
मधेस प्रदेश, कर्णाली र सुदूपश्चिम प्रदेशमा ‘वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा’ परियोजना सञ्चालन हुने भएको छ । युथ इन्नोभेसन ल्याबको नेतृत्व र Restless Development Nepal, CREASION र CDMS को साझेदारीमा उक्त परियोजना सञ्चालन हुन लागेको शुक्रबार विज्ञप्तिमार्फत जनाइएको छ ।
जनवरी २०२२ देखि डिसेम्बर २०२५ सम्म वातावरण संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा तीनै प्रदेशमा युवाहरू परिचालन गरिने जनाइएको छ। कोभिड-१९ को महामारीपश्चात् युवाहरूको रोजगारीका अवसरहरूमा असर परेको समयमा यस परियोजनाद्वारा तीनै प्रदेशलाई प्राथमिकता दिई रोजगारीको अवसरहरू सिर्जना गर्ने परियोजनाको लक्ष्य छ ।
यस परियोजनाले युवाहरूमार्फत स्थानीय तहको जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी तथ्यमा आधारित नीति, योजना तथा कार्यक्रम निर्माण गर्न क्षमता विकास गर्ने जनाइएको छ ।