Skip This
ad
विमानस्थलमा सर्वसाधारणलाई सास्ती,  सुन तस्करी गर्नेलाई ‘सहज’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o९:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विमानस्थलमा सर्वसाधारणलाई सास्ती,  सुन तस्करी गर्नेलाई ‘सहज’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:o१:oo

भिजिट भिसामा मानव तस्करी बढेको भन्दै सरकारले गत १० माघदेखि नयाँ मापदण्ड लागू गर्र्दै अत्यावश्यकबाहेकको अवस्थामा भिजिट भिसामा विदेश जान रोक लगायो । नयाँ मापदण्डले अत्यावश्यक कामले जान लागेकासमेत मापदण्डभित्र नपर्दा कतिपय रोकिए । तर, सुन तस्करी गर्नेको हकमा भने नयाँ मापदण्डले रोकन । 

गत शुक्रबार तस्करीको एक केजी एक सय ६५ ग्राम सुनसहित पक्राउ परेका सुनसरीका कमल घिमिरे १७ माघमा भिजिट भिसाा सहजै दुबई गएका थिए ।  उनको कुनै अत्यावश्यक काम देखिने अधार नभए पनि अध्यागमन कर्मचारीले रोकेनन्, किनकि भिजिट भिसा मात्र होइन सुन तस्करीका लागि समेत उनले अध्यागमन कर्मचारीसँग सेटिङ मिलाएका थिए । 

दुबईबाट ल्याएको सुन अध्यागमनका नायब सुब्बा लक्ष्मण गुरागाईले नै पास गरिदिएका थिए । अध्यागमनको काउन्टरअगाडि रहेको शौचालयमा घिमिरेले सुन गुरागाईलाई दिए । भन्सार चेकिङबाट घिमिरे बाहिर आएपछि बाहिरतर्फको शौचालयमै गएर गुरागाईले उनलाई तस्करीको सुन दिएका थिए । प्रहरीलाई शंका लागेर घिमिरेलाई पक्राउ गर्दा उनीसँग तस्करीको सुन भेटिएको थियो । पछि सिसिक्यामेरामार्फत अनुसन्धान गर्दा अध्यागमन कर्मचारीले नै पास गरिदिएको खुलेको हो । त्यसपछि गुरागाईलाई समेत पक्राउ गरी भन्सार बुझाइएको प्रहरीले जनाएको छ । अनुसन्धानमा उनीहरूबीच लामो समयदेखि च्याट हुँदै आएको र त्यसमा सुन पास गराउने कुरा उल्लेख छन् । 

सुन तस्करीमा अध्यागमन कर्मचारीको साँठगाँठ
यो घटनाले भिजिट भिसा र सुन तस्करीमा अध्यागमन कर्मचारीको साँठगाँठ र प्रहरीको कमजोरी देखाउँछ । विमानस्थल प्रवेश गर्ने तथा बाहिर आउँदा कर्मचारीको हकमा समेत ‘वाक थु्र गेट’मार्फत चेकजाँच गर्नुपर्ने प्रावधान भए पनि त्यो नियम लागू नहुँदा यसरी कर्मचारीले तस्करीमा सघाउने गरेका हुन् । विमानस्थल प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकाल भने अध्यागमन कर्मचारीले पाउने पासको दुरुपयोग गरी नासु गुरागाईले त्यसरी तस्करी गरेको र त्यसमा प्रहरीको कुनै गल्ती नभएको बताउँछन् । 

घिमिरे आठपटक यसरी दुबई पुगेर आएको देखिन्छ । प्रारम्भिक छानबिनमा उनी सुन तस्करीकै लागि जाने गरेको देखिएको छ । यसअघि १५ माघमा मात्र उनी दुबईबाट नेपाल आएका थिए । त्यस्तै, १ माघ, १० पुस, ८ मंसिर, २७ कात्तिक र २७ भदौमा उनी दुबईबाट नेपाल फर्किएका थिए । 

त्यस्तै, २०२० मा दुईपटक र २०१८ पनि दुईपटक विदेश गएका आएको देखिन्छ । पटकपटक दुबई जानुले उनी सुन र डलर तस्करीमा संलग्न भएको प्रहरी अधिकारीको आकलन छ । यद्यपि यस विषयमा अनुसन्धान गर्ने अधिकार भन्सारलाई भएकाले विस्तृत बुझ्न नसकिएको विमानस्थल प्रहरीका एक अधिकारी बताउँछन् । प्रहरीले सुनसहित घिमिरेलाई भन्सारमा बुझाइसकेको छ । भन्सारले सूक्ष्म अनुसन्धान नगर्ने भएकाले यसरी अध्यागमन कर्मचारीसँग समेत सेटिङ मिलाएर तस्करी गर्ने गिरोहले उन्मुक्ति पाउने जोखिम बढेको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाही घिमिरेले संयुक्त अरब इमिरेट्सको आवासीय अनुमति लिएको र सोही आधारमा उनलाई भिजिट भिसामा जान दिइएको बताउँछन् । सो विषयमा भन्सारले अनुसन्धान गरिरहेकाले थप जानकारी नभएको उनको भनाइ छ ।

ad
ad