१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सुवास भट्ट काठमाडाैं
२०७८ फाल्गुण २८ शनिबार ०६:११:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोकाकोलाविरुद्ध तीन अर्ब ७१ करोड  ८१ लाख कर छलीको मुद्दा

Read Time : > 3 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०७८ फाल्गुण २८ शनिबार ०६:११:००

बिगो र जरिवानासहित सात अर्ब ४४ लाख असुलउपर गर्न र पाँच वर्षसम्म कैद सजाय माग

नेपालमा कोक, फेन्टा, स्प्राइटलगायत पेय पदार्थ उत्पादन तथा बिक्री गर्दै आइरहेको बोटलर्स नेपालविरुद्ध राजस्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा शुक्रबार मुद्दा दायर गरिएको हो ।

कर छलीमा संलग्न बोटलर्स, त्यसका प्रबन्ध निर्देशकसहित आठ पदाधिकारी र कोकाकोला साब्को एसियाका सञ्चालक समितिका अध्यक्षसहित नौ गरी १७ जनाविरुद्ध दायर मुद्दामा बिगो र जरिवाना गरी उनीहरूबाट सात अर्ब ४३ करोड ६३ लाख आठ सय २२ रुपैयाँ असुलउपर गर्नुपर्ने उल्लेख छ । त्यस्तै, तीनदेखि पाँच वर्षसम्म कैद सजाय पनि माग दाबी गरिएको छ । 

बोटलर्समा अधिकांश सेयर ओगटेको दुबईस्थित कोकाकोला साब्को एसियाले आफ्नो शतप्रतिशत स्वामित्व युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा लाग्ने पुँजीगत लाभ कर छली गरेको विभागले जनाएको छ । सात वर्षअघि यो कर छली गरिएको थियो । यो मुद्दाको आरोपपत्र नै ५३ पृष्ठको छ ।

विभागले काठमाडौं महानगरपालिका– १६ बालाजु औद्योगिक क्षेत्रमा रहेको बोटलर्स नेपाल लिमिटेडलाई मुख्य प्रतिवादी बनाएको छ । त्यस्तै, साब्को एसियाका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिका अध्यक्षसहितका नौजना बोर्ड सदस्य र बोटलर्सका प्रबन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखापरीक्षणको मुख्य जिम्मेवारीमा रहेका आठ पदाधिकारीलाई पनि प्रतिवादी बनाएको छ । 

साब्को एसियाका बोर्ड अध्यक्ष शुक्ला वास्सान र निर्देशकहरू मेल्विन तान चुन पिन, मोहमद अमिन घोनिम, गौरव खोस्ला, सुन्दीप बजोरिया, देवव्रत मुखर्जी, सुमान्ता दत्त, जवाहर सोलाई कुप्पुस्वामी र संकेत रायलाई प्रतिवादी बनाइएको छ । 

त्यस्तै, बोटलर्स नेपालका प्रबन्ध निर्देशकद्वय प्रदीप पाण्डे र पुनीत चन्द्रपाल वर्शनी, फाइनान्स डाइरेक्टरहरू राजीव टन्डन, भरतबाबु दाहाल र सुमित गोयल, फाइनान्स कन्ट्रोलर अशोककुमार मण्डल, बोर्ड निर्देशक डा. त्रिलोचन उप्रेती र सञ्जीवकुमार मिश्रलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूलाई मतियारका रूपमा मुद्दा चलाइएको हो ।

सेल कम्पनीमार्फत कारोबार 
यो कर छलीको अनुसन्धान गरेका विभागका अधिकारीहरूका अनुसार कोकाकोलाको सेयर खरिद–बिक्रीको कारोबार गर्ने साब्को एसिया र युरोपियन रिफ्रेसमेन्ट दुवै ‘सेल कम्पनी’ हुन् । अर्थात् उनीहरू भौतिक अस्तित्व नभएका, तर सम्बन्धित देशको कानुनबमोजिम दर्ता भएका कम्पनी हुन् । कर छली प्रयोजनका लागि अफसोरमा हुने कारोबारमा यस्ता कम्पनीको प्रयोग हुने गरेको छ । 

जसरी बोटलर्सलाई साब्को एसियाले ‘होल्ड’ गरेको छ, साब्को एसियालाई साब्को साउथ अफ्रिकाले ‘होल्ड’ गर्छ । साब्को साउथ अफ्रिकालाई त्यहाँको गुत्से फेमिली इन्भेस्टमेन्टले ‘होल्ड’ गर्छ । यो समूहले अफ्रिकामा पनि कोकाकोलाको बोटलिङ गर्छ । 

यो कारोबारमा साब्को एसियाले युरोपियन रिफ्रेसमेन्टलाई आफ्नो सेयर बेचेको देखिन्छ । युरोपियन रिफ्रेसमेन्टलाई फेरि ‘अमेरिकाको कोकाकोला एटलान्टा’ले ‘होल्ड’ गर्छ । कोकाकोला एटलान्टा कोकाकोलाको मुख्य कम्पनी हो । 

