१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o६:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दमक गोल्डकप : पुलिस सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:३७:oo

साविक विजेता नेपाल पुलिस क्लब दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एभिनियर फुटबल क्लब क्यामरुनलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पुलिसले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिनले गोल गर्न नसकेपछि पुलिस विजयी बन्यो । 

टाइब्रेकरमा पुलिसका अजित भण्डारी, निरकुमार राई, कप्तान सुमन सुवेदी, सौजन याक्खा र जुमानु राईले गोल गरेका थिए । क्यामरुनी टोलीका लागि टाइब्रेकरमा मार्सेल, बेल, टोबेट र मार्टिनले गोल गरेका थिए । जोस्पिनको प्रहार भने क्रसबारमा लागेर फर्कियो । पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज क्लब रूपन्देहीको सामना गर्नेछ । 

खेलमा क्यामरुनको डिफेन्स बलियो थियो । तर, फिनिसिङ लाइन भने कमजोर रह्यो । पुलिसले क्यामरुनको डिफेन्स लाइन तोड्न नसके पनि अन्तिममा विजयी भयो । पुलिसले बनाएका मुभलाई क्यामरुनी टोलीले बारम्बार बिफल बनाएको थियो । खेलको १२औँ मिनेटमा भरत शाहले डिबक्सबाट गरेको प्रहार विपक्षी गोलरक्षक रोड्रिभलाई ठोक्कँदै रिवाउन्स भयो । रिवाउन्स भएको बललाई डिबक्समै रहेका रवि पासवानले गरेको प्रहार विपक्षी गोलरक्षकले पन्च गरेर बचाए । १८औँ मिनेटमा राम वाजीले डिबक्समा गरेको कडा प्रहार विपक्षी गोलरक्षक रोड्रिभले पन्च गरेर बचाए । ६७औँ डिबक्सनजिकैबाट सौजन याक्खाले गरेको फ्रिकिक प्रहार फस्टबारनजिकैबाट बाहिरियो । पुलिसले यीबाहेक खासै अवसर बनाउन सकेन । 

खेलको २१औँ मिनेटमा क्यामरुनका रोनिकले डिबक्सबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो । ४०औँ मिनेटमा मार्टिनले डिबक्सबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाए । ५०औँ मिनेटमा एस बोरिसले डिबक्सबाट गरेको प्रहार अकासियो । क्यामरुनको गोललाइन कमजोर हुँदा मौका बनाउन सकेन । पुलिसको पनि डिफेन्स लाइन निकै मजबुत देखिन्थ्यो ।   खेलको म्यान अफ दी म्याच पुलिसका अन्जन राई घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । यो खेलसँगै क्वार्टरफाइनल चरण पूरा भएका छन् । मंगलबारदेखि सेमिफाइनलका चरणका खेलहरू हुनेछन् । 

ad
ad