१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १२ बिहीबार ०८:०४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

एचआइभी/एड्स तथा यौनरोग नियन्त्रण बोर्ड १४ वर्षदेखि बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १२ बिहीबार ०८:०४:००

एउटा प्राडो गाडी र दुईवटा मोटरसाइकल बेपत्ता, बहुमूल्य उपकरण बेवारिसे अवस्थामा

एचआइभी एड्स तथा यौनरोग नियन्त्रण, रोकथाम, उपचार, सहयोग, पुनर्स्थापना, हेरचाहलगायत क्षेत्रमा काम तथा सहजीकरण गर्ने उद्देश्यले स्थापना भएको एचआइभी/एड्स तथा यौनरोग नियन्त्रण बोर्ड हाल बन्द छ । एचआइभी/एड्स तथा यौनरोग नियन्त्रण विकास समिति (गठन) आदेश, २०६४ बमोजिम स्थापना भएको बोर्ड विगत १४ वर्षदेखि बन्द अवस्थामा छ ।

दातृ निकायको सहयोग लिने र एचआइभीको क्षेत्रमा त्यसलाई बोर्डमार्फत व्यवस्थापन गर्ने काम हुँदै आएको थियो । बोर्डबारे स्वास्थ्य मन्त्रालय र विभाग जानकार छैन । टेकुको एउटा बन्द कोठामा बोर्डका बहुमूल्य सामान थुपारिएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार एक करोडभन्दा बढी मूल्यको प्राडो गाडी र दुईवटा मोटरसाइकल बेपत्ता बनाइएको छ । 

सन् २००७ मा स्थापना भएको एचआइभी बोर्ड राजनीतिक स्वार्थका कारण २०१३ बाट पूर्ण रूपमा बन्द भएको थियो । बोर्ड बन्द भएपछि त्यहाँ लगाएको चाबी अहिलेसम्म कसैले खोलेको छैन । बोर्डले तत्कालीन समयमा खरिद गरेका महँगा ल्यापटप, डेस्कटप, आरामदायी सोफाहरू, अत्याधुनिक फोटोकपी मेसिनलगायत महँगा उपकरणहरू कतिपय चोरी भएको छ भने कतिपय त्यसै थुपारिएका छन् । 

‘विभिन्न एनजिओ, आइएनजिओको स्वार्थ र सरकारी अधिकारीहरूको मिलेमतोमा एचआइभी एड्स तथा यौनरोग नियन्त्रण बोर्ड नै गायब पारेको देखिन्छ,’ स्वास्थ्य सेवा विभागका एक अधिकारीले नयाँ पत्रिकासँग भने । एचआइभी बोर्डको अवस्था, सम्पत्ति, तत्कालीन समयका गतिविधिलगायत बोर्डसम्बन्धी सम्पूर्ण कुरा खोजीको विषय बनेको छ । तर, यसमा स्वास्थ्य सेवा विभागका महानिर्देशक मौन बनेका छन् । उनले यसबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । 

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार ग्लोबल फन्ड, डिएफआइडीजस्ता दातृनिकायको सहयोग एनजिओ, आइएनजिओको पोल्टामा पु¥याउन यो बोर्ड निष्क्रिय पारिएको हो । तत्कालीन समयमा विश्व बैंक र डिएफआइडीले एचआइभी एड्स तथा यौनरोग नियन्त्रण बोर्ड सञ्चालनका लागि पैसा दिएका थिए । जुन उद्देश्यले एचआइभी बोर्ड गठन गरियो, त्योअनुरूप बोर्डबाट प्रभावकारी काम भएन । कार्यक्रमको हिसाब नेपालले स्पष्ट देखाउन सकेन । 

तत्कालीन समयमा उमाकान्त चौधरी स्वास्थ्यमन्त्री भएपछि डा. श्यामसुन्दर मिश्रलाई उपाध्यक्ष नियुक्त गरिएको थियो । त्यसवेला उनले बोर्डमा राजनीतिक हस्तक्षेप गरेका थिए । उनकै पालामा बजेट रोकियो । स्वास्थ्य मन्त्रालयले केही समयका लागि १० लाख रुपैयाँ दिएको थियो । तर, त्यसलगत्तै एचआइभी बोर्ड बन्द भएको छ ।