मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मुना कुँवर काठमाडाैं
२०७८ चैत ८ मंगलबार ०६:१६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

विभाजन हुनबाट रोकियो एनआरएनए : अध्यक्षका प्रत्याशी केसी र आचार्यले एक–एक वर्ष नेतृत्व सम्हाल्ने

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७८ चैत ८ मंगलबार ०६:१६:००

विभाजनको सँघारमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको विवाद समाधान भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेका नेतासहित भएको छलफलले विवाद समाधान भएको स्रोतले जनाएको छ । सहमतिअनुसार अध्यक्षका प्रत्याशी डा. बद्री केसी र कुल आचार्यले एक–एक वर्ष कार्यकाल चलाउनेछन् । पहिलो वर्ष कुल आचार्यले संघको नेतृत्व गर्नेछन् भने डा. बद्री केसीले दोस्रो कार्यालयको नेतृत्व गर्नेछन् । सहमति हुने भएपछि अध्यक्षका अर्को प्रत्याशी रविना थापा  भने सल्लाहकार बन्ने भएकी छिन् । 

यसअघि पनि पटक–पटक भएको छलफलमा सहमति हुन नसकेपछि असन्तुष्ट पक्षका तर्फबाट चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले उच्च अदालत पाटनमा निर्वाचन रोकिपाऊँ भनी मुद्दा दायर गरेका थिए । आइतबार भएको बहसमा अदालतले निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो । निर्वाचन प्रक्रिया नै रोकिने भएपछि सोमबार बेलुका नेपाली कांग्रेसका नेताहरूको मध्यस्थकर्तामा सहमति भएको हो । सोमबार रातिसम्म कार्यसमितिका अन्य पदाधिकारीमा पनि सहमतिका लागि छलफल भइरहेको स्रोतको भनाइ छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले संस्थापन पक्षलाई संस्था नै फुटाउने चेतावनी देखाउँदै आएका थिए । सोमबार साँझ विवाद समाधान भए पनि उनी अझै सन्तुष्ट छैनन् । स्रोतका अनुसार पूर्वअध्यक्ष घले र उनकी श्रीमती जमुना घलेले कुनै पार्टीको सहयोग नभए पनि समानान्तर निर्वाचन गराइछाड्ने अडान लिएका छन् । तर, सोमबारको छलफलपछि कुल आचार्यले भने घलेको साथ छोड्ने भएका छन् । घलेले अयोजना गर्ने निर्वाचनमा उनी सहभागी नहुने भएका छन् । 

संघलाई विभाजनतर्फ लैजान घलेले प्रमुख भूमिका खेलेको देखिएको छ । तसर्थ, राजनीतिक दलका नेताहरूले घलेलाई बाइकट गरी कुल आचार्य र संघका अध्यक्ष कुमार पन्तसहित संस्थापन पक्षबीच सहमतिका लागि छलफल गरेका थिए । यस अघि पनि नेपाली कांग्रेसका नेताहरूको मध्यस्थकर्तामा दुवै पक्षबीच छलफल भएको थियो । तत्कालीन समयमा पनि दुवै पक्षबीच करिब–करिब सहमति भइसकेको थियो । तर, शेष घलेका कारण समस्या बल्झिएको संघका सदस्यहरू नै बताउँछन् । 

पूर्वअध्यक्षले शेष घलेले संस्थापन पक्षले आफूले सिफारिस गरेको एनसिसी प्रतिनिधिको सूची कार्यान्वयन नगरेको भन्दै छुट्टै निर्वाचन समिति गठन गरेका छन् । प्रतिनिधि छनोट प्रक्रियालाई दोहो¥याउनुपर्ने, निर्वाचनको नेतृत्व पूर्वअध्यक्ष शेष घलेले पाउनुपर्ने, निर्वाचनमा अनिवार्य सेल्फी सिस्टम हटाउनुपर्ने उनको माग छ । तर, संस्थापन पक्षले विधानविपरीत कुनै पनि सर्त मान्य नहुने अडान राखेका छन् । सहमतिका लागि हदैसम्म लचिलो हुन तयार भए पनि विधानविपरीत नगर्ने अध्यक्षका प्रत्याशी डा. केसीले बताए ।

