Skip This
गुल्मीमा अक्सिजन प्लान्ट उद्घाटन, कोभिडका कारण १० करोडभन्दा बढीका संरचना निर्माण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:o४:oo
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा अक्सिजन प्लान्ट उद्घाटन, कोभिडका कारण १० करोडभन्दा बढीका संरचना निर्माण

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o४:oo

गुल्मीमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ। पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीमा निर्मित प्लान्टको पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बिहीबार उद्घाटन गरेका हुन्।

सो अवसरमा उपमहासचिव ज्ञवालीले तत्कालीन केपी ओली नेतृत्वको सरकारले देशमा स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण, स्वास्थ्य बिमा र सरकारी मेडिकल सञ्चालन गरेर जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण कामहरू गरेको बताए। तीव्र कोभिड संक्रमण र अक्सिजनको अभाव भइरहेका वेला पत्रकार महासंघ गुल्मीले अभियान सञ्चालन गरी सरकारी क्षेत्रसँगको समन्वयमा प्लान्ट सञ्चालन गरेर देशमै उदाहरणीय काम गरेको ज्ञवालीले बताए। जिल्लामा कोभिड– १९ को कारण अक्सिजन अभावले बिरामीको ज्यान जान थालेपछि ०७८ वैशाख अन्तिम साताबाट पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लान्ट अभियान’बाट प्लान्ट निर्माण भएको हो।

प्लान्ट निर्माणमा त्रिपक्षीय सहयोग
अक्सिजन प्लान्टको पूरा व्यवस्थापनमा त्रिपक्षीय सहयोग रहेको छ। प्लान्ट निर्माणका लागि ‘अक्सिजन प्लान्ट अभियान’बाट संकलित ५० लाख पत्रकार महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो। तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा नेपाल सरकारबाट एक करोड विनियोजन भयो। सरकार र पत्रकार महासंघको अभियानबाट संकलित एक करोड ५० लाखको ठेक्का सम्झौतामार्फत फेयर ट्रेड काठमाडौंले प्लान्ट निर्माण गरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए।

अहिले यहाँबाट दैनिक ९६ सिलिन्डर ग्यास उत्पादन भइरहेको छ। त्यस्तै, गुल्मी उद्योग वाणिज्य संघले करिब १८ लाखको लागतमा अक्सिजन प्लान्ट राख्न भवन निर्माण गरेको छ।

५० प्रतिशत सस्तोमा अक्सिजन बिक्री
अब गुल्मी अस्पतालसँगै जिल्लाका अन्य स्वास्थ्य संस्था र घरमै आवश्यक पर्ने बिरामीले पनि सहज रूपमा अक्सिजन पाउनेछन्। अस्पतालले अहिले ठूलो सिलिन्डर १२ सय, मझौला एक हजार र सानालाई पाँच सय रुपैयाँमा अक्सिजन भरिरहेको छ। 

दैनिक १० सिलिन्डर अक्सिजन गुल्मी अस्पतालमै खपत हुन्छ। गुल्मी अस्पतालको निर्माणाधीन अत्याधुनिक भवन र पालिकास्तरमा बन्न लागेका १५ शय्याका अस्पतालका लागि पनि प्लान्ट उपयोगी हुने गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले बताए। ‘गुल्मीमा स्वास्थ्य क्षेत्रमा केही आशाहरू बढेका छन्। कोभिडका कारण प्लान्टलगायतका महत्वपूर्ण संरचना बनेका छन्,’ उनले भने, ‘जनशक्ति व्यवस्थापन र दीर्घकालीन सञ्चालनमा चनाखो बन्नुपर्छ।’

पत्रकारको अभियानमा उत्साहपूर्ण सहयोग
गत साल ८४ वर्ष पुगेका रेसुंगा नगरपालिका– ८ का रुद्रबहादुर भुजेलले कोरोना महामारीका कारण चौरासी गर्न पाएनन्। उनले चौरासीबापतको नगद १० हजार अक्सिजन प्लान्ट अभियानलाई सहयोग गरे। निमा केसी सापकोटाले आमाको सम्झनामा २१ हजार एक सय २१ रुपैयाँ अभियानमा सहयोग गरिन्। प्लान्ट निर्माणमा विपन्नदेखि सम्पन्न परिवारले सबैले सहयोग गरेका छन्। जसका कारण अब जिल्लामा अक्सिजनका लागि कुनै समस्या झेल्नुपर्ने स्थिति नरहेको अभियानका संयोजक तथा पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष जनार्दन घिमिरेले बताए।

