
अख्तियारले यही आरोपमा ०७६ असारमा आयोग अध्यक्षसहित १० जना विरुद्ध मुद्दा दायर गरेको थियो, चारजनाविरुद्ध पुन: मुद्दा
लेखा सहायक र पुस्तकालय सहायकको लिखित परीक्षामा नम्बर हेरफेर गर्ने त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी लाभ पुर्याउने बदनियतले परीक्षाको परिणाममा फेरबदल गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुने अन्यमा आयोगका तत्कालीन प्रमुख सहायक बच्चुराम पाण्डे, सहप्राध्यापकहरू केशव घिमिरे, राजेश्वर न्यौपाने, इन्दिरा घिमिरे र प्रा.डा. टेकनाथ ढकाल छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम भ्रष्टाचारको कसुरमा उनीहरूविरुद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजारदेखि १० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।
१८ फागुन ०७३ मा प्रकाशित विज्ञापनबमोजिमको विभिन्न पदको लिखित परीक्षाको उत्तरपुस्तिका परीक्षणका क्रममा अनियमितता गरी प्राप्तांक केरमेट गरेको, अंक थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमा समेत अंक प्रदान गरी उत्तीर्ण गराएको लगायत उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो । छानबिनबाट विज्ञापनअन्तर्गतका पदहरूको स्थायी पदपूर्तिका लागि लेखा सहायक र पुस्तकालय सहायक पदको लिखित परीक्षामा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्तांकमा हेरफेर गरी मेरिट सूची फेरबदल गर्ने कार्य गरेको पुष्टि भएको आरोपपत्रमा उल्लेख छ । यस्तो गलत कार्यलाई संपरीक्षकले सदर गरेको र रुजु गर्नेसमेतले नसच्याएको अख्तियारको ठहर छ ।
लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक न्यौपाने र पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरेले लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गरेका थिए । त्यस्तै, प्रा.डा. ढकालले उत्तरपुस्तिकाको संपरीक्षण तथा त्रिवि सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइराला र तत्कालीन मुख्य कार्यालय सहायक पाण्डेले उत्तरपुस्तिका रुजु गरेका थिए । उनीहरूले ‘अन्य व्यक्तिलाई गैरकानुनी लाभ पुर्याउने बदनियतले परीक्षाको परिणाममा फेरबदल गरेको पुष्टि हुन आएको’ आरोपपत्रमा उल्लेख छ ।
अनियमितता गरी परीक्षाको अंक हेरफेर गरेको यही अभियोगमा अख्तियारले यसअघि पनि त्रिवि सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । १८ असार ०७६ मा आयोगले त्रिवि सेवा आयोगका प्रमुख चैतन्यप्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेल, आयोगको कार्यालय प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिविका प्राध्यापक टेकनाथ ढकाल, गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, ताराप्रकाश पौडेल र रामबहादुर पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो ।
त्रिवि सेवा आयोगले लिएको प्राविधिक र प्रशासनिकतर्फका विभिन्न १६ पदमध्ये शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षा सञ्चालनतर्फ ३५ थान उत्तरपुस्तिकाको कोडिङ/डिकोडिङ, परीक्षण, संपरीक्षण, रुजुलगायत नतिजा प्रकाशनमा अनियमितता गरेको अभियोगमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।
त्यही विज्ञापनअन्तर्गतको परीक्षामा अनियमितता गरेको आरोपमा आयोगले पुनः मुद्दा दायर गरेको हो । विशेष अदालतमा मुद्दा झेलिरहेका चारजनालाई पुनः प्रतिवादी बनाएर आयोगले मुद्दा दायर गरेको हो । सहप्राध्यापकद्वय केशव घिमिरे र इन्दिरा घिमिरेबाहेक अन्यको मुद्दा अझै विशेष अदालतमा विचाराधीन छ ।