१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ चैत ९ बुधबार ०६:४३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी विश्वकप लिग–२ : नेपाल सात विकेटले विजयी

Read Time : > 2 मिनेट
२०७८ चैत ९ बुधबार ०६:४३:००

रोहितकुमार पौडेल र आरिफ सेखबीच चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी भएपछि नेपालले आइसिसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीलाई सात विकेटले हराएको छ । लिग–२ अन्तर्गत मंगलबार दुबईको सारजहाँ मैदानमा पपुवा न्युगिनीले पहिलो ब्याटिङ गर्दैै आठ विकेटको क्षतिमा एक सय ७३ रनको मध्यम योगफल बनाएको थियो । प्रत्युत्तरमा नेपालले ३७ ओभरमा तीन विकेट मात्र गुमाएर एक सय ७४ रन जोड्दै महत्वपूर्ण दुई अंक हात पार्‍यो । 

त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीलाई दुवै खेलमा हराएको छ । नेपाल युएईसँग दुई खेलमा फराकिलो अन्तरले पराजित भएको थियो । तालिकामा नेपाल १२ अंकका साथ छैटौँ स्थानमै रह्यो । नेपालले १२ खेलमा समान ६ जित र हारको सामना गरेको छ । शीर्ष स्थानमा ओमानले २८ खेलबाट सर्वाधिक ३६ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको युएईले २२ अंक जोडेको छ । त्रिकोणात्मक सिरिजमा युएई पपुवा न्युगिनीसँग पराजित भएको थियो । पपुवा न्युगिनीले १६ खेलबाट दुई अंक जोडेको छ । 

रोहित र सेखबीच  ७७ रनको साझेदारी
सहज लक्ष्य पछ्याएको नेपाल इनिङ्सको एक समय ९७/३ को अवस्थामा थियो । नेपालले तीन विकेट गुमाउँदा २१.४ ओभर चलिरहेको थियो । सुदृढ अवस्थामा रहेको नेपालको ब्याटिङलाई रोहित र सेखले चौथो विकेट निमित्त अविजित ७७ रनको साझेदारी गर्दा नेपालले सिरिजमा दोस्रोपटक पपुवा न्युगिनीलाई हराउन सक्यो । दुवैले १५.२ ओभरसम्म ५.२ रनरेटमा ब्याटिङ गरेका थिए । रोहितले ४८ बलमा पाँच चौकाको सहयोगमा ४४ रनको योगदान दिए । सेखले एक सय २ बल सामना गरी सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले आफ्नो इनिङ्समा चार चौका प्रहार गरेका थिए । खेलमा उनी म्यान अफ दी म्याच भए । उनले बलिङको क्रममा एक विकेट पनि लिएका थिए । 

कमजोर ब्याटिङ
पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनीले इनिङ्सको २.१ ओभरमै विकेट गुमाएको थियो । नेपाललाई पहिलो सफलता फास्ट बलर करणले दिलाए । उनले ओपनर टोनी उरा (६)लाई विकेट पछाडि विनोद भण्डारीबाट क्याच आउट गराए । त्यसपछि लेगा सिआका (२०) र कप्तान असाद (४५) भालाबीच दोस्रो विकेटका लागि २१ रनको साझेदारी भयो । लेगाले ३३ बलमा तीन चौका प्रहार गरी आफ्नो विकेट सोमपाललाई दिए । असादले चालेस अमिनी (१३) सँग तेस्रो विकेट निमित्त ३० रनको साझेदारी गर्न सफल भए । पपुवा न्युगिनीलाई गतिलो साझेदारीबाट अगाडि बढाइरहेका कप्तान असाद इनिङ्सको ३५.३ ओभरमा आउट भए । उनी आउट हुँदा पपुवा न्युगिनी ११२–६ को अवस्थामा रह्यो । उनले ९६ बल सामना गरेका थिए । त्यसपछि चाद सोपरले २२ रन तथा नम्र्यान भानुआले १८ रन जोडे । पपुवा न्युगिनीको ब्याटिङ इनिङ्समा एक मात्र छक्का भानुआले प्रहार गरेका थिए । 

 नेपालको कसिलो बलिङ
पपुवा न्युगिनीले अघिल्लो खेलमा बलियो युएईमाथि सनसनी जित निकालेको थियो । त्यसवेला पपुवा न्युगिनीले निकै नै बलियो ब्याटिङ प्रदर्शन गरेको थियो । नेपालविरुद्धको महत्वपूर्ण खेलमा पपुवा न्युगिनीले यस्तै ब्याटिङ प्रदर्शन गर्ने अपेक्षा थियो । तर, फर्ममा रहेका नेपाली बलरसामु पुनः एकपटक पपुवा न्युगिनीको ब्याटिङ कमजोर देखियो । पपुवा न्युगिनीलाई मध्यम योगफलमा रोक्ने क्रममा नेपालका सोमपाल कामी र कप्तान सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए । सोमपालले ३७ रन तथा सन्दीपले २९ रन खर्चेर दुई विकेट हात पारेका हुन् । करण केसी, दीपेन्द्रसिंह र पवन सराफले समान एक विकेट लिए । 

कुशल र सेख जमे
नेपालले कमजोर सुरुवात गरेको थियो । कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ३.१ ओभरमा १० रनको मात्र साझेदारी गरेका थिए । मोरेको ओभरमा आसिफ बोल्ड भए । त्यसपछि कुशल र सेखले दोस्रो विकेटका लागि महत्वपूर्ण ८७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याए । प्रतियोगितामा पहिलोपटक उत्कृष्ट फर्ममा देखिएका कुशलले नेपालको जितमा अर्धशतकीय इनिङ्स खेल्न सफल भए । उनले ६४ बलमा एक छक्का र चार चौकाको सहयोगमा ५० रन बनाए । काबुआ मोरेएले एकै ओभरमा कुशल तथा दीपेन्द्रसिंह ऐरीको विकेट लिँदै पपुवा न्युगिनीलाई खेलमा फर्कउने प्रयास गरेका थिए । इनिङ्सको २१.२ ओभरमा कुशल तथा २१.४ ओभरमा मोरेएले दीपेन्द्रसिंहलाई सोपरबाट क्याच आउट गराए । दीपेन्द्रसिंहले यसपटक पनि रन जोडन सकेनन् । नेपालले पपुवा न्युगिनीबाट १९ अतिरिक्त रन पाएको थियो ।