१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
द्विपक्षीय वार्ताअघि सिंहदरबारमा फोटोसेसन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा. नारायण खड्का । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:२९:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सहकार्यको समझदारी

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:२९:oo

दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ समझदारीमा हस्ताक्षर, चिनियाँ विदेशमन्त्री वाङ यीको प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगका भेटवार्तामा पारस्परिक हित र साझा चासोका सबै पक्षमा विमर्श भएको छ, तर बिआरआई छलफलको प्राथमिकतामा परेन, एमसिसीले प्रवेश नै पाएन

चीनले कोरोना महामारीका कारण आवतजावत तथा व्यापारमा उत्पन्न समस्या समाधान गर्ने वचन दिएको छ । चीनका स्टेट काउन्सिलर एवं परराष्ट्रमन्त्री वाङ यीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटवार्ता तथा नेपाली समकक्षी डा. नारायण खड्कासँगको द्विपक्षीय छलफलमा व्यापार, पर्यटन, हवाई यातायातलगायतमा उत्पन्न अवरोध प्राथमिकताका आधारमा हटाउँदै जाने प्रतिबद्धता जनाएका छन् । 

प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमिबाट चीनको सुरक्षामा आँच आउन नदिने जनाएका छन् । स्रोतका अनुसार वार्तामा चीनले एमसिसी परियोजनाबारे चासो राखेन भने बिआरआईका विषयमा पनि ठोस छलफल भएन । विदेशमन्त्री वाङले साँझ प्रधानमन्त्री देउवासँग बालुवाटारमा शिष्टाचार भेट गरेका थिए । त्यसअघि उनले सिंहदरबारमा परराष्ट्रमन्त्री डा. खड्कासँग सानो समूहमा बेग्लै र प्रतिनिधिमण्डलस्तरीय विस्तृत वार्ता गरेका थिए ।

चिनियाँ परराष्ट्रमन्त्री वाङले प्रधानमन्त्री देउवा र समकक्षी खड्कालाई नेपालको आर्थिक विकासमा क्षमताले भ्याएसम्म सहयोग गर्ने आश्वासन दिए । उनले कोभिड महामारीपछि नेपालले राखेको चासोबारे पहिल्यै जानकार रहेको भन्दै प्राथमिकताका आधारमा शीघ्र सम्बोधनका लागि प्रयास गर्ने आश्वासन दिएका छन् । वाङको भनाइ थियो, ‘नेपालको चासो थाहा छ, यसमा हुन सक्ने जति चाँडै नै सम्बोधन गर्छौँ । नेपाली वस्तुहरूको निर्यात, पर्यटकहरूको आवागमन, उडान सुरु गर्नेलगायत विषयमा हामी सकारात्मक छौँ ।’ 

कोभिडमा रोकिएका विद्यार्थी फर्काउन तयार
द्विपक्षीय वार्तामा परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनमा अध्ययनरत नेपाली विद्यार्थी कोरोना महामारीपछि फर्किन नपाएर समस्यामा परेको भन्दै चिनियाँ समकक्षी वाङसँग चासो राखेका छन् । उनीहरूलाई चीनको विद्यमान स्वास्थ्य प्रोटोकल पूरा गरेर अध्ययनका लागि जान दिन मन्त्री खड्काको आग्रह थियो । जवाफमा चिनियाँ परराष्ट्रमन्त्री वाङले दुई वर्षदेखि फर्किन नपाएका विद्यार्थीलाई प्राथमिकताका आधारमा फर्किन सहजीकरण गर्ने बताएका छन् । यसको सुरुवात चाँडै नै गर्ने उनको प्रतिबद्धता छ । 

११ अर्ब ४० करोडको सहायता परियोजना
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा भएको घोषणाअनुसार चीनले ११ अर्ब ४० करोड रुपैयाँ (६० करोड युआन)बराबरको परियोजनाका लागि नेपाललाई सहायता दिने भएको छ । यो रकमबराबरको परियोजना नेपालले पठाउने र चीनले त्यसमा लगानी गर्नेछ । नेपाल–चीन आर्थिक तथा प्राविधिक सहायता शीर्षकको यो सम्झौतामा अर्थसचिव मधु मरासिनी र चिनियाँ राजदूत होउ यान्छीले हस्ताक्षर गरेका छन् । 

केरुङ–काठमाडौं रेलको सम्भाव्यता अध्ययन सुनिश्चित
चीनले केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि बजेट सुनिश्चित गरिदिएको छ । यसअघि चीनले सम्भाव्यता अध्ययन गर्ने मात्रै भनेको थियो । ‘विगतमा सम्भाव्यता अध्ययन गर्ने भनेको थियो, अब सम्झौतामार्फत बजेट सुनिश्चित भएको छ । यो एक कदम अगाडि हो भनेर बुझ्नुपर्छ,’ द्विपक्षीय वार्तामा सहभागी एक अधिकारीले भने । 