अभियानमा स्वदेश तथा परदेशबाट करिब आठ सय व्यक्ति तथा संघसंस्थाले सहयोग गरेका छन्। पत्रकार महासंघको समन्यवमा प्लान्ट निर्माणसँगै जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सामग्री वितरण गरिएको थियो।


गुल्मी अस्पतालमा मात्रै चार करोड बढीका संरचना निर्माण
कोभिड– १९ ले जिल्लाभित्र र बाहिर गरी गुल्मीका दुई सय ८७ जनाले ज्यान गुमाए। करिब सात हजार संक्रमित भए। कोभिडले दुस्प्रभावसँगै अवसर पनि सिर्जना गरेको छ। कोभिड– १९ ले माक्स लगाउने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्नेलगायतका आनीबानीमा परिवर्तन त ल्यायो नै। यसबाहेक गुल्मी अस्पतालसहित स्थानीय तहमा करिब १० करोडका स्वास्थ्य संरचना निर्माण भएका छन्। गुल्मी अस्पतालमा करिब डेड करोडको अक्सिजन प्लान्ट निर्माण भएकाे छ।

त्यस्तै, डेढ करोडको लागतमा गुल्मी अस्पतालमा आइसियू निर्माण भइरहेको छ भने ६४ लाखको लागतमा एचडियू सञ्चालनमा छ। अक्सिजन प्लान्ट, आइसियू र एचडियू निर्माण तथा सञ्चालनले जिल्लाको स्वास्थ्य क्षेत्रमा नयाँ आशा पलाएको छ। गुल्मी अस्पतालमै २० वटा अक्सिजन कन्सनट्रेटर मेसिन र १३० अक्सिजन सिलिन्डर सहयोग प्राप्त भए। यी सबै कोभिड– १९ का कारण प्राप्त उपलब्धि हुन्।

प्रयोगशालादेखि गाउँगाउँमा संरचना विकास
जिल्लाका सबै स्थानीय तहहरूको समन्वय र सहयोगमा करिब डेढ करोडको लागतमा कोभिड– १९ परीक्षण प्रयोगशाला निर्माण गरिएको छ। इस्मा गाउँपालिकाले कोभिडकै कारण ३५ लाख बढी खर्च गरेर एक्स–रे मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ। अस्पतालले मेडिकल अधिकृतको व्यवस्था गरेर कोभिडका बिरामीको उपचार र व्यवस्थामा निकै महत्वपूर्ण काम गर्‍याे। कोभिड अस्पतालमा चार थान अक्सिजन कन्सन्ट्रेटर र २२ थान सिलिन्डर प्राप्त भएका छन्।

कालीगण्डकीमा आठवटा अक्सिजन कन्सन्ट्रेटर र २१ वटा अक्सिजन सिलिन्डर छन्। दुई स्टाफ नर्स र कार्यालय सहयोगीको व्यवस्थापन गरेर अस्थायी कोभिड– १९ अस्पताल सञ्चालन गरिएको स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाले जानकारी दिए। मुसिकोट नगरपालिकामा १४ अक्सिजन सिलिन्डर र आठ कन्सन्ट्रेटर छन्। मेडिकल अधिकृत एक, स्टाफ नर्स एक, हेल्थ असिस्टेन्ट एक र कार्यालय सहयोगी एकजनाको व्यवस्थापन गरेर अस्थायी कोभिड– १९ अस्पताल सञ्चालन गरेको स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताए।

यता, गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालका अनुसार गाउँपालिकामा ६–६ वटा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर छन्। दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको व्यवस्थापन गरेर १० बेडको कोभिड– १९ अस्पताल सञ्चालनमा ल्याइएको छ। धुर्कोट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालका अनुसार गाउँपालिकामा १३ वटा अक्सिजन कन्सन्ट्रेटर र १९ वडा अक्सिजन सिलिन्डर रहेका छन्।

छत्रकोट गाउँपालिकाका अनुसार गाउँपालिकामा २९ अक्सिजन सिलिन्डर र १० कन्सन्ट्रेटर छन् भने एउटा जेनेरेटरको व्यवस्थापन गरिएको छ। रुरु क्षेत्र गाउँपालिकाका अनुसार कोभिड– १९ कै कारण पाँच अक्सिजन कन्सन्ट्रेटर र १८ अक्सिजन सिलिन्डर गाउँपालिकामा छन्। करिब आठ लाखका अत्यावश्यक स्वास्थ्य सामग्रीको गाउँपालिकाले जोहो गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय गुल्मीमा निमित्त प्रमुख पशुपति आचार्यले कोभिडले समस्यासँगै जिल्लामा सचेतना र पूर्वाधार तथा उपकरणमा ठूलै उपलब्धि भएको बताए।