घलेले प्रतिनिधि छनोटमा घोटाला भएको भन्दै विरोध जनाए पनि उनले व्यक्तिगत रिसइबी साँधेको संघका सदस्यहरू बताउँछन् । संघका पूर्वअध्यक्ष जीवा लामिछाने र उपाध्यक्ष डा. बद्री केसीसँग बेमेल छ । त्यसैले घले यसपटक कुनै पनि हालतमा डा. केसीलाई अध्यक्ष पदमा आउन नदिने प्रयासमा लागिपरेका छन् । त्यति मात्रै होइन, घलेले संघभित्र आफ्नो प्रभाव जमाइराख्न आफूअनुकूलको उम्मेदवारको खोजी गरेको सदस्यहरू बताउँछन् । डा. केसीसँग उनको मिल्ती नभएपछि उनको विरुद्धमा उनले कुल आचार्यलाई बोकेर हिँडेको आरोप छ । 

एनआरएनएको असन्तुष्ट पक्षले संघका पूर्वअध्यक्ष शेष घलेको प्रमुख संरक्षकत्वमा १०औँ  अधिवेशन प्रक्रिया अगाडि बढाएका छन् । याक एन्ड यती होटेलमा गरिने महाधिवेशनका लागि उनले ६ सदस्य निर्वाचन समितिसमेत गठन गरिसकेका छन् । घलेले विश्वनाथ बराल (अमेरिका)लाई प्रमुख निर्वाचन अधिकृतमा नियुक्त गरेका छन् । त्यस्तै, निर्वाचन अधिकृतमा वासुदेव फुलारा (अमेरिका), मेजर डमर घले (युके), पुष्प थापा (जर्मनी), विमल सुवेदी (कतार), प्रकाश धमला (दक्षिण कोरिया) नियुक्त रहेका छन् । त्यस्तै, असन्तुष्ट पक्षले भने आगामी मार्च २२ देखि २५ तारिखमा महाधिवेशन र निर्वाचनको आयोजना गरेका छन् ।

 
संस्थापन पक्षले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)को निर्वाचनका लागि छनोट गरेको प्रतिनिधिको संख्यामा घोटाला भएको भन्दै संघ पूर्वअध्यक्ष शेष घले, संघका सल्लाहकार एवं अध्यक्षका प्रत्याशी कुल आचार्य, संघका उपाध्यक्ष सोनाम लामालगायतले असन्तुष्टि पोख्दै आएका थिए । संस्थापन पक्षले तीन हजार ६ सय एनसिसी प्रतिनिधिको सूची निर्वाचन समितिलाई पठाएको थियो । तर, असन्तुष्ट पक्षको नेतृत्व गरेको पूर्वअध्यक्ष शेष घलेले दुई हजार ६ सय प्रतिनिधि तयार पारेका थिए । तर, संस्थापन पक्षले उनको प्रतिनिधि छनोटको सूची अस्वीकार गरेपछि घले रुष्ट भएका हुन् । निर्वाचनका लागि घलेले एनसिसीहरूलाई काठमाडाै‌ंमा डाकेको स्रोतले बताएको छ । कतिपय एनसिसीलाई हवाई टिकट र खाने–बस्ने सुविधाको व्यवस्थासमेत गरिदिएको बुझिएको छ । 

उता एनआरएनएको संस्थापन पक्षले निर्वाचनको अन्तिम तयारी गरिसकेको छ । २४ र २५ मार्चमा निर्वाचनका लागि मतदाता नामावलीसमेत सार्वजनिक भइसकेको छ । संघको निर्वाचन समितिले निर्वाचनमा तीन हजार ९८ जनाले मात्रै सहभागिता जनाउन सक्ने बताएका छन् । निर्वाचनका लागि तीन हजार पाँच सय ९० छनोट भएका थिए । तर, करिब एक सय ५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरूलाई मतदाता नामावलीबाट हटाइएको समितिले जनाएको छ । बाँकी मतदाताको स्मार्ट एनआरएनएमार्फत सेल्फी लिन चुकेपछि सूचीबाट नाम हटाइएको हो । संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायतका पदमा मतदान हुँदै छ ।