कोदारी राजमार्ग मर्मतमा नाकामा पूर्वाधार निर्माणको प्रतिबद्धता
कोदारी राजमार्ग निर्माणकै वेलामा भएको सम्झौताअनुसार चीनले अरनिको राजमार्ग मर्मत गर्दै आएको छ । यसपटक चिनियाँ परराष्ट्रमन्त्रीले नाकामा पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

नेपालबाट चीन निर्यात हुने ९८ प्रतिशत वस्तुलाई भन्सार छुट 
नेपालबाट चीन निर्यात हुने वस्तुमध्ये ९८ प्रतिशतलाई भन्सार छुट दिनेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । यसबाट नेपालले आफ्ना उत्पादन चीनमा पुर्‍याएर लाभ लिन सक्ने वातावरण बनेको छ । ‘यो हामीले मात्रै पाएको सुविधा होइन, तर हामीले उत्पादन चीनमा पुर्‍याउन सक्यौँ भने लाभ लिने ठाउँ बनेको छ,’ एक सम्बद्ध अधिकारीले भने ।

के–के भयो द्विपक्षीय वार्तामा ? 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालद्वारा शनिबार साँझ जारी विज्ञप्तिअनुसार दुई मन्त्रीबीच नेपाल–चीन सम्बन्धका सबै पक्षमा छलफल भएको छ । उच्चस्तरीय भ्रमण नियमित हुनुपर्नेमा जोड दिँदै उनीहरूले आपसी विश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । दुवै पक्षले एक–अर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वतन्त्रताप्रति समर्थन व्यक्त गरे भने नेपालका तर्फबाट एक चीन नीतिप्रति पुनः प्रतिबद्धता जनाइएको छ । 

परराष्ट्रमन्त्री खड्काले अरनिको राजमार्गको मर्मत तथा पोखरा विमानस्थल निर्माण सम्पन्न भएकोमा चीनको प्रशंसा गरेका छन् । चिनियाँ परराष्ट्रमन्त्री वाङले राष्ट्रपति सी जिनपिङको दुई वर्षअघि भएको भ्रमणका क्रममा भएको प्रतिबद्धताअनुसार चीनले सहायता प्रदान गर्ने आश्वासन दिएका छन् । कोभिड महामारीमा चीनले खोप र मेडिकल सामग्री पठाएकोमा नेपालले धन्यवाद दिएको छ भने चीनले नेपाललाई आवश्यक परे थप सहयोग गर्ने आश्वासन दिएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । 

तातोपानी र रसुवागढी नाकामा दोहोरो कार्गो आवागमन सुरु हुनुपर्नेमा नेपालले जोड दिएको थियो भने चीनले कोभिड प्रोटोकलका आधारमा नाका नियमित गर्न सहजीकरण गर्ने आश्वासन दिएको छ । यसका लागि थप गृहकार्य गर्न दुवै परराष्ट्रमन्त्रीले सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन् । दुवै परराष्ट्रमन्त्रीबीच यथाशक्य चाँडो हवाई यातायात सुचारु गर्ने सहमति भएको पनि परराष्ट्रले जनाएको छ ।

नेपाल र चीनबीच सीमा सन्धिका आधारमा सीमा क्षेत्रमा शान्ति कायम गर्नुपर्ने तथा आपसी सहमतिका आधारमा सीमा क्षेत्रमा संयुक्त सीमा अनुगमन गर्ने सहमति भएको पनि परराष्ट्रले जनाएको छ । वार्तामा मन्त्री खड्काले कोभिड– १९ पछि नेपाललाई परेको असरबारे जानकारी दिँदै विद्यार्थीलाई जान, पर्यटक आवागमनमा सहजीकरण गर्न, नेपालबाट निर्यातमा लागेको अवरोध खुला गर्न र नेपालको आर्थिक विकासमा थप सहयोग गर्न तथा विगतमा भएका सम्झौता परियोजनाहरूको कार्यान्वयनका लागि आग्रह गरेका थिए । उनले दुई देशबीच कोभिड प्रोटोकलका आधारमा हवाई उडान सुचारु गर्नुपर्नेमा जोड दिएका थिए । 

चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्ने वचन दिएका छन् । दुई वर्षदेखि चीन फर्किन नपाएका विद्यार्थीलाई पनि प्राथमिकताका आधारमा फर्किन सहजीकरण गर्ने पनि वाङले बताएका छन् । यसको सुरुवात चाँडै नै गर्ने पनि वाङले वचन दिएका छन् । 

