१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौ‌ं
२o८१ जेठ १ मंगलबार o९:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय महिला दिवसका लागि ‘पदयात्रा’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌ं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:o७:oo

यस वर्षको मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसका लागि काठमाडौंदेखि कालापत्थरसम्म नेपाली महिलाको पदयात्रा सुरु भएको छ । ‘साथसाथै’ संस्थाको आयोजनामा जलवायु परिवर्तन र महिला न्यायका विषयमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले गर्न लागिएको पदयात्रा मंगलबारदेखि सुरु भएको हो । 

‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने मूल नाराका साथ विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाले संयुक्त रूपमा पदयात्रा गर्दै सगरमाथाको आधारशिविर मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने जनाइएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिलाहरूलाई जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभाव र यसको समाधानबारे समयमै चाल्नुपर्ने पहलबारे कालापत्थरमा बहस गरिने ‘साथसाथै’ संस्थाकी अध्यक्ष प्रजिता कार्कीले बताएकी छिन् । संस्थाले जलवायु परिवर्तन र यसले पारेको प्रभावको विषयमा गर्नुपर्ने कामसमेत समेटेर ‘कालापत्थर महिला घोषणापत्र’समेत जारी गरिने बताइएको छ । 

जलवायु परिवर्तन  र यसले निम्त्याएका समस्याहरूका कारण भोग्नुपर्ने चुनौती विश्वव्यापी समस्याको रूपमा उभिएको छ । कालापत्थरका स्थानीय महिलासँग सहकार्य र खासगरी हिमाली भेगमा जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल गरिने बताइएको छ । साथै अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु परिवर्तन वा सामाजिक प्रणालीमा भएका अन्य परिवर्तनका प्रतिकूल असरलाई न्यूनीकरण गरी समृद्धि आर्जन गर्न चाहने आवाजविहीन महिलाको आवाज सम्बोधनका लागि पहल गरिनेसमेत बताइएको छ । 

सगरमाथा बेसक्याम्पसम्मको पदयात्रा जलवायु परिवर्तनले ल्याएको चुनौतीबारे बहससँगै महिला स्वयं चुनौतीसँग सामना गर्न सक्छन् भने धारणा स्थापित गर्न सहयोगी बन्ने न्यायाधीश सपना प्रधान मल्ल बताउँछिन् । उनी भन्छिन्, ‘महिला दिवस परम्परागत तरिकाले वर्षको एक दिन मनाएर पुग्दैन, यो पदयात्रा महिलाप्रतिको परम्परागत सोच परिवर्तनको आधार बन्ने अपेक्षा गरेका छौँ ।’ 

जलवायु परिवर्तन र यसले जनजीवनमा पारेको प्रभावबारे विश्वको ध्यानाकर्षण गराउन पदयात्रा  गरिन लागिएको हो । जलवायु परिवर्तनमा महिलाको भूमिकाबारे सचेतनाका लागि अघिल्लो वर्षसमेत विभिन्न क्षेत्रका २० जना महिलाले अन्नपूर्ण पदयात्रा गरेका थिए । साथै पदयात्रा व्यवस्थापनको जिम्मेवारी  ‘एलिट एक्सिपिड’ले लिएको छ । 

ad
ad