१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २६ आइतबार ०९:०७:००
Read Time : > 1 मिनेट
अर्थ

‘नेपाल भ्रमण वर्ष-२०२०, युरोप’ उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २६ आइतबार ०९:०७:००

नेपाल भ्रमण वर्ष–२०२०, युरोपको बर्लिन जर्मनीमा शुभारम्भ गरिएको छ । बर्लिनको लोगेनहाउसमा एक समारोहबीच जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल र नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले संयुक्त रूपमा भ्रमण वर्ष युरोपको उद्घाटन गरेका हुन् । 

उक्त अवसरमा जर्मनीका उच्च अधिकारी, टुर तथा ट्राभल व्यवसायी, कूटनीतिक समुदाय तथा जर्मनीस्थित नेपालीलगायत ३ सयभन्दा बढीको उपस्थिति रहेको बोर्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा श्रीलंकाका पर्यटनमन्त्री जोहन अमरातुङ जमैकाका पर्यटनमन्त्री एडमुन्ड बार्टलेट तथा संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनका पूर्वमहासचिव डा. टेलिब रिफाईको उपस्थिति रहेको थियो । सोही अवसरमा गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा समवेदना व्यक्त गरिएको थियो । 

उक्त कार्यक्रममा हिमालयन ट्रेल नामक पुस्तकका जर्मन लेखक पिटर हिन्ज तथा २५ वर्षसम्म निरन्तर पर्यटन मेला आइटिबीमा पर्यटन बोर्डलाई सहयोग गर्दै आएका जर्मनीस्थित अवैतनिक पर्यटन प्रतिनिधि दिल गुरुङलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत खनालले नेपाल भ्रमण वर्षको उद्देश्यअनुरूप सफलता हासिल गर्न सम्बन्धित सबैको सहयोगको आह्वान गर्दै त्यसका लागि राजदूतावासमा एक उच्चस्तरीय समिति गठन गरी जर्मनीलगायत युरोपका अन्य देशमा समेत नेपाली पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गरिने जानकारी दिए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपालमा स्वागत गर्न आवश्यक पूर्वाधारको विकास द्रुत गतिमा भइरहेको उल्लेख गर्दै अभियानलाई सार्थक बनाउन सबैको साथ–सहयोग चाहिने बताए ।

जमैकाका पर्यटनमन्त्रीले नेपाल जीवनमा कम्तीमा एकपटक भ्रमण गर्नैपर्ने मुलुक रहेको र नेपाल र नेपाली जनतामा रहेको दृढ इच्छाशक्ति र पुनर्उत्थानशीलताको प्रशंसा गरे । गैरआवासीय नेपाली संगठन जर्मनीका तर्फबाट हरि न्यौपानेले भ्रमण वर्षलाई सफल तुल्याउन समन्वयात्मक ढंगले पर्यटन प्रवर्द्धन गरिने बताए ।