वार्तामा सहभागी एक नेपाली अधिकारीका अनुसार प्रतिनिधिमण्डलस्तरीय वार्तामा अमेरिकी एमसिसी परियोजनाको चर्चा भएन । ‘बिआरआईअन्तर्गत सहकार्य गर्ने पुरानो कुराबाहेक ठोस चर्चा भएन,’ ती अधिकारीले नयाँ पत्रिकासँग भने, ‘चीनका तर्फबाट पनि कुनै गम्भीर चासो प्रकट भएन । दुई देशबीच निरन्तर सहकार्य गर्नुपर्नेमा दुवैजना मन्त्रीज्यूहरूको जोड रह्यो ।’ 

परराष्ट्रमन्त्री खड्काले नेपालको व्यापार घाटा बढिरहेको भन्दै चीनले नाकामा निर्यात तथा आवतजावतका लागि सहजीकरण गरिदिनुपर्नेमा जोड दिए । हिमालले दुई देशबीच अब सहकार्य नछेक्ने भन्दै खड्काले एक चीन नीतिमा कुनै शंका नगर्न आग्रह गरे । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाली सकमक्षी डा. नारायण खड्कालाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सांकेतिक चाबी हस्तान्तरण गरेका छन् । नेपालले सार्वभौम ग्यारेन्टीका आधारमा पोखरा विमानस्थलका लागि चीनबाट ०७३ मा २१ करोड ५९ लाख ६० हजार अमेरिकी डलर ऋण लिएको थियो । वार्षिक दुई प्रतिशत ब्याजमा २० वर्षका लागि चिनियाँ ऋण लिएर विमानस्थल निर्माण भएको हो । 

अमेरिकी राजदूत अकस्मात बालुवाटारमा 

 

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौं टेकेकै दिन शुक्रबार बिहान नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आधा घन्टा छलफल गरेका छन् । राजदूत बेरी बिहान पौने ९ बजे बालुवाटार पुगेका थिए । उनीसँगको आकस्मिक भेटका कारण प्रधानमन्त्री देउवा सेनाको पूर्वनिर्धारित कार्यक्रममा केही ढिला पुगेका थिए । 

शुक्रबार बिहान ९:३० मा प्रधानमन्त्री देउवा शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजको कार्यक्रममा सहभागी हुने एक साताअघि नै तय भएको थियो । प्रधानमन्त्री देउवालाई स्वागतका लागि प्रधानसेनापति प्रभुराम शर्मा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदु खरेल सवा ९ बजे पुगिसकेका थिए । तर, प्रधानमन्त्री समयमै पुग्न सकेनन् । 

‘प्रधानमन्त्रीलाई भेट्न अमेरिकी राजदूत बेरी आकस्मिक रूपमा बालुवाटार पुगेपछि उहाँ शिवपुरी जान ४५ मिनेटजति ढिलो भयो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो । राजदूत बेरीले प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमण र अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल नेपाल आउने विषयमा पनि चासो राखेको बालुवाटार स्रोतले जनाएको छ ।

हस्ताक्षर भएका ९ समझदारी

  • आर्थिक तथा प्राविधिक सहायतासम्बन्धी सम्झौता 
  • सीमापार रेल्वे परियोजनाका लागि चिनियाँ सहयोगमा सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायताको स्किमसम्बन्धी सम्झौता
  • नेपाल–चीन (गल्छी–रसुवागढी) पावर ग्रिड इन्टरकनेक्सनका लागि सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता
  • नेपालबाट चीनमा हेलेज घाँस निर्यातका लागि सम्झौता
  •  विश्व व्यापार संगठनको मान्यताअनुसार नेपालबाट चीन निर्यात हुने वस्तुमध्ये ९८ प्रतिशतलाई भन्सार छुट दिनेसम्बन्धी सम्झौता 
  • चिनियाँ सहयोगमा अरनिको राजमार्गको तेस्रो चरण मर्मत सम्पन्न भएको सर्टिफिकेट हस्तान्तरणसम्बन्धी समझदारीपत्र 
  •  रेल्वे क्षेत्रमा सहकार्य बढाउनेसम्बन्धी नेपालको भौतिक पूर्वाधार मन्त्रालय र चीनको नेसनल रेल्वे एडमिनिस्ट्रेसनबीच भएको सातौँ बैठकको माइन्युट 
  • चीनले नेपाललाई दिएको ४० लाख डोज खोप प्राप्तिसम्बन्धी सर्टिफिकेटमा हस्ताक्षर 
  • बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिनियाँ मेडिकल टिमलाई काम गर्न पठाउनेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
ad
ad