‘यथार्थमा सेयर खरिद–बिक्रीको कारोबार गुत्से फेमिली इन्भेस्टमेन्ट र अमेरिकाको कोकाकोला एटलान्टाबीच भएको हो,’ विभाग स्रोत भन्छ, ‘तर, कानुनी रूपमा प्रक्रिया र कारोबार साब्को एसिया र युरोपियन रिफ्रेसमेन्टबीच भएको देखिएकाले अनुसन्धान त्यहीँ टुंगिएको हो ।’ 

विभागले एक वर्ष लगाएर गरेको थियो अनुसन्धान 
राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार यस विषयमा करिब एक वर्षअघिदेखि नै अनुसन्धान तथा छानबिन सुरु भएको हो । अघिल्लो वर्ष मंसिरदेखि अनुसन्धान अधिकृत खटाएर छानबिन थालिएको थियो । 

यसको छानबिन केही समयअघि नै सकिएको थियो । तर, महान्यायाधिवक्ता कार्यालयको ‘अस्वाभाविक चासो’ले मुद्दा दायर प्रक्रिया रोकिएको थियो । उच्च सरकारी वकिल कार्यालयले गत साता मुद्दा चलाउन सहमति दिएपछि विभागले मुद्दा दर्ता गरेको हो । 

यसरी गरिएको थियो कर छली
साब्को एसियाले ७ कात्तिक ०७१ मा बोटलर्समा रहेको आफ्नो शतप्रतिशत सेयर (१४ लाख ८४ हजार तीन सय एक कित्ता) आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरेको थियो । नेपालको बोटलर्सको ‘अफसोर’ सेयर कारोबार भएको थियो । तर, यति ठूलो परिमाणमा भएको सेयर खरिद–बिक्रीमा लाग्ने पुँजीगत लाभ कर तिरिएन । सेयर स्वामित्व परिवर्तन हुँदा २५ प्रतिशत पुँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था छ । 

साब्को एसियाले प्रतिकित्ता पाँच सय 
३६ रुपैयाँमा बोटलर्सको सेयर खरिद गरेको थियो । युरोपियन रिफ्रेसमेन्टसँग सेयर कारोबार हुँदा बोटलर्सको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य तीन हजार आठ सय ८३ रुपैयाँ रहेको विभागले जनाएको छ । साब्कोले खरिद गरेको प्रतिकित्ता सेयरको मूल्यबाट युरोपियन रिफ्रेसमेन्टलाई बेचेको प्रतिकित्ता बिक्री मूल्यको अन्तर अर्थात् प्रतिकित्ता नाफा तीन हजार तीन सय ४७ रुपैयाँ छ । 

आफ्नो स्वामित्वको १४ लाख ८४ हजार तीन सय एक कित्ता सेयर प्रतिकित्ता तीन हजार तीन सय ४७ का दरले बेच्दा कोकाकोला साब्कोले चार अर्ब ९६ करोड ७९ लाख ५५ हजार रुपैयाँ नाफा अर्थात् पुँजीगत लाभ आर्जन गरेको थियो । यो नाफामा आयकर ऐनबमोजिम २५ प्रतिशतका दरले पुँजीगत लाभ कर लाग्छ, जुन छलियो । 

साब्को एसिया र युरोपियन रिफ्रेसमेन्टबीच कारोबार हुँदा आयकर ऐन, २०५८ को अनुसूची १ को दफा २ (१) बमोजिम पुँजीगत लाभमा एक अर्ब २४ करोड १९ लाख ८७ हजार लाभ कर लाग्ने विभागले जनाएको छ । त्यस्तै, ऐनको दफा ७ (१) बमोजिम (०.१ प्रतिशत) दरले तीन करोड ४१ लाख शुल्क, दफा ११८ बमोजिम १५ प्रतिशतका दरले नौ करोड ७८ लाख ब्याज, दफा ११९ बमोजिम अर्को १५ प्रतिशतका दरले एक अर्ब १० करोड २२ लाख ६५ हजार ब्याज र दफा १२० (ख)अनुसारको शुल्क एक अर्ब २४ करोड १९ लाख ८८ हजार शुल्क लाग्ने विभागले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ । यी सबै जोड्दा आउने तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार रुपैयाँलाई विभागले बिगो कायम गरेको छ । 

‘बोटलर्स नेपाल लिमिटेडको निहित सेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायमा कुनै जानकारी नदिई तथा सेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडिको आयकर ऐन, २०५८ को दफा ५७ को प्रक्रियाअनुसार आव ०७१/७२ को छुट्टाटुट्टै आय विवरण पेस नगरी तथा निहित सेयर स्वामित्वमा परिवर्तन भएको कारणले सिर्जना हुने ऐनबमोजिमको कर दायित्व पूरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ को देहाय (क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको छ,’ विभागले आरोपपत्रमा भनेको छ ।