१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:१४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री देउवा अर्को साता भारत भ्रमणमा जाने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:१४:oo

तीन महिनाअघि रोकिएको भ्रमणमा जाँदै प्रधानमन्त्री, चैत १८ देखि २१ सम्म भ्रमण तय

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएको छ । कोरोना महामारीले रोकिएको प्रधानमन्त्री देउवाको भारत भ्रमण तीन महिनापछि पुनः तय भएको हो । 

उच्चस्तरीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवा १८ देखि २१ चैतसम्म भ्रमणमा जान लागेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका लागि आवश्यक एजेन्डाका विषयमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले तयारी थालेका छन् ।

यसअघि २५ देखि २७ पुससम्म प्रधानमन्त्री देउवा गुजरात जाने र त्यहीँ भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने तय थियो । भारत सरकारले आयोजना गरेको भाइब्रेन्ट गुजरात समिटमा प्रधानमन्त्री देउवा गुजरातमा बोलाइएका थिए । तर, कोरोना महामारी बढेसँगै समिट स्थगित भएपछि देउवाको भ्रमण पनि स्थगित भएको थियो ।

गुजरात सम्मेलन मे पहिलो साता (वैशाख तेस्रो साता) आयोजना गर्ने भारत सरकारको तयारी भए पनि निर्वाचन आचारसंहितालाई मध्यनजर राख्दै देउवाको भ्रमण अघि सारिएको कूटनीतिक अधिकारीको भनाइ छ । ‘प्रधानमन्त्रीज्यू तीनदिने भारत भ्रमणमा जाने तय भएको छ, विस्तृत विवरण चाँडै नै सार्वजनिक गर्नेछौँ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका लागि भारतको कूटनीतिक च्यानलसँग हामी निरन्तर संवादमा थियौँ । स्थानीय निर्वाचनअघि प्रधानमन्त्रीको पनि भारत भ्रमण गर्ने चाहना रहेको र भारतले पनि उहाँलाई स्वागत गर्ने इच्छा देखाएकाले संयोग मिलेको हो ।’ 

प्रधानमन्त्री देउवाले भारत सरकार तथा भारतीय जनता पार्टीको नेतृत्वसँग छलफल गर्न चाहेका छन् । त्यसका लागि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमण र कांग्रेस नेता डा. प्रकाशशरण महतको यसअघिको भारत भ्रमणले वातावरण निर्माण गरेको दुवै पक्षको बुझाइ छ । 

प्रधानमन्त्री देउवाले ७ देखि ११ भदौ ०७४ मा भारतको राजकीय भ्रमण गर्ने क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर टुंग्याउन प्रयास गरेका थिए । दुवै प्रधानमन्त्रीले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर एक महिनाभित्र टुंग्याउन सम्बन्धित अधिकारीलाई निर्देशन दिएका थिए । 

सम्बन्धित अधिकारीहरूको बैठक बसे पनि यो विषय टुंगिन सकेको छैन । विशेषतः तल्लो शारदामा जाने पानीको मूल्यांकनसहित पानीको बाँडफाँड गरौँ भन्ने नेपालको अडान छ । यसमा भारत तयार नहुँदा डिपिआर नटुंगिएको जानकार नेपाली अधिकारीहरूको भनाइ छ । 

प्रधानमन्त्रीको त्यसवेलाको भ्रमणपछि तत्कालीन ऊर्जासचिव दिनेश घिमिरे र परराष्ट्र मन्त्रालयका भारत हेर्ने महाशाखाका तत्कालीन प्रमुख यज्ञबहादुर हमालले भारतीय अधिकारीसँग पञ्चेश्वरबारे छलफल गरेका थिए । त्यसपछि पञ्चेश्वरका विषयमा द्विपक्षीय वार्ता भएको छैन । 

‘लोअर शारदामा जाने पानीको मूल्यांकनका विषयमा भारत सरकार नेपालको सरोकार सम्बोधन गर्न तयार हुनेबित्तिकै पञ्चेश्वरको डिपिआर टुंगिन्छ, यसका लागि भारतका राजनीतिक नेतृत्वलाई नेपालले सहमत गराउनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,’ वार्तामा सहभागी एक सदस्यले भने । 

के छन् एजेन्डा ? 
प्रधानमन्त्री देउवाको भारत भ्रमणमा जयनगर–जनकपुर रेल्वेको भर्चुअल उद्घाटन हुने कार्यक्रम छ । यसबाहेक भारतले देशभरि एक सय ३७ स्वास्थ्य चौकी निर्माण गरिदिने, भक्तपुरमा हिन्दू मठ बनाउनेलगायतका सम्झौता हुने गरी तयारी भइरहेको छ । 

पुसपछि भारतले दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरिसकेको छ । यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । नेपालले भारतबाट नौ लाख ३५ हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने सम्झौतामा पनि एक महिनाअघि हस्ताक्षर भइसकेको छ । 

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जहाज अवतरण गर्न भारतबाट एयर इन्ट्री रुटका लागि भारतलाई आग्रह गर्ने भएको छ । ‘काठमाडौंका लागि जहाज आउन अहिले भारतले एउटा मात्रै एयर इन्ट्री रुट दिएको छ, भैरहवामा अन्तर्राष्ट्रिय उडानका लागि हामीलाई थप एयर इन्ट्री रुट चाहिन्छ । त्यसका लागि हामी भारतलाई आग्रह गर्नेवाला छौँ,’ जानकार अधिकारीले भने, ‘यो विषय उच्च राजनीतिक तहबाट उठाउनुपर्छ, अन्य तहमा विगतमा छलफल भए पनि सहमति हुन सकेको छैन ।’ 

भारत सरकाले हिउँदयाम सकिएपछि नेपाललाई बढी हुने विद्युत् (सरप्लस इनर्जी) खरिद गर्ने घोषणा गरोस् भन्ने नेपालको चाहना छ । ‘गुजरातमा यो विषय राख्ने तयारी गरिएको थियो, अबको भ्रमणमा पनि यसबारे नेपालले कुरा राख्नेछ । भारतले नेपालको थप ऊर्जा खरिद गरिदिए नेपालको व्यापार घाटा घटाउन पनि ठूलो सहयोग हुन्छ, यसमा भारत सरकारको सकारात्मक रेस्पोन्स हुन्छ भन्ने विश्वास छ,’ कूटनीतिक स्रोतले भन्यो । 

बाढी नियन्त्रण र डुबानका विषयमा पनि छलफल हुनेछ । भ्रमणमा नेपालको ल्याबबाट गुणस्तर प्रमाणित भएका नेपाली अदुवा, अलैँचीलगायतका उत्पादन भारतीय बजारमा प्रवेश सहज रूपमा दिन पनि नेपालले भारतलाई आग्रह गर्नेछ ।