१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Sunday, 11 May, 2025
२o७८ चैत १७ बिहीबार १७:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बबईमा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्दै विद्यार्थी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १७ बिहीबार १७:२४:oo

सल्यानको कालिमाटी गाउँपालिका– ७ काप्रेचौरस्थित बबई नदीमा घुइयाबारी–बाटुले जोड्ने पुल नहुँदा विद्यार्थीहरू जोखिम मोलेर विद्यालय जान बाध्य छन्। वर्षातको उर्लँदो भेल होस् वा हिउँदको चिसो, विद्यार्थीलाई जोखिम मोलेर नदी वारपार गर्नुको विकल्प छैन।

‘पुल नहुँदा वर्षातको समयमा चिन्ना, गाडीको ट्युब, जर्किन आदिको सहायताले नदी वारपार गर्नुपर्ने बाध्यता छ,’ घुइयाबारीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा यामकला बस्नेतले बताइन्। काप्रेचौरको स्वयम्बास, कुसुमतरा, बाटुलेलगायतका स्थानमा माध्यमिक तहको विद्यालय छैन। जसका कारण यस क्षेत्रका विद्यार्थीलाई पढ्नको लागि दैनिक जोखिम मोलेर घुइयाबारी जानुपर्ने अवस्था छ।

‘कक्षा ५ सम्म पढ्नको लागि गाउँमा नै विद्यालय छ तर त्योभन्दा माथिल्लो कक्षामा पढाइ हुने विद्यालय गाउँमा छैन। घरदेखि एक घण्टा हिँडेर विद्यालय जानुपर्छ,’ बस्नेतले भनिन्, ‘तर, जोखिम धेरै हुन्छ। वर्षातमा बबई उर्लेर आएको हुन्छ। सक्ने जतिले बबई तरेर जान्छौँ, नसक्ने बीचबाटोबाटै घर फर्किनुपर्छ।’ नदी तर्दा कहिलेकाहीँ किताबकापी भिज्ने गरेको विद्यार्थीहरूको गुनासो छ।

कक्षा ९ मा अध्ययनरत अर्का छात्र सोमलाल बस्नेतले बबईकै कारण कैयौँपटक कक्षामा उपस्थित हुन नसकेको बताए। विद्यालय आउनको लागि र्याङ र हात्तीढुंगामा झोलुंगेपुल निर्माण गरिएको भए पनि ती पुलबाट विद्यालय जाँदा २ घण्टा बढी हिँड्नुपर्ने उनकोे भनाइ छ। ‘र्याङको पुल तरेर विद्यालय जान पनि बीचमा खहरे खोला पर्ने भएकाले जोखिम त्यतिकै छ। बबई नदीको बहाव धेरै भएको वेलामा बीच बाटोबाटै घर फर्किनुपर्ने बाध्यता छ,’ उनले भने।
बबईपारिका क्षेत्रमा कक्षा ५ सम्म अध्ययन गर्ने विद्यालय भए पनि त्यसपछिको अध्ययनका लागि विद्यालय नहुँदा बर्दिया, सुर्खेत वा बबईपारी जानुपर्ने बाध्यता छ। घुइयाबारीमा रहेको विद्यालयमा ४ सय बढी विद्यार्थीहरू पढ्छन्। जसमध्ये बबईपारिका करिब १५० विद्यार्थीहरू छन्। उनीहरूलाई दैनिक विद्यालय जान र फर्किने क्रममा नदी तर्न समस्या हुने गरेको छ।
विद्यालयका शिक्षक कुलेन्द्र बिसीले बबईमा पुल नहुँदा विद्यार्थीहरूको पठनपाठन नै प्रभावित भएको बताए। ‘पुल नहुँदा विद्यार्थीहरु जोखिम मोलेर नदी पार गर्छन्। कहिलेकाहीँ पढाइ सुरु भैसकेपछि मात्रै विद्यालयमा उपस्थित हुन्छन्,’ उनले भने। वर्षातको समयमा बबईपारिका आधा बढी विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेको उनको भनाइ छ।

बबईमा पुल नहुँदा बालबालिकालाई विद्यालय पठाउन पनि समस्या भएको एक अभिभावक नैनी महतराले बताइन्। ‘विद्यार्थीहरू मात्रै होइन यहाँका स्थानीयहरूले पनि घाँसदाउरा, मेलापात बबई नदी तरेर गर्नुपर्ने बाध्यता छ, उनले भनिन्, ‘पुल नहुँदा नदी तर्नुको विकल्प छैन।’

बबई तर्ने क्रममा वर्षेनी केही मानिसले ज्यान गुमाइरहेका हुन्छन्। स्थानीयले घुइयाबारी–बाटुले जोड्ने झोलुङे पुल मात्रै भए पनि बनाइदिन बारम्बार आग्रह गर्दै आएका छन्। तर, यसतर्फ कसैले चासो दिएका छैनन्। कालिमाटी गाउँपालिका–७ का अध्यक्ष नैनसिंह रानाले पुल निर्माणका लागि पहल गरिरहेको बताए। यहाँको समस्याको जानकारी दिँदै पुल निर्माण गरिदिन प्रदेश र केन्द्र सरकारलाई आग्रह गरिरहेको उनले जानकारी दिए।