एमसिसीका सर्तहरू अन्य वैदेशिक सहायताको सर्तभन्दा पारदर्शी र खुकुलो रहेको सञ्चारमन्त्रीको दाबी
सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसीका सर्तहरू अन्य वैदेशिक सहायताको सर्तभन्दा पारदर्शी र खुकुलो रहेको दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा परशुराम-सकुन्तला स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको सम्मान समारोहमा बोल्दै मन्त्री कार्कीले एमसिसीका सर्तहरू अन्य वैदेशिक सहायताको सर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गरे । उनले एमसिसीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासको लक्ष्य राखेको पनि बताए । मन्त्री कार्कीले एमसिसी सम्झौता समयमै सम्पन्न गरेर सरकार देश विकास र गरिबी निवारणप्रति गम्भीर छ भन्ने कुराको प्रमाण दिनुपर्ने बताए । उनले गरिबी, पछौटेपन, विभेदजस्ता कुरालाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको बारेमा सोच्नुपर्ने वेला आएको बताए ।
एमसिसीलाई हामीले नेगेटिभिटिजम बढाएर राष्ट्रघातको काम हुनेछ भनेर समाजमा एउटा तस्बिर खडा गरेको बताए । एमसिसी नेपाली जनताले निर्वाचित गरेको सार्वभौम संसद्ले करिब एकमतले पारित गरेको छ र अब यसलाई समयमै हामीले सम्पन्न गरेर ३१५ किलोमिटर ट्रान्समिसन लाइन, ७७ किलोमिटर सडक थप राष्ट्रियस्तरको सडक निर्माण गरेर हामी विकासप्रति जिम्मेवारी देखाउने बताए । यो अनुदानले मुलुकको गरिबी निवारण र दिगो आर्थिक विकासमा ठूलो महत्व राख्छ भन्ने कुराको जवाफ यो सम्पन्न गरेर दिनुपर्नेमा जोड दिए ।
मन्त्री कार्कीले दिगो विकास, सुशासन, सभ्य र समृद्ध नेपाल बनाउने सपनालाई पूरा गरेर अबको पुस्तालाई धनी पुस्ताको रूपमा संसारमा चिनाउनुपर्ने बताए ।