मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
स्थानीयको आक्रमणबाट मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठ र प्रहरीको गोली लागेर घाइते भएका मिलन खड्का
गणेश लम्साल नयाँ पत्रिका
२०७८ चैत ८ मंगलबार ०६:५०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लेटाङ घटना : प्रहरीको गोली लागेका  युवकको अवस्था पनि गम्भीर

Read Time : > 2 मिनेट
गणेश लम्साल, नयाँ पत्रिका
२०७८ चैत ८ मंगलबार ०६:५०:००

बलात्कार आरोपी शिक्षकलाई प्रहरी नियन्त्रणमा लिन ढिलाइ हुँदा भएको थियो भिडन्त

महिला प्रहरीको ज्यान गएको मोरङको लेटाङ घटनामा गोली लागेका एक युवकको पनि अवस्था गम्भीर छ । कुम, ढाड र हातमा गोली लागेका लेटाङ नगरपालिका– ८ जाँतेका २० वर्षीय मिलन खड्काको विराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

डिआइजी अरुण बिसी, प्रदेश १ प्रहरी प्रमुख

घटना नियोजित नभएर अराजकहरूका कारण भएको हो । विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिहरूले आरोपी शिक्षकलाई समयमै प्रहरीको जिम्मा लगाएको भए ज्यानै जानेसम्मको हिंसात्मक घटना हुने थिएन ।

लेटाङ– ५ को शिक्षा विकास माविकी १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । शिक्षकलाई जोगाउन खोजेको भन्दै आक्रोशित स्थानीयले धारिलो हतियार प्रहार गर्दा विराटनगर रानीमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । झडपकै क्रममा खड्कालाई पनि गोली लागेको थियो । घटनामा २८ प्रहरी र केही स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । 

प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुण बिसीका अनुसार घटना सार्वजनिक भएपछि विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिले आरोपी शिक्षकलाई प्रहरीको जिम्मा लगाउन ढिलाइ गर्दा हिंसात्मक घटना भएको हो । ‘घटना नियोजित नभएर अराजकहरूका कारण भएको हो । विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिहरूले आरोपी शिक्षकलाई समयमै प्रहरीको जिम्मा लगाएको भए ज्यानै जानेसम्मको हिंसात्मक घटना हुने थिएन,’ उनले भने । 

होली खेल्ने क्रममा (४ फागुनमा) यौन दुर्व्यवहार  गरेको भन्दै शिक्षक पौडेलमाथि कक्षा ६ मा अध्ययनरत छात्रा र आफन्तले विद्यालयमा उजुरी गरेका थिए । उजुरीअनुसार विद्यालय प्रशासनले व्यवस्थापन समितिको बैठक राखेर आरोपित शिक्षकलाई आत्मालोचना गर्न वा राजीनामा दिन आग्रह गरेको थियो । तर, उनले गल्ती नगरेको भन्दै दुवै सर्त अस्वीकार गरेका थिए ।

त्यसपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष र न्यायिक समिति संयोजक रहेकी उपमेयरको रोहवरमा मिलापत्र गराउने छलफल भएको थियो । यौन दुर्व्यवहारजस्तो घटनामा मिलापत्र गराउन खोजेको भन्दै स्थानीय आक्रोशित बनेका थिए । उक्त समूहले विद्यालय प्रांगणमा रहेका मोटरसाइकल र स्कुटर तथा कम्प्युटर ल्याबमा तोडफोड गरेको थियो ।

त्यसैवेला अर्को एक समूहले भने पहिले घटना छानबिन गरेर मात्र शिक्षकलाई प्रहरीको जिम्मा लगाउनुपर्ने आवाज उठाएको थियो । लामो समयसम्म विवाद भएर भिड थप आक्रोशित भएपछि मात्रै विद्यालय प्रशासनले प्रहरी बोलाएको थियो । दिउँसोतिर विद्यालय पुगेको प्रहरीले शिक्षकलाई बाहिर निकाल्न सकेन । साँझ परेपछि प्रहरीले स्थानीयलाई आ–आफ्नो घर लाग्न भन्दै शिक्षकलाई बाहिर निकालेर भ्यानमा हाल्ने प्रयास गरेपछि भिड थप आक्रोशित बनेको थियो ।

दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनाका दोषीलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार मोरङकै सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन उद्घाटनका क्रममा देउवाले प्रहरीको ज्यान लिने गरी भएको घटना आपराधिक भएको र कुनै दोषीलाई नछाड्ने बताएका हुन् ।

त्यसैक्रममा धारिलो हतियार प्रहार हुँदा प्रहरी जवान श्रेष्ठ घाइते भएकी थिइन् । प्रहरीले भिड नियन्त्रण लिन केही राउन्ड गोली र अश्रुग्यास प्रहार गरेको थियो । गोली लागेर युवक खड्का पनि घाइते भएका थिए । श्रेष्ठको राति अस्पतालमा मृत्यु भएको थियो भने खड्काको उपचार भइरहेको छ । 

सोमबार दिनभर कर्फ्यु लगाएर घरघरमा प्रहरीको स्क्रिनिङ
मोरङ प्रशासनले थप अप्रिय घटना हुन नदिन सोमबार बिहानैदेखि लेटाङ– ५ आसपासमा कर्फ्यु लगायो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले लेटाङमा सुरक्षा व्यवस्था कडा पारेका छन् । तर, दिनभर उक्त क्षेत्र तनावग्रस्त नै रह्यो । प्रहरीले जवान श्रेष्ठको ज्यान लिनेलाई पक्राउ गर्न घर–घरमा खानतलासी गरेको छ । स्क्रिनिङका क्रममा प्रहरीले एक दर्शन युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

१२ फागुनमा लेटाङमै विद्यालयबाट घर फर्कँदै गरेकी १२ वर्षीया बालिकाको ६३ वर्षीय वृद्धले बलात्कारपछि हत्या गरेका थिए । उक्त घटनाको विरोधमा लेटाङवासीले चरणबद्ध प्रदर्शन गरेका थिए । त्यस्तै, मोरङकै सुन्दरहरैँचामा २८ फागुनमा १८ महिने बालिकालाई दुई दाजुभाइ मिलेर सामूहिक बलात्कार गरी हत्या गरेका थिए । यो घटनापछि पनि स्थानीय आन्दोलित भएका थिए । आरोपीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका स्थानीय ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा नै चलाएको थियो । यसले स्थानीय थप आक्रोशित बनेका थिए । त्यसअघि पनि मोरङमा बलात्कारका शृंखलाबद्ध घटना भएका थिए ।

डेढ वर्षमा छात्रा बलात्कार अभियोगमा १९ शिक्षक पक्राउ 
शिक्षकले आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको विषयलाई लिएर विवाद हुँदा भएको झडपमा आइतबार मोरङको लेटाङमा एक प्रहरी जवानको मृत्यु भयो । आइतबार नै चितवनको माडी नगरपालिकास्थित सोमेश्वर उमाविका शिक्षक सुरज लामिछाने छात्रामाथि दुर्व्यवहारकै अभियोगमा पक्राउ परे । यी विद्यालयमा बढेको अनुशासनहीनता र अपराध झल्काउने प्रतिनिधि घटना हुन् । 

यौन दुर्व्यवहार  मात्र होइन, कतिपय छात्राहरू शिक्षकबाटै बलात्कारमा परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आफ्नै छात्रालाई बलात्कारको आरोपमा गत आर्थिक वर्षमा १५ जना शिक्षक पक्राउ परेका थिए । यो वर्षको गत माघसम्म चारजना पक्राउ परेको प्रहरी तथ्यांक छ । आफ्नै शिक्षकबाट छात्राहरूले यौन दुर्व्यवहार  भोगेका घटना प्रशस्तै हुने गरेका छन् । कतिपय यस्ता घटनामा समाजमै मिलापत्रसमेत हुने गरेको छ । पछिल्ला घटनाले विद्यालयमा आपराधिक घटना बढेको र यसमा सुधारको आवश्यकता देखिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसी बताउँछन् ।