
दाङमा परपुरुषसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार राप्ती गाउँपालिका वडा नं. ३ वसन्तपुरनिवासी करिब ५० वर्षीया उमादेवी चौधरीले आफ्ना श्रीमान ५४ वर्षीय लप्टेन चौधरीको हत्या गरेकी हुन्। उनले मसुरियानिवासी ५२ वर्षीय हनुमान चौधरीको सहयोगमा आफ्ना श्रीमानको हत्या गरेको प्रहरीले बताएको छ।
उनकी श्रीमती उमादेवीले श्रीमान् गोबरडिहा काममा जान्छु भनी फागुन १ गते बिहान साढे ६ बजे हिँडेको र अझैसम्म पनि नआएको भनेर खोजीका लागि प्रहरीसमक्ष निवेदनसमेत दिएकी थिइन्। फागुन ५ गते उनले निवेदन दिएपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो। सोही क्रममा चौधरीको शव गढवा गाउँपालिका वडा नं. २ स्थित राप्ती नदीको किनारमा फेला परेको थियो। उनको शव भेटिएपछि हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान थालेको थियो। शंकास्पद देखिएपछि श्रीमतीलाई नै पक्राउ गरेपछि घटनाको रहस्य खुलेको हो। उमादेवीले हनुमानको सहयोगमा श्रीमानको हत्या गरेको स्वीकार गरिसकेकी छिन्।
श्रीमान् र श्रीमतीको सम्बन्ध लामो समयदेखि बिग्रिएको स्थानीयले बताएका छन्। उमादेवीले श्रीमानले आफूलाई कुटपिट गर्ने गरेको बयान दिएकी छिन्। साथै श्रीमानले आफूलाई हनुमानसँग प्रेम सम्बन्ध रहेको भन्दै समाजमा बेइज्जत गरेकोसमेत बयान दिएकी छिन्।
माघ २९ गते आफूलाई हातपात गरेको र श्रीमानले ज्यान मार्ने धम्की दिएको भनी उमादेवीले हनुमानलाई फोन गरेकी थिइन्। हनुमानलाई फोन गरेर श्रीमान् नसामा लठ्ठ भएपछि उमादेवी १२ वर्षीया छोरीलाई लिएर अर्को कोठामा सुत्न गएकी थिइन्। सोही दिन राति १० बजेतिर हनुमान चौधरी घरको दक्षिणपट्टीको खुला रहेको ढोकाबाट घरभित्र पसी लप्टेनलाई छातीमा मुड्कीले हानी मृतक छटपटाउन लागेपछि भुइँमा लडाई घाँटी च्यापी हत्या गरेको भनी बयान दिएको प्रहरीले बताएको छ। हत्यापछि उनीहरूले आफैँले पिठ्युँमा बोकी नदीमा लगेर फालेका थिए। उनीहरूले एक जोर जुत्तासमेत साथमा लगेर फालेकोसमेत बयान दिएका छन्।