मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण २६ बिहीबार १९:०९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सर्तैसर्त, अवरोधै अवरोध 

Read Time : > 2 मिनेट
२०७८ फाल्गुण २६ बिहीबार १९:०९:००

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सधैँ एउटा न एउटा समस्या उत्पन्न भइरहन्छ। कहिले वर्षातको कारण सडक बिग्रन्छ। कहिले सिस्डोलमा फोहोर फाल्ने ठाउँ भरिएर फोहोरका गाडी रोकिन्छन् त कहिले स्थानीयले फोहरका गाडी लैजान दिँदैनन्। 

१० दिनअघि मात्रै पासाङलामु सडकखण्ड कालोपत्रेको माग राख्दै सडक अवरोध भएको थियो। जसका कारण ८ दिनसम्म उपत्यकाको फोहोर उठेन। फोहोरका कन्टेनर सडकमै रोकिए। सहरका चोकचोकमा फोहोरका डंगुर थुप्रिए। 

१५ दिनभित्र सडक कालोपत्रे बनाउने सर्तपछि मात्रै स्थानीयले फोहोरका गाडी गुड्न दिए। धेरै दिन सडकमै थुप्रिएको फोहोर त्यसपछि उठाउन सुरु भयो। त्यतिवेला होल्ड भएको फोहोर अझै उठाएर सकिएको छैन। कतिपय सडक किनारमा १५/२० दिनदेखि नै फोहोर थुप्रिएको देखिन्छ। होल्ड भएको फोहोर व्यवस्थापन गरेर नभ्याउँदै बुधबारदेखि फेरि उपत्यकाको फोहोर उठ्न छाडेको छ। सिसडाेल क्षेत्रमा फोहोरका गाडीलाई स्थानीयले निषेध गरेपछि फोहोर उठ्न छाडेको हो।

नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडा क्षेत्रको जमिन अधिग्रहण गरिदिन माग राख्दै बन्चरेडाँडावासीले फोहोर व्यवस्थापनमा फेरि अवरोध सिर्जना गरेका हुन्। यसअघि सिसडाेलवासीले आसपासमा दुर्गन्ध फैलिएपछि पटक–पटक फोहोरका गाडी रोकेका थिए। 

सरकारले उक्त समस्या समाधान गरिदिएपछि फेरि अर्को समस्या आइलागेको काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्। फोहोर व्यवस्थापनमा स्थानीयले सर्तैसर्त राख्दा उपत्यकाको फोहोर निरन्तर उठाउन नसकिएको उनले बताइन्। 

‘फोहोर उठाउने र व्यवस्थापन गर्ने काम महानगरको हो तर स्थानीयका माग पूरा गर्ने काम महानगरको होइन,’ उनले भनिन्, ‘अन्य निकायले ल्यान्डफिल्ड साइट क्षेत्रका बासिन्दाको माग पूरा नगर्दा हामीलाई फोहोर व्यवस्थापनमा समस्या भयो।’ उनले सडक विभाग र सहरी विकास मन्त्रालयले गर्नुपर्ने दायित्व पूरा नगर्दा महानगरले गाली खानुपरेको बताइन्।  

बन्चरेडाँडामा सरकारले नयाँ ल्यान्डफिल्ड साइट तयार पार्दै छ। उक्त ल्यान्डफिल्ड साइटमा फोहोर फाल्न मिल्ने अवस्था लगभग भइसकेको छ। तर निर्माण कार्यमा अवरोध हुन भएपछि महानगरले पुरानै ठाउँ सिसडाेलमा विसर्जन गर्दै आइरहेको छ। तर बन्चरेडाँडा क्षेत्रमा फोहोर फालेपछि वरिपरि बस्न नसकिने अवस्था हुने भएपछि आसपासमा स्थानीयले आफूहरूको जग्गा जमिन सरकारलाई किनिदिन आग्रह गरेका छन्। 

उनीहरूले आफूहरूको जग्गा सरकारले नकिने फोहोर फाल्न नदिने सर्त राख्दै आएको छ। लामो समयदेखि राखेको माग पूरा नभएपछि उनीहरूले बुधबारदेखि फोहोरका गाडी नै रोकेर अवरोध गरेका छन्। स्थानीयको अवरोधका कारण दुई दिनदेखि फोहोर उठ्न छाडेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। उनका अनुसार स्थानीयले एकपछि अर्को माग तथा सर्त राख्दा पटक-पटक फोहोर व्यवस्थापनमा समस्या हुँदै आइरहेको छ। तर त्यसको समाधान गर्ने जिम्मा भने महानगरपालिकाको नभएको प्रवक्ता डंगोलको भनाइ छ। 

‘उपत्यकाको फोहोर उठाउने जिम्मा महानगरको हो, तर संरचना बनाउने र स्थानीयको जग्गा अधिग्रहण गर्ने काम सहरी विकास मन्त्रालयको हो,’ उनले भने, ‘माथिल्लो निकायले समन्वय नगर्दा सडकको फोहोर सडकमै थुप्रिने अवस्था आयो।’ 

हाल उपत्यकामा दैनिक एक हजार मेट्रिकटन फोहोर उत्पादन हुन्छ। तर दुई दिनदेखि सिसडोलमा फोहोर लैजाने कन्टेनर रोकिएपछि उपत्यकाका सडक किनार र चोकचोकमा करिब दुई हजार मेट्रिकटन फोहोर थुप्रिएको महानगरपालिकाले जनाएको छ। 

सहरी विकास मन्त्रालयले स्थानीयका समस्या समाधान गरेपछि मात्रै फोहोर उठ्ने भएकोले सहरी विकास मन्त्रालयलाई उक्त समस्या जानकारी गराइएको सिसडोल ल्यान्डफिल्ड साइटका प्रमुख सरकारदीप श्रेष्ठले बताए। 

उनले माथिल्लो निकायले समन्वय नगर्दा फोहोर व्यवस्थापनमा निकै समस्या उत्पन्न हुने भएको बताए। ‘फोहोर उठेन भनेर हामीलाई गाली गर्छन् तर माथिल्लो निकायले सहयोग गर्दैनन्,’ उनले भने, ‘स्थानीयका माग पूरा गर्ने सबै दायित्व महानगरको मात्रै होइन।’ 

उनले यसअघि पनि स्थानीय विभिन्न सर्त राख्दै पटक-पटक फोहोरका कन्टेनर गुड्न नदिएको बताए। स्थानीयका माग सम्बोधन गरेमा उक्त समस्या समाधान हुने उनको भनाइ छ। सहरी विकास मन्त्रालयले गत १८ भदौदेखि नै काठमाडौं महानगरपालिकालाई नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडामा फोहोर फाल्न दिने बताए पनि हालसम्म पनि ल्यान्डफिल्ड साइट हस्तान्तरण गरेको छैन।