१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १२ बिहीबार ०६:२९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भन्सार सहजीकरणका लागि महानिर्देशकसँग नाडाको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १२ बिहीबार ०६:२९:००

नाडा अटोमोबाइल एसोसिएसनको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक कमल भट्टराइलाई भेटेर भन्सारसम्बन्धी नीतिगत सुझाब दिएको छ । अध्यक्ष धुब्र थापाको नेतृत्वमा गएको सात सदस्यीय प्रतिनिधिमण्डलले भन्सार मूल्यांकनमा देखिएका समस्याबारे पनि छलफल गरेको छ ।

छलफलमा अध्यक्ष थापाले भन्सार मूल्यांकन सन्दर्भसूची खारेज गरी भन्सारमा माल वस्तुको यथार्थ घोषणा र सही वर्गीकरण गराई भन्सार मूल्यांकन पद्धतिलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउन पहल गर्नुपर्ने  बताएका थिए । नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा सन्दर्भसूची राख्नु उपयुक्त नभएको उनको भनाइ थियो । 

उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको वर्गीकरणमा केही परिमार्जन गरिनुपर्ने बताए । आयातीत सवारीसाधनको भन्सार जाँचपासमा पनि ढिलाइ भइरहेकाले त्यसको समाधानका लागि उनले अनुरोध गरेका थिए । अर्का उपाध्यक्ष सुनील रिजालले एलसी खोलेर सामान आयात गर्दा परिरहेको समस्याबारे उललेख गरेका थिए । एउटै वस्तुमा भिन्न–भिन्न भन्सार कार्यालयहरूमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, बे्रक लाइनिङजस्ता अत्यावश्यकीय वस्तुमा पनि शतप्रतिशत नगद मार्जिन राखी एलसी खोल्नुपर्नेजस्ता नियमले व्यवसायीलाई समस्या परेको उनको भनाइ थियो । न्यून बिजकीकरण र अनधिकृत आयातबाट हुने समस्याहरूको निराकरणका लागि पनि रिजालले अनुरोध गरेका थिए । 

छलफलमा महासचिव सुरेन्द्र उप्रेतीले ०७३ असार २६ मा भन्सार विभाग र नाडाबीच भएको सहमतिबारे जानकारी दिँदै विभागले अनलाइन पेमेन्टलाई मान्यता दिएसँगै नेपाल राष्ट्र बैंकको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गरेका थिए । उनले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरू बढ्दै गएको क्रममा सबै किसिमका सवारीसाधनमा प्रयोग हुने ब्याट्रीहरूको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सबै प्रकारका कच्चा पदार्थहरूमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्थाका लागि अनुरोध गरेका थिए ।  

महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नुपरेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने बताए । उनले नाडाबाट प्राप्त सुझाबहरूका विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।