नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनाेट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ। बिहीबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकबाट एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनाेटका लागि ६ वटा मापदण्ड तय गरेको हो।
स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण, सन्तुलन र समावेशीतालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
त्यस्तै, उम्मेदवार सिफारिस गर्नका लागि वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँकमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख/उपप्रमुखको हकमा गाउँ/नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर/ महानगर कमिटीको हकमा सम्बन्धित कमिटीहरूको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने गरी केन्द्रीय कमिटी बैठकबाट टुंग्याइएको उनले जानकारी दिए।