवा बनारस (वाराणसी) जाँदै छन्। बनारससँग नेपालको सम्बन्धसँग जोडिएका सम्पदाहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि संरक्षण गरेर राखेका छन्। 

मोदीको निर्वाचन क्षेत्र हुनुभन्दा धेरै पहिला कांग्रेस नेता बिपी कोइराला, कृष्णप्रसाद भट्टराईले बनारसलाई राजनीतिक आधार बनाएका थिए। त्योभन्दा हजारौँ वर्षअघिदेखि बनारस पूर्वीय दर्शन अध्ययनका लागि नेपालीहरू जाने पाठशाला रहँदै आएको छ। यो सबै पृष्ठभूमिलाई प्रधानमन्त्री देउवाले आगामी राजनीतिमा कांग्रेसको महत्व स्थापित गर्न उपयोग गर्दै छन्। 

ad
ad