१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २ बुधबार
  • Sunday, 11 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७८ चैत २ बुधबार o८:४६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लिदीका पहिरोपीडित मारमा

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७८ चैत २ बुधबार o८:४६:oo

जुगल गाउँपालिका–२ लिदीका निमाछिरिङ र इन्द्र दोङले जन्मथलो छाडेर बाँसखर्कमा वास बस्न थालेको वर्षदिन हुन लाग्यो । ३० साउन ०७७ मा आएको भीषण पहिरोमा उनीहरूले परिवार गुमाए । अपूरणीय त्यो पीडा त छँदैछ, पहिरोपछि जन्मभूमि छोडेर अन्यत्र जानुपर्दाको पीडाले दोङद्वयलाई सताइरहेको छ । 

भूगर्भविद्ले भनेका छन्, ‘पहिरोमाथि बसेको लिदी जहिल्यै जोखिममा छ ।’ त्यसैले लिदीका स्थानीय अधिकांशले निर्णय गरेका छन्, हिउँद लागेपछि खेती गर्न गाउँ जाने र बर्खामा बाँसखर्क आएर ज्यान जोगाउने । लिदीमा आलु, मकै, कोदो र गहुँ उत्पादन राम्रो हुन्छ । पशुपालनबाट स्थानीयले मनग्गे आम्दानी गर्छन् । पाँचपोखरी पुगेर यार्सागुम्बा टिप्ने र अन्य जडीबुटी संकलन गरेर पनि थप आम्दानी गर्छन् । बाँसखर्कमा बनेको नयाँ घर वास मात्रै हो । त्यसैले अधिकांश लिदीवासीले बर्खाभर ज्यान जोगाउन मात्रै बाँसखर्कको पक्की घर प्रयोग गर्ने सोचेका छन् । 

पहिरो पन्छाउँदै उनीहरूले लिदीमा पशुपालनका लागि गोठ र आफू बस्ने अस्थायी घर निर्माण गरेका छन् । लिदीमा आठसम्म पढ्ने विद्यालय छ । पहिरोपछि पनि स्थानीय बालबालिका गाउँमै पढ्छन् । आठ पास गरेका विद्यार्थीलाई बाँसखर्क बसेर सेलाङ वा स्याउलेमा पढ्न सहज हुन्छ । विगतमा लिदीका बालबालिका आठ पास भएपछि विद्यालय पुग्न टाढा भएकाले अधिकांशले पढाइ छोड्थे । 

पहिरोले विस्थापित लिदीवासी दुई सय नौ घर हुन् । कादुरी नामक संस्थाले बाँसखर्कमा ६८ घर तयार पारेको छ । पहिरोले घरजग्गा पुरेर बिचल्लीमा परेकालाई यी घरमा राखिने तयारी अन्तिम चरणमा पुगेको छ । डेढ वर्षपछि पक्की घरमा बस्न पाउने भएकोमा पहिरोपीडित उत्साही छन् । दोङद्वय भन्छन्, ‘परिवार गुमे पनि नयाँ वास पाउँदा खुसी छौँ ।’ 

पहिरोपीडितले नयाँ घर बनाउँदा दैनिक रोजगारी पनि पाएका छन् । कादुरीले यी घर बनाउन ६ करोडभन्दा बढी रकम खर्च गरेको वडाध्यक्ष प्रताप लामाले बताए । ‘स्वावलम्बन संस्थाले ४० घर बनाउने सम्झौता गरेर डिपिआर गरिसकेको छ,’ पहिरो गएदेखि हालसम्म फिल्डमा खटिरहेका लामाले भने, ‘एक सय आठ घर संघसंस्थाले बनाइदिन्छन्, बाँकी सरकारले जिम्मा लिन्छ ।’ 

जग्गा किन्न तीन लाख र घर बनाउन पाँच लाख गरी प्रत्येक विस्थापित घरपरिवारलाई आठ लाखका दरले रकम दिने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले प्रस्ट्याए । विस्थापितलाई रकम उपलब्ध गराउन जुगल सरकारले धमाधम फर्म भरेर विवरण तयार पारिरहेको छ ।